२०८३ आश्विन १ गते बिहिवार
१. हेटौंडाको थानाभ¥याङमा एक पुरुष मृत फेला
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तिब्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ । अनुसन्धानका क्रममा मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको छ । उनी रामबहादुर गोपालीका छोरा हुन् । घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । यसैबीच आज बिहान करिव साढे ८ बजे वागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको छ ।
२. लघुवित्त तथा वित्तीय शोषणविरुद्ध काठमाडौंमा पीडितहरूको ‘राजधानी मार्च’
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आईतवार राजधानीमा विरोध प्रदर्शन गरेका छन् । किसान मजदुर आन्दोलन नेपालको आयोजनामा पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गरेका हुन् । लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि सङ्घर्ष जारी राखेका छन् । सोही सङ्घर्षको निरन्तरता स्वरूप आईतवार काठमाडौंको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाब दिएका छन् । किसान तथा मजदुरहरूको समेत सहभागिता रहेको उक्त विरोध कार्यक्रममार्फत पीडितहरूले राज्यको ध्यानकर्षण गराउन खोजेका छन् ।
३. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति
नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ ।
४. ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नेपाल सरकारले सम्पती शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई समेत यसको कानूनी क्षेत्राधिकारभित्र समेटेपछि एआइएनले यो पहलकदमी लिएको हो । सामाजिक संघसंस्थाहरूलाई दर्ता तथा आवद्धता दिने निकायहरूबाट आवश्यक कानूनी अभ्यास र नियमनका मापदण्डहरू तय भइरहेको परिप्रेक्ष्यमा सरोकारवालाहरूलाई नीतिगत स्पष्टता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको एआइएनले बताएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि तथा प्राविधिक क्षेत्रका विज्ञहरूले सम्पती शुद्धीकरण, आतङ्ककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणका सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराउनु भयो ।
५. कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित
पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ । अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिनुभएको थियो । राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् । १० दिनसम्म पनि यातायात सुचारु हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सडक खुलाउन माग गरेका छन् ।
६. कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले उक्त विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । भारत सरकारको करिव १ करोड ९० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ । भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने यो कञ्चनपुर जिल्लाकै ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख जोशी तथा अन्य स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ पूर्वाधार निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि उपयुक्त सिकाइ वातावरण तयार हुने र यसले समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो ।
७. ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ । पिपलडाँडा–हायूटार–रामपुर सडक कालोपत्रे भएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आएको छ । सहज यातायातको पहुँचले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका सम्भावनालाई नयाँ उचाई दिएको छ । विगतका समयमा यहाँ नुनदेखि सुनसम्मका सामान पिठ्युँमा बोकेर गाउँ पु¥याउनुपर्ने बाध्यता थियो । वर्षायाम लागेपछि सडक अवरुद्ध हुँदा गाउँ र सदरमुकामबीचको सम्पर्क नै टुट्ने अवस्था रहन्थ्यो । विशेषगरी बीपी राजमार्गबाट घ्याङलेख गाउँपालिका भवनसम्म जोड्ने मुख्य सडक नै कच्ची, साँघुरो र अत्यन्तै दुर्गम भएकाले गाउँपालिका पुग्न स्थानीयले निकै सास्ती व्यहोर्नुपथ्र्यो । सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधिसमेत वर्षायाममा आवतजावत गर्न कठिनाइमा पर्ने गर्दथे ।
८. इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको दाबी गर्नुभयो । राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ कि समय बित्दै जाँदा उनीहरू थप गम्भीर बन्दै गएका छन् । हामी के हुन्छ हेर्नेछौँ ।’
उहाँले अमेरिकासँग दुईवटा विकल्प रहेको उल्लेख गर्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गर्नुभयो । उहाँले अगाडि थप्नुभयो, ‘हामी सैन्य रूपमा पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा छौँ, तर वार्ता जारी रहेकाले यसबाट के परिणाम निस्कन्छ भन्नेमा हाम्रो ध्यान छ । मलाई लाग्छ उनीहरू निकै गम्भीर छन् र उनीहरू गम्भीर हुनु पनि पर्छ ।’
९.टर्कीका मुख्य विपक्षी नेता ओजगुर ओजेलद्वारा राजीनामा, नयाँ राजनीतिक दल घोषणा
टर्कीको मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपल्स पार्टी’ (सीएचपी) का नेता ओजगुर ओजेलले पदबाट राजीनामा दिँदै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । ओजेलसँगै पार्टीका ९० जना सांसदहरूले पनि सामूहिक राजीनामा दिएका छन्, जसलाई टर्कीको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तनका रूपमा हेरिएको छ । स्थानीय सञ्चारमाध्यम हुर्रियतकाअनुसार ओजेलले एनी पार्टी नामक नयाँ राजनीतिक अभियानको शुरुवात गर्न लागेका हुन् । कुल ९१ जना सांसदहरूले टर्कीको ई–गभर्नमेन्ट प्रणालीमार्फत आफ्नो राजीनामा बुझाएका छन् । कानूनी प्रक्रियाहरू पूरा भएपछि यी राजीनामाहरू आधिकारिक रूपमा लागू हुनेछन् । सांसदहरूको यो ठूलो बहिर्गमनसँगै टर्कीको संसदमा सीएचपीको प्रतिनिधित्व घटेर ४४ सिटमा सिमित हुनेछ ।
१०. पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार
पूर्वी इण्डोनेसियाको तोमिनी खाडीमा बेपत्ता भएको एक स्पिडबोटमा सवार ११ जना युरोपेली पर्यटक र एक चालक दलका सदस्यको सकुशल उद्धार गरिएको छ । शनिवार अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरूलाई गोरोन्तालो प्रान्तको समुद्री क्षेत्रबाट फेला पारिएको हो । गोरोन्तालो खोज तथा उद्धार कार्यालयका प्रमुख हेरियान्तोले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार संयुक्त खोज तथा उद्धार टोलीले उनीहरूलाई तोमिनी खाडीबाट उद्धार गरी मध्य सुलावेसीको तोजो उना–उना रिजेन्सी पु¥याएको छ । सो दुर्घटनामा स्पिडबोटका क्याप्टेन भने अझै बेपत्ता रहेका छन् । उनको खोजीका लागि खोजतलास कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् ।
११. भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रवार गुडिरहेको एक सवारी साधनमा ठूलो ढुङ्गा खस्दा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । हिमाञ्चल प्रदेशको चम्बा जिल्लास्थित कढुनाला–राहुली क्षेत्र नजिकै सो दुर्घटना भएको हो । पहाडबाट खसेको ढुङ्गाले थिच्दा सवारी साधनको पछाडिको भागमा आगलागी भएको थियो । दुर्घटनाग्रस्त सवारी साधनमा १५ जना सवार रहेको बताइएको छ । घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाका पीडितहरू स्थानीय बासिन्दा रहेका छन् । घटनालगत्तै स्थानीय विपद् व्यवस्थापन टोलीले घटनास्थल पुगेर सडक मर्मत तथा अवरोध हटाउन केही समय यातायात बन्द गरेको थियो ।
१२. वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
प्यालेस्टिनी गाउँ टेल नजिकै भएको एक घातक घटनापछि इजरायली रक्षा बल (आईडीएफ) ले वेस्ट बैंकमा ‘वृहत’ सैन्य कारबाहीको तयारी भइरहेको जानकारी दिएको छ । आईडीएफले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘वृहत आतंकवाद विरोधी परिचालन’ का लागि तयारी भइरहेको जनाएको छ । पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सैनिकहरूको बिदा रद्ध गरिएको छ भने सम्बन्धित क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको सेनाले उल्लेख गरेको छ । इजरायली सेनाकाअनुसार प्यालेस्टिनीहरूले टेल गाउँ नजिकै इजरायली पदयात्रीहरूको एक समूहमाथि आक्रमण गरेका थिए । सो क्रममा आक्रमणकारीहरूले एक सुरक्षाकर्मीको हतियार खोसेर अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा एक इजरायलीको मृत्यु भएको सेनाले दाबी गरेको छ । यसैबीच, प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी ‘वाफा’ ले भने इजरायली बसोवासकर्ताहरूद्वारा गाउँमा गरिएको आक्रमणका क्रममा इजरायली सेनाको कारबाहीमा परी चार जना प्यालेस्टिनी मारिएको रिपोर्ट सार्वजनिक गरेको छ ।
१३. सन् २००९ पछि पहिलोपटक सिरिया पुगेका संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसद्वारा पुनर्निर्माणमा सहयोगको प्रतिवद्धता
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शनिवार सिरियाको राजधानी दमास्कसको औपचारिक भ्रमण गर्नुभएको छ । सन् २००९ यता संयुक्त राष्ट्र संघका कुनैपनि महासचिवले सिरिया भ्रमण गरेको यो पहिलो अवसर हो । यस ऐतिहासिक भ्रमणका क्रममा उहाँले सिरियाको पुनरुत्थान र पुनर्निर्माणका लागि राष्ट्र संघको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सिरियाका विदेश प्रमुख असाद अल–शैबानीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले सिरियाली जनताको साहसको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘सिरियाली जनताले धेरै वर्षसम्म ठूलो कष्ट झेलेका छन्, तैपनि उनीहरूले आफ्नो सहनशीलता, रचनात्मकता र देशप्रतिको अपनत्व गुमाएका छैनन् ।’
१४. सीरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु
मध्य सीरियाको दमास्कस–देइर अल–जोर राजमार्गमा शनिवार दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सीरियाली सरकारी समाचार एजेन्सी (साना) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो । सीरियाको प्रेषण, एम्बुलेन्स तथा आपतकालीन निर्देशनालयका निर्देशक नजिब अल–नासानकाअनुसार यस भीषण दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । दुर्घटना होम्स प्रान्तको पूर्वी ग्रामिण इलाकामा पर्ने अल–सुखना र पाल्मिरा क्षेत्रको बीचमा भएको जनाइएको छ । दुर्घटना लगत्तै सीरियाली रक्षा अधिकारीहरूले घाइते तथा मृतकहरूलाई होम्स सैन्य अस्पताल पु¥याउनका लागि कयौँ हेलिकप्टरहरू परिचालन गरेका थिए । दुर्घटनाको ठोस कारण भने हालसम्म खुल्न सकेको छैन ।
१५. एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग ग¥यो परामर्श
नेपाली काँग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको समीकरणपछि बनेको नयाँ परिस्थितिबारे सातै प्रदेशका नेतासँग परामर्श गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा नेपाली काँग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गर्नुभएको हो । बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनामा सहभागी दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । प्रदेशअनुसार राजनीतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गर्ने उहाँले बताउनु भयो ।
१६. भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताउनुभएको छ । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले मागअनुसार नेपालले विद्युत उत्पादन गर्न नसकेको बताउनुभएको हो । नेपालले करिव ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने गरेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न विद्युत उत्पादनमा वृद्धि गरि निर्यातमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार बंगलादेशले ठूलो परिमाणमा नेपालसंग विद्युतको अपेक्षा गरिरहेको छ । भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत निर्यातको पर्याप्त सम्भावना रहेको उहाँले बताउनु भयो । तर नेपालमा विद्युत उत्पादन विस्तारको गति अत्यन्त सुस्त रहेको उहाँको भनाई छ । अध्यक्ष यादवले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत खरिदमा अनिच्छा देखाएपनि अहिले त्यो परिस्थिति नरहेको बताउनु भयो ।
१७. संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा सडक आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टीको तयारी
प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ । आईतवार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिनुभयो । उहाँकाअनुसार पार्टी केन्द्रिय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिनेछ । उहाँले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्र् शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर रुपमा छलफल भएको पनि बताउनु भयो । अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली काग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहले विदेशीले बोकाइदिएको भारी बोकिरहेको आरोप लगाउनु भयो । उहाँले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij