२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसके पनि सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव अझै बुझिएको छैन। स्थानीयको विरोध र नयाँ मागसँगै परिवारले शव बुझ्न अस्वीकार गरेपछि अन्त्येष्टि प्रक्रिया अन्योलमा परेको छ।
गएराति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तापछि आज शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको थियो। तर स्थानीयस्तरमा असन्तुष्टि चर्किएपछि शव लिन विराटनगर पुगेका परिवारका सदस्यहरू शव नबुझी गाउँ फर्किएका छन्। दुवै शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार शव बुझ्न रोक लगाइरहेका पक्षसँग छलफल भइरहेको छ। उनले प्रहरी र प्रशासनले समन्वयमार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए।
गत आइतबार राति देवानगञ्जको कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij