Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज देशभर गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आज देशभर गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै


  • 1.3K
    Shares

    आज देशभर गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
    images

    काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी देशभर गुरु पूर्णिमा पर्व मनाइँदै छ ।

    तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । शास्त्रले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत स्वीकार गरेको छ । माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भन्ने गरिन्छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

    गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः ।

    गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

    यस अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाहरूले कार्यक्रम आयोजना गरी आफ्ना गुरुप्रति श्रद्धा प्रकट गरिरहेका छन्।

    आजकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यासको जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा मनाउने गरिएको हो ।

    वेद व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार नै धर्म हो र अरूलाई पीडा दिनु पाप हो’ भन्ने मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेद मानिने महाभारतको रचना पनि व्यासले नै गरेका हुन् ।

    गुरु पूर्णिमा र व्यास जयन्तीका अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाहरूले विशेष कार्यक्रमहरूको आयोजना गरेका छन् । यसै सन्दर्भमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - ०५:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij