Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मलामी अभावमा गाडिएको शव पाँच दिनपछि बाढीले बगाएर खोलामा पुर्‍यायो

मलामी अभावमा गाडिएको शव पाँच दिनपछि बाढीले बगाएर खोलामा पुर्‍यायो


  • 960
    Shares

    मलामी अभावमा गाडिएको शव पाँच दिनपछि बाढीले बगाएर खोलामा पुर्‍यायो
    images

    काठमाडौं । बैतडीको पाटन नगरपालिका–५ स्याडीखोलामा पाँच दिनअघि गाडिएको एक महिलाको शव बाढीले बगाएर खोलाको किनारमा पुर्‍याएपछि स्थानीय क्षेत्रमा चर्चा भएको छ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शनिबार अपराह्न खोलाको किनारमा फेला परेको शव ६२ वर्षीया लालमती कोलीको हो। उनको साउन ५ गते आफ्नै घरमा मृत्यु भएको थियो।

    आफन्तका अनुसार अन्त्येष्टिका लागि आवश्यक जनशक्ति जुटाउन नसकिएपछि शवलाई परम्पराअनुसार दाहसंस्कार गर्न सम्भव भएन। सामान्य धार्मिक विधि पूरा गरी शव गाडिएको थियो। तर केही दिनपछि परेको अविरल वर्षासँगै आएको बाढीले गाडिएको स्थानबाट शव बगाएर खोलाको किनारमा ल्याएको हो।

    स्थानीय नरेश कोलीका अनुसार गाउँमा कोली समुदायका थोरै परिवार मात्र छन्। अधिकांश रोजगारीका लागि भारतमा रहेकाले अन्त्येष्टिमा सहभागी हुने पर्याप्त मानिस जुटेन। शव बोक्न चार जना मात्रै उपलब्ध भएकाले दाउरा संकलन गर्ने र चिता तयार गर्ने अवस्था नभएको उनले बताए।

    स्थानीयका अनुसार उक्त क्षेत्रमा विभिन्न समुदायको बसोबास भए पनि एकअर्काको अन्त्येष्टि कार्यमा सहभागी हुने सामाजिक चलन कमजोर रहेको छ। यसै कारण आवश्यक सहयोग जुटाउन कठिनाइ भएको उनीहरूको भनाइ छ।

    वडा नम्बर–५ का अध्यक्ष फुनि सिंह बोहराले पनि त्यस क्षेत्रमा विभिन्न समुदायबीच एकअर्काको मलामी जाने प्रचलन न्यून रहेको बताए।

    प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको शव पुनः सुरक्षित स्थानमा गाडिएको छ। घटनाले ग्रामीण क्षेत्रमा जनशक्ति अभावसँगै सामाजिक सहकार्यको कमीबारे पनि प्रश्न उठाएको छ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १७:३३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij