२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।
उद्घाटनसँगै सुरुङमार्ग सञ्चालनमा आए पनि तत्काल सबै सवारीसाधनलाई प्रवेश दिइने छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न अनुमति दिइनेछ।
आयोजनाले करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गर्ने जनाएको छ। यस अवधिमा सुरक्षाको अवस्था, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको मूल्यांकन गरिनेछ। परीक्षण सफल भएपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइनेछ।
परीक्षण अवधिभर कुनै पनि सवारीसाधनबाट शुल्क नलिइने भए पनि नियमित सञ्चालनपछि भने सवारीको प्रकारअनुसार शुल्क लागू हुनेछ। सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
यद्यपि, पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
करिब ८० महिनाको निर्माण अवधिपछि सञ्चालनमा आएको यो सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म फैलिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको जाम, उकालो र घुमाउरो सडक छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।
करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको आयोजनामा जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी रहेको छ। निर्माण कार्य ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, निर्माण सामग्रीको मूल्यवृद्धि र अन्य प्राविधिक चुनौतीका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।
नेपालको सडक पूर्वाधारमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौं प्रवेश र बाहिरिने यात्रालाई थप सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ।









© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij