२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालतले निश्चित मापदण्ड तयार नभएसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारका नाममा अन्तरिम आदेश जारी गर्दै कानुनले गोप्य राख्नुपर्ने विषय र बन्द इजलासबाट सुनुवाइ हुने मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न निर्देशन दिएको हो।
सर्वोच्चका अनुसार मुद्दाका कुनै पक्ष वा उनीहरूका कानुन व्यवसायीले गोपनीयता कायम गर्न र प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दाको सुनुवाइ पनि प्रत्यक्ष प्रसारण गरिने छैन। यस्तै, अदालत वा इजलासले प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको ठहर गरेका मुद्दाको सुनुवाइसमेत प्रसारण नगर्न आदेश दिइएको छ।
सर्वोच्च अदालतले प्रत्यक्ष प्रसारण गरिएका भिडियो क्लिपलाई तोडमोड वा दिग्भ्रमित हुने गरी प्रयोग नगर्न पनि निर्देशन दिएको छ। त्यस्तो गतिविधि भए सम्बन्धित निकायमार्फत रोक्न सकिने आदेशमा उल्लेख छ।
अधिवक्ता जीवनकुमार शाहीलगायतले अदालतमा विचाराधीन मुद्दाको प्रत्यक्ष प्रसारणले सुनुवाइ प्रक्रिया र अदालतको कामकारबाही प्रभावित भएको भन्दै रोक लगाउन माग गर्दै निवेदन दिएका थिए। उनीहरूले विशेष अदालत काठमाडौं र उच्च अदालत जनकपुरबाट भइरहेका प्रत्यक्ष प्रसारणसमेत रोक्न माग गरेका थिए।
सर्वोच्च अदालतले मुद्दाको प्रत्यक्ष प्रसारणसम्बन्धी नीति, निर्देशिका र मापदण्ड निर्माणको प्रक्रिया अघि बढिरहेको भन्दै नयाँ व्यवस्था नबन्दासम्म तोकिएका विषयमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij