२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी अध्यक्ष डा।सीके राउतलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
उनले राजीनामा पत्रमा पार्टीभित्र पछिल्लो समय उत्पन्न राजनीतिक, सङ्गठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण पदमा रहेर प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरेका छन् ।
पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार जिम्मेवारी निर्वाह गर्दै आए पनि पछिल्लो समय पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा सङ्गठनात्मक मर्यादाका विषयमा गम्भीर असहजता उत्पन्न भएको यादवले बताएका छन् ।
यादवले आफूले पार्टीमा रहँदा निर्वाह गरेको जिम्मेवारीमा कुनै कमी-कमजोरी भए त्यसलाई व्यक्तिगत रूपमा नलिई सङ्गठनात्मक यात्राको स्वाभाविक पक्षका रूपमा ग्रहण गरिदिन आग्रह गरेका छन् ।
उनले जनमत पार्टी तथा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति आफू सधैँ समान भावनाका साथ रहने बताएका छन् । आगामी दिनमा लोकतन्त्र, जनअधिकार, सुशासन, सामाजिक न्याय र जनताको हितका पक्षमा आफ्नो राजनीतिक तथा सामाजिक भूमिका निरन्तर निर्वाह गर्दै जाने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij