Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना

नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना


  • 1.4K
    Shares

    नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
    images

    काठमाडौं ।  चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा अघि बढिरहेको नारायणी नदीको तटबन्ध निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। समयमा सम्पन्न हुन नसकेका आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको हो।

    गत वर्ष कात्तिकसम्म भौतिक प्रगति कमजोर रहेका दुई निर्माण आयोजनाको कामले पछिल्लो समय उल्लेख्य गति लिएको छ। सम्झौताअनुसार समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई आयोजनामध्ये चितवनको सिसै–भगेँडी बालुवा क्षेत्रको छ किलोमिटर तटबन्ध गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले यसको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी पुगेको छ।

    कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार असार मसान्तसम्म ९० दशमलव ९३ प्रतिशत काम सम्पन्न भएको छ। ‘असार मसान्तभित्रै सक्ने लक्ष्य थियो। तर पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम प्रभावित भयो,’ उनले भने।

    यस्तै, नारायणी नदीपारि गैँडाकोटको कुसुमघाटदेखि थुम्सीसम्मको तटबन्ध निर्माणको काम पनि ९९ प्रतिशत सम्पन्न भएको सुवेदीले बताए।

    कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन वर्ष छ महिनासम्म ४७ प्रतिशत मात्र सम्पन्न भएको उक्त आयोजना असार मसान्तसम्म आइपुग्दा ९९ प्रतिशतमा पुगेको छ।

    चितवनतर्फको निर्माण कार्यका लागि २०७९ असार १० गते शर्मा–सगुन निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। सोही क्षेत्रका पाँच ठेक्कामध्ये चार ‘प्याकेज’को काम सम्पन्न भइसकेको छ भने सिसै–भगेँडीको काम अन्तिम चरणमा पुगेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ।

    छ किलोमिटर लामो उक्त तटबन्ध ३७ करोड रुपैयाँमा निर्माण सम्झौता गरिएको हो। अहिले ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएसँगै बर्खायाममा आउने बाढीको जोखिम उल्लेख्य रूपमा घटेको प्रमुख सुवेदीले बताए। उनका अनुसार समस्या पहिचान गरी निरन्तर पहल गरिएकै कारण निर्माणले गति लिएको हो।

    गैँडाकोटतर्फको कुसुमघाट–थुम्सी क्षेत्रको करिब पाँच किलोमिटर तटबन्ध निर्माणका लागि २०७९ मंसिर १५ गते सम्झौता भएको थियो। एक अर्ब नौ करोड रुपैयाँ लागतको उक्त आयोजनाको काम अहिले ९९ प्रतिशत सम्पन्न भएको छ।

    कार्यालय प्रमुख सुवेदीका अनुसार यस क्षेत्रमा अहिले दुबोको चपरी राख्ने तथा केही साना काम मात्रै बाँकी छन्।

     

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १७:४१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij