२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकामा १७ वर्षीय किशोर लजिन थापाको आफ्नै साथीहरूको हातबाट हत्या भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार एउटा आइफोनको लोभले साथीहरूले नै योजनाबद्ध रूपमा उनको ज्यान लिएको खुलेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार साउन १ गते लजिनलाई उनका साथीहरूले जन्मदिन मनाउने भन्दै घरबाट बोलाएका थिए। साँझ उनीहरूसँगै बसेर मदिरा सेवन गरेपछि घर पुर्याइदिने बहानामा लजिनलाई एकान्त स्थानतर्फ लगिएको थियो।
त्यहाँ पुगेपछि उनीहरूले लजिनसँग रहेको आइफोन खोस्ने प्रयास गरेका थिए। प्रतिरोध भएपछि पहिले मुक्का प्रहार गरी बेहोस बनाइएको र त्यसपछि ढुंगाले प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
हत्यापछि घटनालाई लुकाउन आरोपितहरूले शव करिब २५ मिनेट टाढाको खोल्सामा लगेर फालेका थिए। अनुसन्धानका क्रममा उनीहरूले प्रहरीलाई पटक–पटक भ्रामक सूचना दिएका कारण शव फेला पार्न ९ दिन लागेको बताइएको छ। शव भेटिँदा निकै गलिसकेको अवस्थामा रहेको र पोस्टमार्टमका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
मृतक लजिन काठमाडौंमा बसेर कक्षा ११ मा अध्ययन गर्दै आएका थिए। केही दिनअघि मात्रै नागरिकता बनाउन घर आएका बेला उनका ठूलोबुबाले किनिदिएको आइफोन उनीसँग रहेको थियो। प्रहरीका अनुसार साथीहरूले पनि सोही फोन प्रयोग गर्ने र त्यसबाट फोटो खिच्ने गर्थे। यही फोनको लोभ नै हत्याको मुख्य कारण बनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ददी परियार, रेमबहादुर बिक, सुदीप बिक र असिम वन पक्राउ परेका छन्। उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
लजिन हराएको उजुरीपछि प्रहरीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो। अनुसन्धानका लागि प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर र पोलिग्राफ टोलीसमेत परिचालन गरिएको थियो। लामो अनुसन्धानपछि खोल्साबाट शव फेला पारिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij