Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन ५ मोडेल प्रस्ताव

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन ५ मोडेल प्रस्ताव


  • 736
    Shares

    विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन ५ मोडेल प्रस्ताव
    images

    काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा सहभागी गराउन सकिने पाँच वटा मतदान मोडेल प्रस्ताव गरेका छन् ।

    सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले विश्वका विभिन्न देशमा प्रचलनमा रहेका निर्वाचन प्रणालीको अध्ययनका आधारमा नेपालका लागि पनि विकल्पहरू प्रस्तुत गरेका हुन् ।

    वाग्लेले प्रस्ताव गरेका मतदानका पाँच मोडेल यस्ता छन्–

    १. मतपेटिकामा आधारित मतदान

    विदेशस्थित नेपाली दूतावास वा तोकिएका कूटनीतिक निकायमा मतदान केन्द्र स्थापना गरी मतपत्र र मतपेटिकामार्फत मतदान गराउने व्यवस्था गर्न सकिने वाग्लेको प्रस्ताव छ । यो विधि प्राविधिक रूपमा सहज र विश्वसनीय मानिने तथा ब्राजिल, फ्रान्स र मेक्सिको जस्ता देशमा प्रयोग भइरहेको उनले उल्लेख गरेका छन् ।

    २. हुलाकमार्फत मतदान

    विदेशमा रहेका मतदातालाई हुलाकमार्फत मतपत्र पठाउने र मतदानपछि पुनः हुलाकबाटै पठाउने व्यवस्था गर्न सकिने अर्को विकल्प वाग्लेले दिएका छन् । अस्ट्रेलिया, क्यानडा र जर्मनीमा यो प्रणाली प्रयोग भइरहेको उनले बताएका छन् ।

    ३. प्रतिनिधिमार्फत मतदान

    यस प्रणालीमा विदेशमा रहेका मतदाताले आफ्नो तर्फबाट मतदान गर्न स्वदेशमा रहेका व्यक्तिलाई अधिकार दिने व्यवस्था हुन्छ । बेलायत र नेदरल्याण्डमा निश्चित सर्तसहित यस्तो अभ्यास रहेको वाग्लेले उल्लेख गरेका छन् । तर यसमा दुरुपयोगको सम्भावना रहने भन्दै उनले सचेत गराएका छन् ।

    ४. इन्टरनेट मतदान

    वाग्लेले इन्टरनेट भोटिङलाई आधुनिक र प्रविधिमैत्री विकल्पका रूपमा प्रस्तुत गरेका छन् । विश्वको जुनसुकै स्थानबाट सुरक्षित रूपमा मतदान गर्न सकिने भए पनि नेपालमा उच्च सुरक्षासहितको प्रविधि, डाटा सेन्टर र पूर्वाधार आवश्यक पर्ने उनले बताएका छन् । एस्टोनिया, स्विट्जरल्याण्ड र फिलिपिन्समा यसको अभ्यास भइरहेको उल्लेख गरिएको छ ।

    ५. मिश्रित मोडेल

    मतदाताको सुविधा, भौगोलिक अवस्था र पहुँचका आधारमा दुई वा दुईभन्दा बढी मतदान प्रणालीलाई एकसाथ प्रयोग गर्ने विकल्पलाई मिश्रित मोडेलका रूपमा वाग्लेले प्रस्तुत गरेका छन् । अस्ट्रेलिया र डेनमार्कले यस्तो व्यवस्था अपनाएको उनले बताएका छन् ।

    प्रस्तावित निर्वाचन आयुक्त वाग्लेले नेपालको सन्दर्भमा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन चरणबद्ध रूपमा अघि बढ्नुपर्ने सुझाव दिएका छन् । उनले निर्वाचन प्रणालीलाई थप प्रविधिमैत्री बनाउँदै विदेशमा रहेका लाखौं नेपालीलाई मताधिकारको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १२:३४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij