२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनैपनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा जोड दिएका हुन्।
सभापति थापाले नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्दै समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको बताएका छन् । पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिवार बिदाको दिन पनि केन्द्रिय कार्यालय खुला रहने उनले जानकारी दिएका छन् । पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै थापाले संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको बताएका छन् ।
सभापति थापाले भने, ‘कुनैपनि विषयवस्तु सार्वजनिक हुनेबित्तिकै हतारमा टिप्पणी गर्ने, बोल्ने वा लेख्ने प्रवृत्तिलाई त्यागौँ । राजनीतिक नेतृत्वले विवेकपूर्ण ढङ्गले सोच्नुपर्छ । सूचनाको गहिराइ र आधिकारिकता नबुझी प्रतिक्रिया दिँदा समाजमा अनावश्यक भ्रम फैलिन सक्छ र त्यसले अपुष्प क्षति निम्त्याउन सक्छ । आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो । हामी जिम्मेवार शक्ति भएकाले संयमित भएर सही सूचनाका साथ अघि बढ्नुपर्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij