२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको प्रभाव सिरहामा थप फैलिन थालेपछि लहान बजार क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले जारी गरेको आदेशअनुसार कर्फ्यु अवधिभर कुनै पनि व्यक्तिलाई तोकिएको क्षेत्रमा आवतजावत गर्न अनुमति हुने छैन।
प्रशासनका अनुसार कर्फ्यु लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा बलान खोलादेखि पश्चिममा सरस्वती खोला ९बाटिका होटल पश्चिम०सम्म तथा राजमार्गको दक्षिणतर्फ ५०० मिटर क्षेत्रभित्र लागू गरिएको छ।
कर्फ्यु अवधिमा भेला, प्रदर्शन, सभा, बैठक, घेराउ, नाराबाजी तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।
सुरक्षा अवस्था थप बिग्रिन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन बढाइएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij