२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका दुई प्रस्तावित आयुक्तको संसदीय सुनुवाइ भोलि हुने भएको छ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौंका डा। राजीव सुब्बाको सुनुवाइ गर्न मंगलबार बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बैठक बोलाएको हो।
समितिले प्रस्तावित आयुक्तद्वयलाई बैठकमा बोलाएर उनीहरूको योग्यता, कार्ययोजना र निर्वाचन सुधारसम्बन्धी अवधारणाबारे छलफल गर्नेछ।
सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ। समितिबाट नाम अनुमोदन भएमा संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले उनीहरूलाई निर्वाचन आयुक्तमा नियुक्त गर्ने व्यवस्था छ।
संसदीय सुनुवाइ समितिका उपसचिव सावित्रा शर्माले जारी गरेको सूचनाअनुसार बैठकमा सुनुवाइसँगै अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij