२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसदलाई आधिकारिक जानकारी गराउनुपर्ने माग गरेको हो सांसद शर्माले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताएका छन् ।
सम्बोधनका क्रममा सांसद शर्माले गृहमन्त्रीको कार्यशैली र अभिव्यक्तिको पनि चर्को आलोचना गरेका छन् । गृहमन्त्रीले सार्वजनिक रूपमा ‘कसैलाई यो मन्त्रालय चाहिएको छ भने लैजाऊ’ भनी धम्कीपूर्ण र अराजक अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका छन् । राज्य अभिभावकको भूमिकामा रहनुपर्नेमा जोड दिँदै शर्माले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् ।
उनले भने, ‘प्रधानमन्त्री कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने जानकारी न संसदलाई छ, न त सर्वसाधारणलाई । यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले संसदमा आएर जानकारी दिनुपथ्र्यो । कप्तानगञ्ज घटनाको जिम्मेवारी स्थानीय तहलाई दिने हो कि नेपाल प्रहरीले गरेको कामको जिम्मा गृहमन्त्रीले लिने हो ? यसको स्पष्ट जवाफ सदनलाई चाहिन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij