२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित भएको दाबी गर्ने एक समूहले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्न काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको छ।
यसअघि सरकारसँग वार्तापछि आन्दोलन स्थगित गरेको समूहभन्दा फरक समूहले आफूहरूका समस्या अझै समाधान नभएको भन्दै अनिश्चितकालीन आमरण अनशनको घोषणा गरेको हो।
संघर्ष समितिका अनुसार लघुवित्त तथा वित्तीय संस्थाले असुल गरेको चर्को ब्याज, चक्रवृद्धि ब्याज, धितो लिलामी र गैरकानुनी असुलीका कारण ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुर वर्षौंदेखि आर्थिक संकटमा परेका छन्। सरकारले पटक–पटक सहमति गरे पनि ती प्रतिबद्धता कार्यान्वयन नगरेकाले बाध्य भएर आमरण अनशनको बाटो रोज्नुपरेको उनीहरूको भनाइ छ।
अनशनरत पक्षले पीडितका समस्या समाधानका लागि स्पष्ट निर्णय र प्रभावकारी कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ। उनीहरूले सरकारले औपचारिक रूपमा आफ्ना माग सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन्।
लघुवित्त पीडितहरूको आन्दोलनका कारण माइतीघर मण्डलामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। आन्दोलनकारीहरूले सरकारलाई वार्ताभन्दा व्यवहारिक समाधान दिन आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij