२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सामाजिक सञ्जालमा चर्चित बनेको एक भाइरल भिडियोको प्रस्तुति शैलीलाई रचनात्मक रूपमा प्रयोग गर्दै नेपाल ट्राफिक प्रहरीले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।
भिडियोमार्फत ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देशलाई सरल, आकर्षक र सहज शैलीमा प्रस्तुत गरिएको छ। छोटो र सिर्जनात्मक प्रस्तुति भएका कारण उक्त सामग्रीले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ।
हालै वर्षाका बीच रेनकोट तथा प्लास्टिक ओढेर विद्यालय जाँदै गरेका तीन बालिकाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। उनीहरूको स्वाभाविक हिँडाइ र प्रस्तुति धेरैले रुचाएका थिए।
भाइरल भिडियोमा देखिएका बालिकाहरू रोल्पाको रुन्टीगढी गाउँपालिका–४, तोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती हुन्। उनीहरूमध्ये दुई जना एकै परिवारका सदस्य हुन् भने एक जना छिमेकी हुन्।
ट्राफिक प्रहरीले यही लोकप्रिय शैलीलाई सकारात्मक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा उपयोग गर्दै सर्वसाधारणलाई सडकमा जिम्मेवार र सुरक्षित व्यवहार अपनाउन आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij