२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा पठाउने उच्च अदालत पाटन र विशेष अदालतको आदेशको कारण र आधारसहितको प्रतिवेदन माग गरेको हो ।
भट्टले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने दुवै अदालतका आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सम्पत्ति शुद्धीकरण विभागले २०८१ चैत १९ गते भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । उनीविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टाछुट्टै मुद्दा दायर भएको छ ।
बैंकिङ कसुर मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त मुद्दामा उच्च अदालत पाटनले गत असार ५ गते भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । सो मुद्दामा विशेष अदालतले पनि भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
तल्लो अदालतको आदेश कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च पुगेका भट्टको निवेदनमा अब कैफियत प्रतिवेदन आएपछि थुनामै राख्ने वा धरौटीमा छाड्ने विषयमा सुनुवाइ हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij