२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधारका लागि प्रविधिमैत्री र दीर्घकालीन योजना सार्वजनिक गरेका छन्। संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनको कार्ययोजनाको मुख्य प्राथमिकतामा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय परेको छ। यसका लागि उनले नेपाली दूतावास वा तोकिएको स्थानमा मतदान, हुलाकमार्फत मतपत्र पठाउने व्यवस्था, ब्लकचेनमा आधारित सुरक्षित इन्टरनेट मतदान र प्रतिनिधिमूलक मतदान गरी चार विकल्प अघि सारेका छन्।
कार्कीले सर्वोच्च अदालतको आदेश र नागरिकको चाहनाअनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी विदेशमा रहेका योग्य नेपालीलाई मताधिकार दिने कानुनी तथा कूटनीतिक पहल गर्ने बताएका छन्।
यस्तै, निर्वाचनमा प्रविधिको प्रयोग बढाउन विद्युतीय मतदान मेसिन (ईभीएम) को प्रयोग, अनलाइन मतदाता नामावली संकलन, बायोमेट्रिक पहिचान तथा मतदान केन्द्रको अनुगमनमा जीआईएस र जीपीएस प्रविधि प्रयोग गर्ने योजना उनले अघि सारेका छन्।
ई–भोटिङको सम्भाव्यता अध्ययन गरी परीक्षणका रूपमा सुरु गर्ने लक्ष्यसमेत कार्कीले कार्ययोजनामा उल्लेख गरेका छन्।
निर्वाचन खर्च घटाउन राजनीतिक दलहरूको आर्थिक कारोबार अनिवार्य लेखापरीक्षण गरी सार्वजनिक गर्ने, दलहरूलाई सार्वजनिक कोषबाट अनुदान दिने व्यवस्था मिलाउने र ‘नो भोट’ को कानुनी व्यवस्था गर्न पहल गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन्।
कार्कीले संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वलाई प्रभावकारी बनाउन महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति र यौनिक अल्पसंख्यकको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले निर्वाचनसम्बन्धी छरिएका कानुनलाई एकीकृत गरी नयाँ निर्वाचन कानुन निर्माण गर्ने, आचारसंहितालाई थप प्रभावकारी बनाउने तथा निर्वाचन आयोगका सातै प्रदेश र ७७ वटै जिल्ला कार्यालयलाई स्रोत–साधन सम्पन्न बनाउने योजना पनि अघि सारेका छन्।
कार्कीले निर्वाचन लोकतन्त्रको आधार भएको भन्दै आफ्नो कार्ययोजना कार्यान्वयन भए नेपालको निर्वाचन प्रणाली थप विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरको बन्ने दाबी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij