२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) र उनको टोलीबारे नयाँ प्राविधिक विवरण सार्वजनिक भएको छ।
सांसद तथा पुर्जाका व्यावसायिक साझेदार मिङ्मा डेभिडका अनुसार गार्मिन स्याटेलाइट ट्र्याकिङ उपकरणबाट प्राप्त पछिल्लो जीपीएस संकेतले निर्मल पुर्जा समुद्री सतहबाट ५,८७८.६७ मिटर उचाइमा एकै स्थानमा स्थिर रहेको देखाएको छ।
नेपाली समयअनुसार बिहान ६ः१८ बजे अद्यावधिक भएको स्याटेलाइट सिग्नलमा पुर्जाको लोकेसन स्पष्ट देखिए पनि हिँडडुलको गति शून्य रहेको उल्लेख छ। यसले उनीहरू विश्राममा रहेको, प्रतिकूल मौसमका कारण रोकिएको वा कठिन परिस्थितिमा एकै स्थानमा अड्किएको हुन सक्ने संकेत गरेको छ।
यद्यपि, ट्र्याकिङ उपकरणको ब्याट्री निकै कम (लो) अवस्थामा पुगेको जानकारी पनि प्राप्त भएको छ। ब्याट्री सकिएमा आगामी समयमा जीपीएस लोकेसन प्राप्त गर्न कठिन हुने भएकाले उद्धार अभियानका लागि चुनौती थपिएको छ।
प्राप्त जीपीएस निर्देशाङ्कले देखाएको स्थान ब्रोड पिक–केटू क्षेत्रको आधार शिविरभन्दा माथिल्लो भागमा पर्ने बताइएको छ।
विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा तीव्र गतिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका निर्मल पुर्जा नेतृत्वको टोली बिहीबार ब्रोड पिकमा आएको भीषण हिमपहिरोपछि सम्पर्कविहीन भएको थियो।
यसैबीच, पाकिस्तान सेना, स्थानीय उद्धार टोली तथा विभिन्न अन्तर्राष्ट्रिय आरोहीहरूको सहयोगमा खोज तथा उद्धार अभियान निरन्तर जारी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij