२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित एक मन्दिरमा अन्धविश्वासको नाममा महिलामाथि गरिएको अमानवीय व्यवहारको विषय प्रतिनिधिसभामा उठेको छ। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले घटनालाई ‘जघन्य हिंसा’ को संज्ञा दिँदै दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खड्काले वीरेन्द्रनगर नगरपालिका–३ मा रहेको ‘पाथीभरा माता’ मन्दिरमा भएको घटनाले समाजलाई नै स्तब्ध बनाएको बताए। उनका अनुसार समीर थापा नामका व्यक्तिले विगत पाँच–छ वर्षदेखि आफूमा ‘पाथीभरा माता’ उत्पन्न हुने दाबी गर्दै मन्दिर सञ्चालन तथा झारफुक गर्ने गतिविधि गर्दै आएका थिए।
खड्काका अनुसार गत शनिबार एक स्थानीय महिला आफूलाई बोक्सी लागेको विश्वास गर्दै झारफुक गराउन उक्त मन्दिर पुगेकी थिइन्। त्यही क्रममा ती महिलामाथि कुटपिट गर्ने, लात्ती प्रहार गर्ने र आफ्नै खुट्टा चटाउन बाध्य बनाउने जस्ता अमानवीय व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
सांसद खड्काले यस्तो घटनाले महिलाको मानवअधिकारमाथि गम्भीर आघात पुगेको भन्दै अन्धविश्वासको आडमा हुने हिंसा कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे। उनले यस्ता गतिविधि नियन्त्रण गर्न राज्यले कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
घटनामा संलग्न समीर थापा हाल प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै उनले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिलाउन सरकारसँग माग गरे। साथै, पीडित महिलालाई न्याय सुनिश्चित गर्न र समाजमा फैलिएका अन्धविश्वास तथा कुरीतिविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij