२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सरकारले कानुन निर्माण प्रक्रियालाई तीव्रता दिँदै संघीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयकहरू दर्ता भएका हुन्।
दर्ता भएका विधेयकमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा पेश गरिएको संसद् सचिवालयले जनाएको छ। सरकारले चालु आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा दर्ता गर्ने लक्ष्य राखेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयकहरू बिहीबार सचिवालयमा पुगेका थिए। आवश्यक प्रक्रिया पूरा भएपछि केही बिहीबार र बाँकी शुक्रबार औपचारिक रूपमा दर्ता गरिएको हो।
प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन), मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन, खानी तथा खनिज पदार्थ, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक तथा सुविधा (पहिलो संशोधन), मेलमिलाप सम्बन्धी दोस्रो संशोधन, बालश्रम निषेध तथा नियमन, र कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) सम्बन्धी विधेयक दर्ता भएका छन्।
त्यस्तै राष्ट्रियसभामा सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक दर्ता गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीका अनुसार संसद्लाई पर्याप्त विधायिकीय ‘बिजनेस’ उपलब्ध गराउने रणनीतिअनुसार यी विधेयक एकैपटक दर्ता गरिएको हो। अब यी विधेयक संसद्को आगामी बैठकमा पेश भई छलफल र संसदीय प्रक्रियामा अघि बढाइनेछ।
मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयसँग समन्वय गरेर थप विधेयकहरूको मस्यौदा तयारी पनि भइरहेको छ। ती विधेयकहरू पनि क्रमशः संसद्मा दर्ता गरिने सरकारको तयारी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij