२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । लोपोन्मुख बाघको संरक्षणप्रति विश्व समुदायलाई सचेत गराउने र संरक्षणप्रतिको सामूहिक प्रतिबद्धता दोहोर्याउने उद्देश्यले आज १७ औँ विश्व बाघ दिवस मनाइँदै छ ।
विश्वभर बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएपछि बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न तथा संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउन सन् २०१० मा ‘ग्लोबल टाइगर इनिसिएटिभ’ अन्तर्गत रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘सेन्ट पिटर्सबर्ग टाइगर शिखर सम्मेलन’ले जुलाई २९ लाई ‘विश्व बाघ दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता मनाइँदै आएको बाघ दिवस नेपालका लागि औपचारिक कार्यक्रम मात्र नभई संरक्षणको क्षेत्रमा हासिल गरेको ऐतिहासिक सफलताको रूपमा मनाउने दिन पनि हो ।
नेपालले बाघ संरक्षणमा विश्वसामु उदाहरणीय सफलता प्रस्तुत गरेको छ। राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना २०२२ अनुसार नेपालमा ३ सय ५५ वटा जंगली बाघ अभिलेख गरिएको थियो । सन् २००९ मा यो सङ्ख्या केवल १ सय २१ थियो । छोटो अवधिमै बाघको सङ्ख्या झन्डै तीन गुणाले वृद्धि हुनु नेपालका लागि मात्र होइन, विश्व संरक्षण इतिहासकै उल्लेखनीय उपलब्धिमध्ये एक मानिन्छ । वैज्ञानिक प्रविधिको प्रयोग, प्रभावकारी चोरी–सिकार नियन्त्रण, वासस्थान संरक्षण र समुदायको सक्रिय सहभागिताले नेपाललाई बाघ संरक्षणमा विश्वकै अग्रणी राष्ट्रका रूपमा स्थापित गरेको छ।
नेपालले राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना–२०२६ को फिल्ड सर्वेक्षण सम्पन्न गरिसकेको छ। आधिकारिक प्रतिवेदन सार्वजनिक हुन बाँकी रहे पनि प्रारम्भिक विश्लेषणहरूले नेपालमा बाघको सङ्ख्या अझ वृद्धि हुने अनुमान छ । यसपटक देशको बाघ सङ्ख्या करिब ४ सयको हाराहारी पुग्न सक्ने अपेक्षा गरिएको छ । यदि आधिकारिक नतिजाले यसलाई पुष्टि गरेमा, नेपालले बाघ संरक्षणमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै विश्वसामु आफ्नो नेतृत्वलाई अझ सशक्त बनाउनेछ।
मुख्यतः विश्वका १३ वटा एसियन देशमा बाघ पाइन्छ । भारत, नेपाल, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, कम्बोडिया, चीन, रसिया, लाओस र भियतनाम बाघ पाइने देश हुन् । हाल विश्वमा ५ हजर ५ सयको संख्यामा बाघ रहेको अनुमान छ ।
नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सरकारी तथ्याङ्क छ ।
बढ्दो मानव–बाघ द्वन्द्व, बासस्थानको खण्डीकरण, पूर्वाधार विकासको दबाब र जैविक मार्ग बाघ संरक्षणको चुनौती बनेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij