२०८३ श्रावण १५ गते शुक्रवार
१. १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको बताउनुभएको छ । बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै उहाँले मतदाता नामावली, मतदानको उमेर, र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझावहरू दिनुभएको हो । प्रमुख सचेतक बुर्लाकोटीले युवाहरूको राजनीतिक संलग्नता बढाउन मतदानको उमेर १६ वर्ष कायम गरिनुपर्ने बताउनु भयो । मतदाता नामावली सङ्कलनको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्नासाथ व्यक्तिको नाम स्वतः मतदाता नामावलीमा समावेश हुने प्रणाली विकास गर्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो ।
२. उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दरमा सुधार गर्न तथा आयात महशुल घटाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
मंगलवार अर्थ मन्त्रालयमा उद्योगीहरुसँगको छलफलमा उहाँले निजी क्षेत्रलाई चलायमान बनाउन कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा आवश्यक सुधार गर्न सरकार तयार रहेको बताउनुभएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री वाग्लेले उद्योगी व्यवसायीले पूर्वाधार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न आफू सकारात्मक रहेको बताएको जानकारी दिनुभयो । उहाँकाअनुसार उद्योगीहरूले आयात महशुल, कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करको कारण निजी क्षेत्र समस्यामा रहेको गुनासो राख्नुभएको थियो ।
३. एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने
एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले पनि २० औं एशियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । नेपाली टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ । नेपाली टोली बिहीवार प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने छ । असोज २ गते टोली भारतबाटै एशियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ । एशियाली खेलकुद असोज ३ गतेदेखि शुरु हुनेछ । महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् । खिममायाको भने २० औं एसियाड ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
४. काँग्रेस सभापति थापाको प्रश्नः प्रधानमन्त्री ठालु भएर भाउ खाएर बस्ने हो ?
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भुमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सिमित हुन नहुने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहलाई भाउ खाने र ठालु भएर बस्न नहुने सुझाव दिनुभयो । सभापति थापाले प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो । सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै थापाले नेतृत्वको मुख्य शक्ति नै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो ।
५. काँग्रेसले भन्यो–सरकार स्ट्याटसमा मात्रै सिमित भयो
सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । बुधवार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाउनुभएको हो । नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउनु भयो । नेता आङदेम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच हुनुपर्ने आवश्यक संवाद र समन्वयको अभावले पनि राज्य सञ्चालनमा गम्भीर त्रुटी देखिएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको दाबी गर्नुभयो ।
६. चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन् । चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसाको अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । मङ्गलवारदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ । स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुव्र्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका हुन् । यसैबिच, आन्दोलित चिकित्सकहरूले काठमाडौंको माईतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन् ।
७. ज्यापु संस्कृति विकास कोषद्वारा ज्यापु दिवस तथा गुरु पूजा सम्पन्न
ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौंमा ‘ज्यापु दिवस तथा गुरु पूजा’ कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरुहरूको सम्मान एवं पूजा गरिएको थियो । ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ । कार्यक्रममा विभिन्न गुठीका प्रतिनिधि, सांस्कृतिक क्षेत्रका अगुवा तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
८. देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै
आज गुरु पूर्णिमा । आफूलाई शिक्षा र मार्गनिर्देश गर्ने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइँदैछ । अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ डो¥याउने व्यक्तित्वलाई ‘गुरु’ मानिने धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आजको दिनको विशेष महत्व रहेको छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसैले गुरुलाई अज्ञानता रूपी अन्धकार हटाएर ज्ञानको ज्योति छर्ने पथप्रदर्शकका रूपमा पुजिन्छ । आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरुलाई भेटेर सम्मान प्रकट गर्ने, मिठाइ तथा उपहार अर्पण गर्ने र गुरुको आशीर्वाद लिने प्रचलन छ । यसै दिनलाई महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा ‘व्यास जयन्ती’ का रूपमा पनि मनाउने गरिन्छ ।
९.निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगले आफूलाई ‘रेफ्री’ का रूपमा निष्पक्ष राख्नुपर्नेमा जोड दिनुभएको छ । बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले आयोग कतिपय अवस्थामा आफैँ ‘खेलाडी’ बन्न खोजेको भन्दै आलोचना गर्नुभयो । सांसद पुनले सूचना प्रविधिको तिब्र विकास र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगले निर्वाचन प्रणालीमा नयाँ चुनौती थपेको बताउनु भयो । आगामी पाँच वर्षमा निर्वाचनको स्वरूप पूर्णतः परिवर्तन हुने उल्लेख गर्नुभयो । सांसद पुनले निर्वाचनमा प्रविधिको प्रयोग बढाउन र विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।
१०. निर्वाचन आयोगको सुधारका लागि ठोस कार्ययोजना र कार्यान्वयन आवश्यक छः पद्मा अर्याल
नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सांसद पद्मा अर्यालले निर्वाचन आयोगले बनाउने योजनाहरू केवल कागजमा सिमित नभई परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा बोल्दै अर्यालले योजनाहरूको प्रभावकारी कार्यान्वयनबाट मात्र निर्वाचन प्रणालीमा सुधार सम्भव भएको उल्लेख गर्नुभयो । प्रश्तावित प्रमुख आयुक्तले प्रश्तुत गरेको कार्ययोजनालाई महत्वकांक्षी र सकारात्मक ठह¥याउँदै अर्यालले प्राथमिकताका आधारमा काम अगाडि बढाउन सुझाव दिनुभयो । छलफलका क्रममा सांसद अर्यालले राजनीतिक दलहरूलाई सार्वजनिक कोषबाट निर्वाचन खर्च उपलब्ध गराउने विषय तत्कालको प्राथमिकतामा पर्न नहुने बताउनु भयो ।
११. निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगका निर्णयहरू सर्वसम्मत, पारदर्शी र कानूनसम्मत हुनुपर्ने बताउनुभएको छ । बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा बोल्दै सांसद ढुंगानाले आयोगको भुमिका र विगतका कमजोरीहरूबारे ध्यानाकर्षण गराउनुभएको हो । सुनुवाईका क्रममा सांसद ढुंगानाले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा भएको धाँधली र त्यसपश्चात गठित संसदीय छानबिन समितिको स्मरण गराउनु भयो । निर्वाचनमा धाँधली हुँदा जनताले परिणाम अस्वीकार गर्ने र त्यसले देशमा अस्थिरता निम्त्याउने खतरा रहने उल्लेख गर्दै उहाँले प्रमुख आयुक्तको जिम्मेवारी अत्यन्तै संवेदनशील हुने बताउनु भयो ।
१२. निर्वाचन प्रणाली र आयोगको क्षमतामाथि सांसद डा. लेखजंग थापाको प्रश्नः ‘मतदान प्रतिशत बढाउने ठोस आधार के छ ?’
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. लेखजंग थापाले निर्वाचनमा आम नागरिकको समावेशिता र मतदान प्रतिशत बढाउने विषयमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्तसँग ठोस कार्ययोजना माग गर्नुभएको छ । बुधवार संसदीय सुनुवाई समितिमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाईका क्रममा सांसद थापाले विगतका निर्वाचनमा देखिएका कमजोरी र आगामी चुनौतीबारे प्रश्न उठाउनुभएको हो । सांसद थापाले सुदूरपश्चिम जस्ता क्षेत्रमा मतदानको प्रतिशत ५० को हाराहारीमा मात्रै रहनुले निर्वाचनले साच्चै ‘मुलुकको आवाज’ प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न उब्जिएको बताउनु भयो ।
१३. निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने निष्क्रिय राजनीतिक दलहरूलाई खारेज गर्ने वा मर्जरमा लैजाने प्रश्ताव अघि सार्नुभएको छ । बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले राजनीतिक दल दर्ता र सञ्चालनका विद्यमान कानूनी व्यवस्थामा परिमार्जनको आवश्यकता रहेको बताउनुभएको हो । प्रश्तावित प्रमुख आयुक्त कार्कीले लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियामा सहभागी नहुने दलहरूलाई सधैँ अस्तित्वमा राखिरहनुको औचित्य नहुने उल्लेख गर्नुभयो । दल दर्ता गर्ने तर निर्वाचनमा सहभागी नहुने प्रवृत्तिलाई निरुत्साहित गर्न कानूनी सरलीकरण र स्पष्ट मापदण्ड निर्माणमा उहाँले जोड दिनुभयो ।
१४. प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गर्दै रविले भने–उहाँहरुले आ–आफ्नो तर्फबाट कार्यसम्पादन गर्दै हुनुहुन्छ
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सभापति लामिछानेले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै उहाँले यसमा सुरक्षा निकाय जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै उहाँले कुनैपनि अफवाह वा ‘कन्स्पिरेसी’ को पछि नलाग्न आग्रह गर्नुभयो ।
१५. प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । बुधवार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो । प्रश्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाई मंगलवार भएको थियो भने प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाई बुधवार सम्पन्न भएको हो । समितिका सभापति वोधनारायण श्रेष्ठले सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो ।
१६. प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड
प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने संकल्पसहित आफ्नो कार्ययोजना प्रश्तुत गर्नुभएको छ ।
बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना पेश गर्दै कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन आयोगको स्वायत्तता र मतदाताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भयो । कार्कीले आफ्नो कार्ययोजनामा विशेष गरी विदेशमा रहेका नेपाली नागरिक र आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको छ ।
१७. प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पु¥याएको आरोप
प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध परेको उजुरीका सम्बन्धमा बुधवार संसदीय सुनुवाइ समितिले उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरेको छ । समितिको बैठकमा आफ्नो धारणा राख्दै लुइँटेलले प्रश्तावित आयुक्त कार्कीको विगतको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उहाँले राज्यलाई ५० करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्शानी पु¥याएको दाबी गर्नुभयो । उजुरीकर्ता लुइँटेलकाअनुसार सन् २०२२ को फिफा विश्वकप प्रशारणको अनुमति दिने क्रममा प्रचलित कानूनी प्रक्रिया र वित्तीय अनुशासनको उल्लंघन गरिएको छ । ‘मिडिया हब’ नामक कम्पनीले नेपाल टेलिभिजनलाई करिव ७ करोड ३५ लाख रुपैयाँ वक्यौता बुझाउन बाँकी रहँदा पनि सोही सञ्चालकको अर्को कम्पनी ‘एस्ट्रो मिडिया’ लाई प्रशारण अनुमति दिएर राज्यकोषमा आघात पु¥याइएको लुइँटेलको जिकिर छ ।
१८. प्रश्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाईः आयोगको संरचना र सूचना प्रविधिको चुनौतीमा दंगालको चासो
नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले आयोगलाई संघीय ढाँचामा प्रभावकारी बनाउन र आधुनिक प्रविधिको दुरुपयोग रोक्न जरुरी रहेको बताउनु भयो । बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा उहाँले यस्तो बताउनुभएको हो । नेता दंगालले प्रश्तावित प्रमुख आयुक्तविरुद्ध परेका उजुरीका सम्बन्धमा अदालतबाट निर्णय भइसकेकाले त्यसमा थप बहस गरिरहनु आवश्यक नरहेको उल्लेख गर्नुभयो । उहाँले कार्कीद्वारा प्रश्तुत कार्ययोजना र अवधारणाको प्रशंसा गर्दै त्यसमा सूचना प्रविधि, प्रशासनिक र कानूनी सुधारका पक्षहरू सन्तुलित रूपमा समेटिएको बताउनु भयो ।
१९. माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु
काठमाडौं महानगरपालिकाले माईतीघर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य शुरु गरेको छ । बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा जल प्रवाहमा अवरोध पु¥याइरहेका संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरेको हो । यसअघि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित अध्ययन समितिले उक्त क्षेत्रको डुबान नियन्त्रणका लागि पानीको बहाव क्षेत्रमा रहेका साँघुरा ढल र अन्य अवरोध हटाउन सुझाव दिएको थियो ।
२०. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी
विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा बुधवार पनि सामुहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलवारदेखि शुरु भएको उक्त अनशन बुधवार दोस्रो दिन पनि जारी रहेको छ । आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने, तथा गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण प्रदान गर्नुपर्ने उल्लेख छ ।
२१. यो राजनीतिक तिक्तता बढाउने समय होइनः संयोजक दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । बुधवार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उहाँले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा राजनीतिक दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गर्नुभयो । वर्तमान समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीवोध आवश्यक रहेको उहाँको भनाइ छ ।
२२. राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा सुशासन कायम गर्न राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रणालीमा आमूल सुधारको आवश्यकता रहेको बताउनुभएको छ । बुधवार संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै सांसद केसीले राजनीतिक दलहरू सुशासनको पहिलो पाठशाला भएको उल्लेख गर्नुभयो । सांसद केसीले वर्तमान निर्वाचन पद्धति र प्रक्रियामा सुधार नगरी अब मुलुक अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरूमा विकास हुने संस्कृति र संस्कारले नै राष्ट्र सञ्चालनको पद्धति निर्धारण गर्ने हुँदा ‘पोलिटिकल पार्टी रिफर्म’ (राजनीतिक दल सुधार) को एजेण्डालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।
२३. सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ ?
नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले निर्वाचन आयोगलाई सत्ताधारी दलको प्रभावबाट मुक्त भई पूर्ण रूपमा निष्पक्ष र स्वायत्त निकायका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा बोल्दै सांसद विष्टले आयोगको कार्यशैली, निर्वाचन सुधार र खर्च कटौतीका विषयमा विभिन्न सुझावहरू प्रश्तुत गर्नुभयो । सांसद विष्टले निर्वाचन आयोग विगतदेखि नै सत्ताधारी दलको छायामा पर्दै आएको टिप्पणी गर्दै प्रश्तावित आयुक्तलाई सो प्रवृत्ति चिर्नसक्ने योजनाबारे प्रश्न गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकै भएपनि चाहे त्यो प्रधानमन्त्री नै किन नहोस्, तत्काल ‘अन द स्पट’ कारबाही गर्नसक्ने शाहस आयोगले देखाउनुपर्ने बताउनु भयो ।
२४. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने
सत्तँरुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा विद्यमान असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत रहेको बताउनुभएको छ । बुधवार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । बैठकमा भएका छलफलका बारेमा जानकारी दिँदै लामिछानेले वर्तमान घटनाक्रमका विषयमा राजनीतिक दलहरूको दृष्टिकोण र मार्गनिर्देशन तय गर्न शिर्ष नेताहरूबीच संवाद भएको बताउनु भयो । सरकारको उपस्थिति र जिम्मेवारीका सम्बन्धमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यो बैठक विशेषगरी राजनीतिक दलहरूले आफ्नो धारणा बनाउन र सरकारको ध्यानाकर्षण गराउन आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
२५. सुनसरी घटनाः सामाजिक सद्भाव कायम गर्न सर्वदलीय बैठकको अपील, सुरक्षा कमजोरीप्रति राप्रपाको प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । सुनसरीलगायत विभिन्न जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा बुधवार सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि बोल्दै लिङदेनले यस्तो बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आह्वान गरिएको उक्त बैठकले मुलुकमा सामाजिक सद्भाव कायम राख्न सामुहिक अपील गर्ने निर्णय गरेको बताउनु भयो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले बैठकको प्रकृति र सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
२६. सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रसरतामा सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गर्न बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने रास्वपा र सभापति रवि लामिछानेको पहलकदमीप्रति आभार प्रकट गर्नुभयो । उहाँले नेपाली समाजको मेरुदण्डका रूपमा रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकहरूको साझा प्रयत्नबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले धैर्यता र संयमता अपनाउनुपर्ने बताउनु भयो ।
२७. सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु
सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधवार बिहान साढे ८ बजेदेखि बैठक शुरु भएको हो । सुनसरीमा हिंसात्मक गतिविधि बढेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त बैठक बोलाइएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूका साथै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।
२८. सुरक्षा निकायको क्षमता अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्न एमाले महासचिव पोखरेलको जोड
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सुनसरीमा दुई धार्मिक समूहबिच विवाद भएसँगै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । महासचिव पोखरेलले पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी आयोजना गरिएको सर्वदलीय बैठकलाई सकारात्मक रूपमा लिँदै यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिनुभयो ।
२९. ‘रक्षा’ को बहानामा जापान सैन्यीकरणतर्फ उन्मुख भएको जापानी विद्वानको आरोप
जापानका एक प्रतिष्ठित संवैधानिक कानूनविद्ले ‘रक्षा’ को बहानामा सरकारले गरिरहेको सैन्य विस्तार र शान्तिवादी संविधानको सीमा नाघ्ने प्रयासको कडा आलोचना गर्नुभएको छ । टोकियोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ‘जापान इन्स्टिच्युट अफ कन्स्टिच्युसनल ल’ का निर्देशक माकोतो इतोले जापानले विगतमा चीन र दक्षिणपूर्वी एशियाली देशहरूमा गरेको सैन्य आक्रमण र अन्धाधुन्ध बमबारीको स्मरण गराउनु भयो । उहाँले नान्जिङ नरसंहारमा लाखौँ चिनियाँ नागरिकको ज्यान गएको, जबरजस्ती श्रममा लगाइएको र ‘कम्फर्ट वुमन’ (यौन दासत्व) प्रणाली लागू गरिएको ऐतिहासिक तथ्यहरू उल्लेख गर्दै वर्तमान सैन्य नीतिको विरोध गर्नुभयो ।
३०. अफगानिस्तानमा करिव २ हजार ऐतिहासिक पुरातात्विक सामग्रीको संरक्षण र पुनस्र्थापना
अफगानिस्तान सरकारले देशको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत एक वर्षमा करिव २ हजार ऐतिहासिक पुरातात्विक सामग्री तथा स्मारकहरूको पुनस्र्थापना र संरक्षण गरेको छ । सरकारी प्रवक्ता जबीहुल्लाह मुजाहिदले मंगलबार आयोजित एक अनलाइन पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । प्रवक्ता मुजाहिदकाअनुसार अफगानिस्तानको राष्ट्रिय संग्रहालयमा १ हजार १ सय ८० वटा ऐतिहासिक अवशेषहरूलाई सावधानीपूर्वक पुनस्र्थापना गरिएको छ ।
३१. खानी क्षेत्रको वृद्धिका कारण मलेसियाको उत्पादक मूल्य सूचकांकमा सुधार
खानी क्षेत्रको मूल्यमा भएको उल्लेख्य वृद्धिका कारण सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको उत्पादक मूल्य सूचकांक ७.४ प्रतिशतले बढेको छ । मंगलवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार, यसअघिको त्रैमासिकमा देखिएको १.७ प्रतिशतको गिरावटलाई उल्ट्याउँदै सूचकांकमा सकारात्मक सुधार आएको हो । मलेसियाली तथ्याङ्क विभागले जारी गरेको विज्ञप्तिअनुसार खानी क्षेत्रको उत्पादक मूल्यमा ४४.८ प्रतिशतको उच्च वृद्धि भएपछि समग्र सूचकांकमा सुधार आएको हो । यसैगरी कृषि, वन तथा माछापालन क्षेत्रमा ६.८ प्रतिशत र उत्पादन क्षेत्रमा ३.९ प्रतिशतको वृद्धि देखिएको छ ।
३२. चीनको छिङहाई प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प, १८ मिनेटको अन्तरालमा दुई धक्का
चीनको उत्तर–पश्चिमी प्रान्त छिङहाईमा मंगलवार भूकम्पका दुई शक्तिशाली धक्काहरू महसुस गरिएका छन् । चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) काअनुसार मंगलबार बिहान ११ः३४ बजे (बेइजिङ समय) छिङहाईको सिङ्हाई काउन्टीमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार उक्त भूकम्पको केन्द्रबिन्दु ३५.३५ डिग्री उत्तरी अक्षांश र ९९.५८ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको जनाइएको छ । उक्त ५.८ म्याग्निच्युडको भूकम्प जानुभन्दा करिव १८ मिनेट अगाडि सोही स्थानमा ५.७ म्याग्निच्युडको अर्को भूकम्प गएको सीईएनसीले उल्लेख गरेको छ ।
३३. चीनद्वारा विकसित बहुउपयोगी ड्रोन ‘टीपी २००’ को पहिलो उडान सफल
चीनको एक कम्पनीले विकास गरेको बहुउपयोगी तथा लामो समयसम्म उड्न सक्ने क्षमताको मानवरहित विमान (यूएभी) ले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ‘टीपी २००’ कोड नाम दिइएको उक्त ड्रोनको परीक्षण उडान चीनको सानडोङ प्रान्तमा गरिएको हो । यो विमान विशेषगरी उच्च उचाइमा लामो समयसम्म सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको छ । पूर्ण भार (फुल लोड) सहित यसले २४ घण्टाभन्दा बढी समयसम्म निरन्तर उडान भर्न सक्ने क्षमता राख्दछ । यसको सफल परीक्षणसँगै चीनको मानवरहित हवाई प्रविधिको क्षेत्रमा नयाँ आयाम थपिएको छ ।
३४. दक्षिण कोरियास्थित अमेरिकी सैन्य आधारमा ‘सेतो फस्फोरस’ चुहावट, स्थानीयलाई शतर्क रहन आग्रह
दक्षिण कोरियाको प्योङटेकस्थित अमेरिकी सैन्य आधार ‘के–५५’ (ओसान एयर बेस) मा मंगलवार ‘सेतो फस्फोरस’ (ह्वाइट फस्फोरस) चुहावट भएको छ । राजधानी सियोलबाट करिव ६५ किलोमिटर दक्षिणमा अवस्थित उक्त सैन्य आधारमा रासायनिक चुहावट भएपछि स्थानीय प्रशासनले आसपासका बासिन्दाहरूलाई आपतकालीन सतर्कता जारी गरेको छ । योनहाप समाचार एजेन्सीकाअनुसार स्थानीय समय अनुसार मंगलबार बेलुका ५ः०७ बजे उक्त आधार शिविरमा फस्फोरस चुहावट भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो ।
३५. मध्यपूर्वमा अमेरिकी सेना लक्षित इरानी क्षेप्यास्त्र प्रहार विफल भएको सेन्टकॉमको दाबी
अमेरिकी सेनाको केन्द्रिय कमान्डले मध्यपूर्वमा रहेका आफ्ना सेनाहरूलाई लक्षित गरी इरानले गरेको ‘आकस्मिक’ क्षेप्यास्त्र प्रहारलाई सफलतापूर्वक विफल पारेको जनाएको छ । सेन्टकॉमले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले मंगलवार साँझ ५ः४५ बजे (अमेरिकी समय) इरानी भूमिबाट धेरै संख्यामा ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो । अमेरिकाले यसलाई आफ्ना सैन्य बलहरूमाथि गरिएको एक सुनियोजित आकस्मिक हमलाको संज्ञा दिएको छ । ‘इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक बीचैमा रोकिएको (इन्टरसेप्ट) छ ।’ सेन्टकॉमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
३६. अन्तिम श्रद्धाञ्जलीका लागि गोपालमान श्रेष्ठको पार्थिव शरीर सानेपामा, आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने विभिन्न राजनितिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई काँग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । ८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो ।
३७. नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि, नेपालमा बाघको संख्या ४ सय २९ पुग्यो
नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार नेपालमा बाघको संख्या वृद्धि भएको पाईएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा बुधवार एक कार्यक्रमको आयोजना गरि उक्त सर्वेक्षण सार्वजानिक गरेको हो । सर्वेक्षणअनुसार नेपालमा हाल बाघको संख्या ४ सय २९ पुगेको छ । वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यकाअनुसार नेपालमा २००९ बाट क्यामेरा ट्रयाप विधिबाट बाघको गणना गर्न थालिएको थियो । सन् २००९ मा १ सय २१ रहेको बाघको संख्या बढेर हाल ४ सय २९ पुगेको हो । २०१३ मा १ सय ९८, २०१८ मा २ सय ३५, २०२२ मा ३ सय ५५ बाघ गणना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अन्तर्गत बाघको बासस्थानलाई ३ वटा कम्पलेक्समा विभाजन गरेर गरिएको थियो ।
३८. मन्त्रिपरिषद् बैठकका निर्णयः ९ वटा विधेयक संसदमा पेश गर्न स्वीकृति
सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, विस्फोटक पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।
३९. माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइने
काठमाडौं महानगरपालिकाले माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरु गरेको छ । माईतीघर लगायतका क्षेत्रमा वर्षेनी दोहोरिने डुबान र ढल निकासको समस्याको दीर्घकालिन समाधानका लागि महानगरपालिकाले ढल निकासलाई फराकिलो बनाउन लागेको हो । महानगरले बुधवार माईतीघरबाट आर्मी मुख्यालय छिर्ने बाटोतर्फबाट निकास सफा गर्ने तथा खुलाउने काम गरिरहेको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले प्राविधिक त्रुटी, अव्यवस्थित शहरीकरण र संरचनागत अतिक्रमणको कारण डुबान तथा ढल निकासको समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।
४०. समस्याग्रस्त भएका र नभएका सहकारीलाई एउटै दृष्टिकोणले हेरिनु हुँदैनः प्रदेशमन्त्री रायमाझी
वागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त सहकारी र ठिक ढंगले चलिरहेका सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) को ७ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान तथा व्यवस्थापन गर्न वागमती प्रोस्कुनले भुमिका खेल्नुपर्ने समेत बताउनु भयो । उहाँले प्रदेशमा रहेका सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न सहकारी ऐन संशोधनको चरण रहेको समेत उल्लेख गर्नुभयो । उहाँले संशोधन प्रश्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको उल्लेख गर्दै छिट्टै प्रदेश सभाबाट पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो । पूर्वसहकारीमन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको समेत जानकारी दिनुभयो ।
४१. सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य हुँदैनः राष्ट्रिय सहकारी महासंघ
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।
वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन)को सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुअघि सरोकारवालासँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव तथा सहसचिवसँग भेट गरी अध्यादेशबारे आपत्ति जनाएको पनि बताउनु भयो । उहाँले अध्यादेश जारी गर्नुअघि सहकारी अभियानसँग परामर्श नगरिएको विषयमा प्रश्न उठाउँदा मन्त्रालयका कर्मचारीहरूले आफूहरूलाई समेत पूर्वजानकारी नभएको जवाफ दिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij