२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन्।
शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्। भेटका क्रममा महतोले सुनसरी र सिराहा लगायतका जिल्लामा भएका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको भन्दै त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। महतोले सरकार र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरू विगतमा जस्तै ‘रद्दीको टोकरी’ मा नफाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । वि।सं। २०६४ सालको ८ बुँदे सम्झौता लगायतका विगतका सहमतिहरू कार्यान्वयन नभएको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई विश्वासघात नगर्न चेतावनी समेत दिएका छन् ।
उनले भने, ‘मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देश र समाजको हितमा छैन । सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले थप तदारुकताका साथ पहल गर्नुपर्छ । मधेसकै जनमतका कारण वर्तमान सरकार दुई तिहाइको अवस्थामा पुगेको हो, त्यसैले जनताको भावना र संघीयतालाई अधिकारसम्पन्न बनाउने कुरामा सरकार गम्भीर हुनुपर्छ ।’
प्रधानमन्त्रीले जनकपुरमा ‘बलियो संघीयता’ निर्माण गर्ने भनी दिनुभएको सार्वजनिक अभिव्यक्तिलाई व्यवहारमा उतार्न महतोले आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्रीले संघीयताप्रति सरकार पूर्णतः प्रतिवद्ध रहेको र यसलाई कमजोर पार्ने कुनैपनि सोच नभएको स्पष्ट पार्नुभएको महतोले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij