Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुनसरी झडपपछि गृहमन्त्रीको उच्च सुरक्षा अधिकारीसँग आकस्मिक छलफल

सुनसरी झडपपछि गृहमन्त्रीको उच्च सुरक्षा अधिकारीसँग आकस्मिक छलफल


  • 1.1K
    Shares

    सुनसरी झडपपछि गृहमन्त्रीको उच्च सुरक्षा अधिकारीसँग आकस्मिक छलफल
    images

    काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि गृहमन्त्री सुधन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग आकस्मिक छलफल गरेका छन्।

    सिंहदरबारमा भएको बैठकमा गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायदत्त पौडेलसँग घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्। गृह मन्त्रालयका अनुसार बैठकमा सुरक्षा अवस्था, घटनाको कारण र नियन्त्रणका लागि अपनाइएका उपायबारे विस्तृत ब्रिफिङ गरिएको थियो।

    गएराति दुई समुदायबीच तनाव चर्किएर झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    प्रारम्भिक जानकारीअनुसार मन्दिरमा ठूलो आवाजमा डिजे बजाइएको विषय र त्यसअघि बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको घटनापछि विवाद बढ्दै गएर झडपमा परिणत भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

    स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले तीन राउन्ड र सशस्त्र प्रहरीले सात राउन्ड हवाई फायर गरेको जनाएको छ। यद्यपि सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले सशस्त्र प्रहरीले घटनास्थलमा कुल २० राउन्ड गोली चलाएको जानकारी दिएका छन्।

    झडपका क्रममा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना नेपाल प्रहरी, पाँच जना सशस्त्र प्रहरी तथा नौ जना स्थानीय घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको सुरक्षा निकायले जनाएको छ।

    घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रशासनले समुदायलाई संयमता अपनाउन र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न आवश्यक सबै उपाय अपनाइएको जनाएको छ।

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - ११:०६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij