२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ।
काठमाडौंको हेलिस अस्पतालमा उपचारका क्रममा मंगलवार श्रेष्ठको निधन भएपछि कांग्रेसले बुधबार बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाएको हो।
ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार बैठकले नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नेछ।
दिवङ्गत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि श्रावण १३ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय भएको छ।
पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपश्चात् उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij