२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।
हतियारसहित नेपाली सेनाको टोली कप्तानगञ्ज पुगेपछि अहिले अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले क्षेत्रको अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । झडपका क्रममा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् भने उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि कप्तानगञ्जसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर, कर्फ्युका बीच विभिन्न स्थानमा प्रदर्शन भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij