Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरको ३५ खबर एकै ठाउँमा

आज दिनभरको ३५ खबर एकै ठाउँमा


  • 2.3K
    Shares

    आज दिनभरको ३५ खबर एकै ठाउँमा
    images

    १. संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । लामो समयसम्म सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो कार्यक्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्नबाट वञ्चित भएको तथा सदनको उपस्थितिमा समेत केही शिथिलता देखिएकाले दुई हप्ताको विश्राम दिइएको उहाँले स्पष्ट पार्नुभयो । आगामी बैठकबाट सदनलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भएको धितालले बताउनु भयो । 

    २. मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य

    वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको छ । मङ्गलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यक रहेको बताउनुभएको हो । आचार्यले विगत लामो समयदेखि आफूहरू कलाका माध्यमबाट मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको स्मरण गराउनु भयो । उहाँले ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा विभिन्न गीतमार्फत सचेतना फैलाउँदै आएको जानकारी दिँदै हालको परिस्थिति झन् चुनौतीपूर्ण बनेको बताउनु भयो । 

    ३. मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र आधुनिक स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीले साइबर ब्यूरो अन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको प्रश्ताव अगाडि बढाएको बताउनुभएको छ । मङ्गलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले उक्त जानकारी दिनुभएको हो । महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोस्र्ड क्रिमिन्यालिटी’का रूपमा देखापरेको बताउनु भयो । उहाँले आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश पु¥याउने र त्यहाँ वन्धक बनाई अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने नयाँ प्रवृत्ति बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

    ४. प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनटेको भाषण लेखिदिनुस्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाई समितिका सभापति वोधनारायण श्रेष्ठले प्रश्तावित आयुक्त राजीव सुब्बालाई उहाँको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गर्नुभएको छ । संसदीय सुनुवाई समितिमा मंगलबार प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा उहाँले उहाँको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गर्नुभएको हो । श्रेष्ठले डा. सुब्बालाई सोध्नुभयो, ‘हजुरको बिदाइको दिन म सांसद नरहे पनि मलाई बोलाउनुहोला । त्यो दिन मैले तपाईंको कार्यकाल र व्यक्तित्वका बारेमा कस्तो भाषण गर्छु होला भन्ने केही अनुमान गर्नुभएको छ ?’सभापति श्रेष्ठले डा. सुब्बाको कार्यकालपछिको अवकाशको दिनलाई परिकल्पना गर्दै उहाँको कार्यसम्पादन कस्तो रहला भन्ने जिज्ञासा राख्नुभयो । प्रश्तावित आयुक्त सुब्बालाई आफ्नो बिदाईका लागि एक मिनेटको भाषण कस्तो हुन्छ भनेर ड्राफ्ट गरिदिन सक्नुहुन्छ ? भन्दै सभापति श्रेष्ठले प्रश्न गर्नुभयो । 

    ५. प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई उनलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पार्नुभएको छ । मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक थापाले सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसद्मा उक्त विषय उठाइएको बताउनु भयो । यस विषयमा सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिवद्धता सभामुखमार्फत जनाएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तरकै रूपमा नभए पनि राष्ट्रका नाममा सम्बोधन गर्दा सीमाको विषयलाई समेटेर जनतालाई स्पष्ट पार्न सक्ने सुझाव दिनुभयो । 

    ६. प्रतिनिधि सभालाई प्रभावकारी बनाउन सभामुखको पहलः प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग

    असार १४ गतेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकलाई मर्यादित र प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । १५ दिनको स्थगनपछि बस्न लागेको बैठकको कार्यसूची र सदनमा देखिएका अवरोध हटाउने विषयमा केन्द्रित रहेर मंगलवार सिंहदरबारमा उक्त छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदको आगामी बैठकलाई व्यवस्थित बनाउन सभामुखले आह्वान गर्नुभएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति र पछिल्लो समय विदेशमा भएका दुःखद् घटनाहरूबारे प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने माग राखेका छन् । 

    ७. पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल

    नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन तथा प्रहरी–व्यवसायी सहकार्यका विषयमा विस्तृत छलफल गरिएको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको उल्लेख गर्नुभयो । उहाँले व्यवसायी र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

    ८. नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख समस्या

    मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख समस्या रहेको बताएको छ । मंगलवार ‘विश्व मानव बेचबिखन विरुद्धको दिवस’ का अवसरमा आयोजित कार्यक्रममा ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नकुल पोखरेलले कार्यपत्र प्रश्तुत गर्दै उक्त जानकारी दिनुभएको हो । प्रश्तुत कार्यपत्रअनुसार नेपालमा आन्तरिक रूपमा मनोरञ्जन क्षेत्र (डान्स बार, दोहोरी, मसाज स्पा र होटल) मा हुने यौनजन्य शोषण र श्रम शोषण प्रमुख समस्याका रूपमा रहेका छन् ।

    ९.निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल

    नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको बताउनुभएको छ । मङ्गलवार संघीय संसदको संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । प्रश्तावित आयुक्त वाग्लेको कार्ययोजना र अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपनेता अर्यालले उहाँको कानून पृष्ठभूमि र विगतमा निर्वाचन अधिकृतका रूपमा सँगालेको अनुभव सकारात्मक पक्ष भएपनि कार्ययोजनामा नयाँ विषयहरूको कार्यान्वयनको ठोस आधार र पहिचान स्पष्ट नभएको उल्लेख गर्नुभयो । 

    १०. निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउनुको विकल्प छैनः सांसद ढुंगाना

    नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । संसदीय सुनुवाई समितिको मंगलबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । सांसद ढुंगानाले डा. सुब्बाद्वारा प्रश्तुत कार्ययोजना र प्रश्तुतिको प्रशंसा गर्दै आधुनिक युगमा पुरानो शैलीबाट राज्य सञ्चालन र लोकतन्त्रको रक्षा सम्भव नभएको बताउनु भयो । उहाँले आगामी स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनलाई लक्षित गरी प्रविधिको उच्चतम प्रयोग हुनुपर्ने उल्लेख गर्नुभयो । देशमा विद्यमान गरिबी र अशिक्षाका बाबजुद पनि प्रविधि अङ्गीकार गर्न कठिनाइ नहुने तर्क गर्दै उहाँले प्रविधिका बारेमा जनमानसमा रहेका भ्रमहरू चिर्नुपर्ने बताउनु भयो ।

    ११. निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले मुलुकको निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । मङ्गलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा बोल्दै उहाँले निर्वाचनमा प्रविधिको प्रयोग, यसको सुरक्षा र समावेशिताका विषयमा धारणा राख्नुभएको हो । सांसद अग्रवालले आधुनिक युगमा प्रविधि भित्र्याउनु अपरिहार्य भएपनि यसको सुरक्षा र दीर्घकालीन कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । निर्वाचनलाई पेपरलेस बनाउँदा राज्यको भार कम हुने र उम्मेदवार तथा मतदाताको खर्च समेत न्युनिकरण हुने उहाँको तर्क छ ।

    १२. निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचनका समयमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको गम्भीर आरोप लगाउनुभएको छ । 
    मंगलबार संघीय संसदको संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाईका क्रममा बोल्दै सांसद खत्रीले निर्वाचन आयोगको कार्यक्षमता, सुरक्षा तटस्थता र निर्वाचन सुधारका विविध पक्षमा प्रश्न उठाउनुभएको हो । निर्वाचनका समयमा अग्रपंक्तिमा खटिने सुरक्षा निकायहरू जहिले पनि सत्तापक्षको छायामा रहने गरेको सांसद खत्रीले उल्लेख गर्नुभयो । उहाँले निर्वाचनका बेला सुरक्षा निकायलाई पूर्ण रूपमा आयोगको मातहतमा ल्याउन नसक्नुको कारणबारे प्रस्तावित आयुक्तसँग जिज्ञासा राख्नुभयो । निर्वाचन आयोगले अन्तिम समयमा गर्ने उम्मेदवारी खारेजी र पछि अदालतबाट उम्मेदवारले सफाइ पाउने अवस्थाले राज्यलाई आर्थिक भार थपिने उहाँको तर्क छ । 

    १३. निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छायाँ’ बनाउन नहुने बताउनुभएको छ । मङ्गलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले आयोगलाई एक निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्तै निर्वाचन आयोगको भुमिका पनि निर्णायक हुने उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आयोगलाई लोकतन्त्र जोगाउने ‘छैटौँ अङ्ग’ (सिक्स्थ अर्गान) को रूपमा परिभाषित गर्दै आयोगले गर्ने स्वतन्त्र निर्णयले मात्र जनमतको वास्तविक प्रतिनिधित्व हुने बताउनु भयो । 

    १४. निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड

    नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा सांसद पुनले यस्तो बताउनुभएको हो । सांसद पुनले प्रश्तावित आयुक्त सुब्बाको २५ वर्षको कार्यअनुभव, सूचना प्रविधि (आईटी) क्षेत्रको विज्ञता र संयुक्त राष्ट्रसंघीय मिसनमा गरेको कार्यसम्पादनको प्रशंसा गर्दै उहाँको अवधारणा पत्र र प्रश्तुति प्रभावकारी रहेको बताउनु भयो । पुनले निर्वाचनमा भित्रिएको नयाँ प्रविधि र त्यसले निम्त्याउन सक्ने चुनौतीबारे चिन्ता व्यक्त गर्नुभयो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिपफेक र एल्गोरिदमका कारण निर्वाचनको समयमा भ्रामक र उत्तेजक सामग्री प्रचार हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । 

    १५. निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल

    नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले संवैधानिक निकायका पदाधिकारीले प्रश्तुत गर्ने कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्ने बताउनुभएको छ । प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाईका क्रममा मंगलवार आफ्नो धारणा राख्दै नेता दंगालले यस्तो बताउनुभएको हो । सुनुवाई समितिको कार्यविधिअनुसार प्रश्तावित पदाधिकारीले प्रश्तुत गर्ने अवधारणा र कार्ययोजना वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संवैधानिक निकायका प्रतिवेदनहरूउपर संसदीय समितिमा छलफल र समीक्षा हुने प्रक्रिया शुरु भइसकेकाले पदाधिकारीहरूको कार्यसम्पादन मूल्यांकन सोही आधारमा गरिने स्पष्ट पार्नुभयो ।

    १६. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय– कहिलेसम्म लाग्दैन शुल्क ?

    नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । ‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमवार आयोजित एक समारोहका बीच यस सुरुङमार्गको उद्घाटन भएसँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्त रूप पाएको हो । नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई विधिवत रूपमा सुरुङ मार्गको युगमा प्रवेश गराएको छ । यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन् ।

    १७. ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’

    सडकभन्दा साना ९०० मिमि र ६०० मिमिका ढल, क्याम्पस र बैंकका संरचनाले थिचिएका म्यानहोल तथा प्लास्टिकजन्य फोहोरले समस्या निम्त्याएको निष्कर्ष
    काठमाडौंको माईतीघर लगायतका क्षेत्रमा वर्षेनी दोहोरिने भीषण डुबान र ढल निकासको समस्या प्राविधिक त्रुटी, अव्यवस्थित शहरीकरण र संरचनागत अतिक्रमणको संयुक्त परिणाम भएको निष्कर्ष निकालिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले साउन ६ गते गरेको स्थलगत निरीक्षणपछि बुझाएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदनअनुसार विगतमा माईतीघर चोकसँगै जोडिएको होचो र खाली जग्गाले ‘प्राकृतिक जलाशय’ को रूपमा काम गर्ने गर्दथ्यो ।

    १८. अमेरिका–इरान द्वन्द्वः जुलाईयता २०० भन्दा बढी अमेरिकी सैनिक घाइते भएको पेन्टागनको तथ्यांक

    अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत जुलाईदेखि इरानसँगको सैन्य द्वन्द्व पुनः शुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् । पेन्टागनको डिफेन्स क्याजुअल्टी एनालिसिस सिस्टमले अद्यावधिक गरेको तथ्यांकअनुसार, जुलाई २५ सम्म इरान विरुद्धको अमेरिकी सैन्य अभियान एपिक फ्युरीका क्रममा कुल १४ अमेरिकी सैन्य कर्मचारीको मृत्यु भएको छ भने ४१७ जना घाइते भएका छन् । रक्षा मन्त्रालयको डाटाबेसमा हालै ओभरसिज अपरेसन नामक नयाँ श्रेणी थपिएको छ, जसले जुलाई ७ देखिका सैन्य हताहतीलाई छुट्टै समेटेको छ । यस श्रेणीमा चार जनाको मृत्यु र २०७ जना घाइते भएको सूचीकृत गरिएको छ । 

    १९. अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्न दिँदैनौँः इरान

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानले संयुक्त राज्य अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्ने अनुमति नदिने स्पष्ट पार्नुभएको छ । इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरकाअनुसार प्रवक्ता बाघेईले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो । अमेरिका विगत पाँच महिनादेखि दलदलमा फसेको टिप्पणी गर्दै बाघेईले भन्नुभयो, ‘हामी अमेरिकी पक्षलाई युद्ध र शान्तिको समय निर्धारण गर्न दिने छैनौँ । आवश्यक परेको समयसम्म हामी आफ्नो प्रतिरक्षा गर्नेछौँ ।’

    २०. इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित

    लेबनानी सेनाले इजरायलद्वारा भइरहेका निरन्तरका आक्रमण र विद्यमान समझदारीको उल्लंघनका कारण दक्षिण लेबनानमा सेना परिचालन र विस्थापित बासिन्दाहरूको घर फिर्ती प्रक्रियामा गम्भीर अवरोध पुगेको जनाएको छ । सेनाद्वारा जारी विज्ञप्तिअनुसार इजरायली पक्षबाट विभिन्न क्षेत्रमा घरहरूको योजनावद्ध विनाश, गोलाबारी र मेसिनगन प्रहार भइरहेका छन् । यस क्रममा एक खानेपानी सुविधा केन्द्र ध्वस्त पारिएको र शताब्दीयौँ पुराना जैतुन (ओलिभ) का रूखहरूमा आगजनी गरिएको सेनाले उल्लेख गरेको छ । इजरायली सेनाले कफर तेबनित, नबतियाह अल–फौका र जावतार अल–गर्विया लगायतका स्थानमा लेबनानी सैन्य पोस्टहरू नजिकै गोलीबारी गरेको र यसले सेनाको कार्यसम्पादनमा व्यवधान पु¥याएको बताइएको छ । 

    २१. इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको छ । वार्ताका लागि अर्को अवसर प्रदान गर्न हाललाई सैन्य आक्रमणको निर्णय स्थगन गरिएको भएपनि संवादबाट निष्कर्ष ननिस्किए पुनः आक्रमण शुरु गर्ने उनले स्पष्ट पार्नुभएको हो । अमेरिकी अनलाइन न्युज पोर्टल एक्सियोसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी इरानसँग गम्भीर वार्ताको क्रममा छौं । यदि यसबाट सकारात्मक परिणाम निस्किएन भने हामी पुनः कडा सैन्य कारबाहीमा फर्किनेछौं ।’

    २२. चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु

    चीनको उत्तर–पश्चिमी प्रान्त गान्सुमा आईतवार आएको भीषण बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय (एमईएम) काअनुसार गान्सु प्रान्तको डिङसी सहरस्थित वेइयुआन काउन्टीमा अचानक परेको भारी वर्षापछि बाढी आएको हो । बाढीले उक्त क्षेत्रका पर्यटकीय स्थलहरूमा ठूलो क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूकाअनुसार बाढी आउँदा पर्यटकीय क्षेत्रमा क्याम्पिङ गरिरहेका केही पर्यटकहरू बाढीको चपेटामा परी फसेका थिए । घटनाको जानकारी लगत्तै राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले राहत तथा उद्धार कार्यका लागि एक विशेष टोली घटनास्थलतर्फ पठाएको छ । 

    २३. जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल

    जोर्डनका उपप्रधानमन्त्री तथा विदेश एवं आप्रवासी मामिला मन्त्री आयमान सफादी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सोमवार अम्मानमा भेटवार्ता भएको छ । जोर्डनको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेटमा पछिल्लो क्षेत्रीय घटनाक्रम र सुरक्षाका चुनौतीहरूबारे गहन छलफल भएको थियो । भेटका क्रममा दुवै पक्षले अमेरिका र इरानबीचको युद्धविरामलाई निरन्तरता दिनुपर्ने, तनावको मूल कारण सम्बोधन गर्न वार्ता पुनः शुरु गर्नुपर्ने र स्ट्रेट अफ हर्मुजमा निर्वाध जलयात्रा सुनिश्चित गरिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । प्यालेस्टाइनी क्षेत्रको तनावपूर्ण अवस्थाबारे चर्चा गर्दै विदेशमन्त्री सफादीले गाजा युद्धविराम योजनाको तत्काल कार्यान्वयनका लागि आग्रह गर्नुभयो । 

    २४. टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते

    टर्कीको दक्षिणी प्रान्त अन्ताल्यामा आईतवार एउटा कार सडकबाट नियन्त्रण गुमाएर खोँचमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार मनाभगत जिल्लाको बेयडिगिन नजिकै तासागिल–देरेबुकाक सडकखण्डमा उक्त दुर्घटना भएको हो । सात जना सवार उक्त कार अनियन्त्रित भई सडकबाट तल खोँचमा खसेको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ चिकित्साकर्मी, दमकल, सुरक्षाकर्मी तथा विपद् व्यवस्थापन प्राधिकरण (एएफएडी) का टोलीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए । उद्धार टोलीले घटनास्थलबाट पाँच जनाको शव फेला पारेको छ भने घाइते दुई जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नजिकैको अस्पताल लगिएको छ । 

    २५. निर्वाचन कानून उल्लंघनको मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई जेल सजाय, निर्वाचन बदर हुने

    दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राष्ट्रपतीय निर्वाचनका क्रममा झूटो विवरण दिएको ठहर गर्दै जेल सजाय सुनाएको छ । निर्वाचन कानून उल्लंघनको अभियोगमा आएको यस फैसलाले उनको सन् २०२२ को निर्वाचनको कानूनी वैधतालाई बदर गर्ने जोखिम बढाएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले सोमवार युनलाई डेढ वर्षको कैद सजाय सुनाएको छ, जुन तीन वर्षका लागि निलम्बन गरिएको छ । अदालतले युनले राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा निर्वाचन ऐनको उल्लंघन गर्दै गलत सूचना प्रवाह गरेको निष्कर्ष निकालेको छ । युन र उनकी पत्नी संलग्न भ्रष्टाचारका आरोपहरूको अनुसन्धान गरेका स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले युनलाई सार्वजनिक पदाधिकारी निर्वाचन ऐन उल्लंघन गरेको भन्दै दुई वर्षको कारावासको माग गरेको थियो । 

    २६. सिरियामाथिका प्रतिवन्धहरू हटाउन र पुनर्निर्माणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियामाथि लगाइएका सम्पूर्ण बाँकी प्रतिबन्धहरू तत्काल हटाउन र देशको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आह्वान गर्नुभएको छ । सिरियाको दुई दिने भ्रमण सम्पन्न गर्ने क्रममा राजधानी दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा लगानी गर्दै सिरियाको पुनरुत्थानमा सघाउन अपिल गर्नुभयो । साथै, शरणार्थीहरूको सुरक्षित, स्वैच्छिक र सम्मानजनक फिर्तीका लागि आवश्यक वातावरण निर्माण गर्न प्रयासहरू तिब्र पार्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    २७. निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना

    प्रश्तावित निर्वाचन आयुक्त डा. राजीब सुब्बाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै निर्वाचन प्रणालीलाई पेपरलेस बनाउँदै लैजाने बताउनुभएको छ । मंगलवार संसदीय सुनसवाई समिति (संयुक्त) मा भएको सुनुवाईका क्रममा उहाँले आफ्नो कार्ययोजना प्रश्तुत गर्दै समयसापेक्ष निर्वाचन गर्न प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको हो । इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम), इन्टरनेट भोटिङ, पोस्टल भोटिङ र ‘नोटा’को व्यवस्था गर्नको लागी कानूनी सुधार आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन पनि कानून संशोधन पर्याप्त हुने दाबी गर्नुभयो । बंगलादेशको उदाहरण प्रस्तुत गर्दै उहाँले त्यहाँ ‘आईटी असिस्टेड पोस्टल भोटिङ’ प्रणाली लागू भएपछि १२ लाखभन्दा बढी प्रवासी मतदाताले मतदानमा भाग लिएको बताउनु भयो ।

    २८. प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले

    प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी प्रदेशसभाको निर्वाचनमा मताधिकार सुनिश्चित गर्न सकिने बताउनुभएको छ । 
    मंगलवार संसदीय सुनुवाई समिति (संयुक्त)मा भएको सुनुवाइका क्रममा उहाँले संसदले आवश्यक कानुन र सरकारले ई–भोटिङ प्रणालीको निर्णय गरेमा प्रदेशसभाको निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्ने व्यवस्था आयोगले गर्ने बताउनुभएको हो । वर्तमान कानूनले विदेशमा रहेका मतदातालाई मतदानको व्यवस्था नगरेकाले निर्वाचन व्यवस्थापन ऐनमार्फत आवश्यक कानुनी आधार तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विदेशमा रहेका नेपालीसँगै स्वदेशभित्र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई पनि मतदानको सुविधा उपलब्ध गराउने विषयलाई कानूनमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भयो । 

    २९ . प्रश्तावित आयुक्तलाई सांसद विष्टको प्रश्न–निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ?

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले निर्वाचन आयोग सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अनुभूति हुने गरेको बताउनुभएको छ । 
    संसदीय सुनसवाई समिति (संयुक्त)मा प्रश्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको सुनुवाईको क्रममा उहाँलले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँनुभएको हो । सांसद विष्टले नेपाली काँग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित निर्णयलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै तत्कालिन सत्ताको प्रभावमा परेर आयोगले निर्णय गरेको आरोप लगाउनु भयो । उहाँले नियमित महाधिवेशनबाट आएको नेतृत्वलाई बाईवास गरेर गरिएको विशेष महाधिवेशनलाई मान्यता दिएको बताउनु भयो । उहाँले विशेष महाधिवेशनको विरुद्ध परेको उजुरीलाई आयोगले अस्वीकार गर्दै विशेष महाधिवेशनलाई नै मान्यता दिएको उहाँको आरोप छ । 

    ३०. स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरुको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाउनुभएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले हाल केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय तथा दर्जनौं तलबविहिन स्वकिय राखेको आरोप लगाउनुभएको हो । मन्त्रीको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालयका कर्मचारीका लागि बस्ने ठाउँ अभाव भइरहेको गुनासो आएको उहाँले बताउनु भयो । सरकारले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च कटौती गर्ने उद्देश्य राखेपनि स्वकीय र सल्लाहकारको संख्या बढाएर उल्टै खर्च बढाएको बताउनु भयो । स्वकिय र सल्लाहाकारको हस्तक्षेपले कर्मचारीतन्त्रको मनोबल समेत कमजोर हुँदै जाने भएकोले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

    ३१. उद्यमीहरूलाई अर्थमन्त्रीले भने–निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व गर्नुहोस्, लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता सरकारले गर्छ

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पतीको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनु भयो । 

    ३२. चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, आकस्मिक बाहेकका सेवा बन्द

    नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण गरेको विरोधमा संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पारेको हो । जसबाट बिरामीहरु मर्कामा परेका छन् । गत शनिवार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो  । आक्रमणबाट डा. रामको टाउकोमा गम्भीर चोट लागेको संघले बताएको छ ।

    ३३. लघुवित्त पीडितले थाले आमरण अनसन

    लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनशन शुरु गरेका छन् । लघुवित्त पीडितसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै उनीहरु मंगलवारदेखि आमरण अनसनमा बसेका हुन् । लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्र वृत्ति ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरुको माग छ । लघुवित्त पीडित मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशन विपरित लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई शोषण गरेको आरोप लगाउँदै आमरण अनसन शुरु गरेको बताउनु भयो । उहाँले यसअघि लुघुवित्त तथा वित्तिय संस्था पीडितहरुसँग वार्ता गरि सरकारले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएको बताउनु भयो । 

    ३४. वैकल्पिक व्यवस्थापनको मागसहित सुकुम्बासी आन्दोलन मंगलवार पनि जारी

    भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले वैकल्पिक व्यवस्थापनको माग गर्दै मंगलवार पनि आन्दोलन जारी राखेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै उनीहरुले मंगलवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका हुन् । सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुम्बासी र सुकुम्बासी सबैलाई एउटै डालोमा हाल्ने काम गरेको उनीहरुको गुनासो छ । सरकारले आफूहरुको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । 

    ३५. प्रधानमन्त्रीसँगको समन्वयमा कुनै समस्या छैन, ‘बाइपास’ गरिएको चर्चा अफवाह मात्रः अर्थमन्त्री डा. वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गर्नुभएको छ । केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित हुनुहुन्छ । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरु प्रकाशित भएपछि उहाँले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टिकरण दिनुभएको हो । उहाँले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पार्नुभयो ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - २०:४६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij