२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार नेपालमा बाघको संख्या वृद्धि भएको पाईएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा बुधवार एक कार्यक्रमको आयोजना गरि उक्त सर्वेक्षण सार्वजानिक गरेको हो । सर्वेक्षणअनुसार नेपालमा हाल बाघको संख्या ४ सय २९ पुगेको छ ।
वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यकाअनुसार नेपालमा २००९ बाट क्यामेरा ट्रयाप विधिबाट बाघको गणना गर्न थालिएको थियो । सन् २००९ मा १ सय २१ रहेको बाघको संख्या बढेर हाल ४ सय २९ पुगेको हो । २०१३ मा १ सय ९८, २०१८ मा २ सय ३५, २०२२ मा ३ सय ५५ बाघ गणना गरिएको उनले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अन्तर्गत बाघको बासस्थानलाई ३ वटा कम्पलेक्समा विभाजन गरेर गरिएको थियो । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँट लालझाडी कम्पलेक्सको विभाजन गरेर बाघको गणना गरिएको हो । नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा रहेका छन् । उनले सर्वेक्षण राष्ट्रिय निकुञ्ज, वन क्षेत्र तथा बाघको बासस्थानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको जानकारी दिए ।
उनले राष्ट्रिय निकुञ्जभित्र २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइको ग्रिड बनाएर क्यामेरा राखी बाघको ट्रयाक गरिएको जानकारी दिए । उनले सर्वेक्षणका क्रममा बाघले क्षेत्र विस्तार गरको छ कि छैन भन्ने वारेमा पनि अध्ययन गरेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij