२०८३ आश्विन १ गते बिहिवार
ठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।
गृह मन्त्रालयका अनुसार समितिको नेतृत्व गर्ने सहसचिवको नाम भने टुंगो लागिसकेको छैन। समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन्।
त्यस्तै, छानबिन समितिमा सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधि पनि रहने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्। समितिले घटनाको कारण, सुरक्षा निकायको भूमिका र झडपको अवस्थाबारे अध्ययन गर्ने बताइएको छ।
आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा स्थानीय ओमप्रकाश मेहता रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij