२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा टायर बालेर विरोध जनाएका छन् भने बजार, पसल र यातायात सेवा प्रभावित बनेका छन्।
गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो। घटनापछि उत्पन्न तनावलाई समाधान गर्न सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सहमति भएको छ। सहमतिअनुसार आज दिउँसो मृतकहरूको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
यद्यपि सहमतिपछि पनि विराटनगरमा विरोध प्रदर्शन रोकिएको छैन। प्रदर्शनका कारण मुख्य बजार क्षेत्रका पसलहरू बन्द भएका छन् भने सार्वजनिक यातायात सेवा पनि अवरुद्ध बनेको छ।
यसअघि बिहीबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकले आज दिउँसो ३ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। तर केही स्थानीय तथा सरोकारवालाले तत्काल सद्भाव र्याली आयोजना गर्नु उपयुक्त नहुने भन्दै असन्तुष्टि जनाएका थिए।
प्रदर्शन भइरहेका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्भावित अप्रिय घटना रोक्न प्रहरी परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई संयम अपनाउन र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij