Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरको २० खबर एकैठाउँमा

आज दिनभरको २० खबर एकैठाउँमा


  • 1.0K
    Shares

    आज दिनभरको २० खबर एकैठाउँमा
    images

    १. सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

    प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ले विरोध प्रदर्शन गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दुरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् । प्रदर्शनका क्रममा अभियानकी सदस्य सुप्रिया नेपालीले मुलुकको दुर्गम क्षेत्रमा सामान्य औषधोपचारको समेत अभाव रहेका बेला सांसदहरूका लागि स्वकीय सचिवको सङ्ख्या बढाउनु नीतिगत रूपमा गलत भएको बताउनु भयो । कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रमा १० रुपैयाँको सिटामोल पाउन गाह्रो भइरहेको अवस्थामा जनताले तिरेको करबाट स्वकीय सचिवका नाममा सुविधा थप्नु न्यायोचित नहुने उहाँको तर्क छ । 

    २. विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ

    विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पस्र्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सो कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका अन्य महत्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कम्पनी नेपाली नागरिकको नाममा दर्ता गरिए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ । 

    ३. रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ

    नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दाबी गर्नुभएको हो । श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकारले गम्भीर घात गरेको उल्लेख गर्नुभयो । नेपालले भारतको भूमि मिचेको भनी संसदमा दिइएका अभिव्यक्तिको रास्वपाका नेताहरूले समर्थन गरेको र त्यसलाई पुष्टि गर्न खोजेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । नेपाली राजनीतिको इतिहासमा यसअघि कहिल्यै यस्तो प्रकृतिको राष्ट्रहित विपरित र समाजलाई विभाजित गर्ने काम नभएको उहाँको भनाइ छ । 

    ४. भीमसेना थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता

    राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औं जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ । शनिवार काठमाडौंको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उहाँको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गर्नुभएको हो । सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो । स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेना थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखवद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताउनु भयो । प्रा.डा. तिमिल्सिनाले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्वपूर्ण हुनसक्ने उल्लेख गर्नुभयो । प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको र आगामी वर्षहरूमा अन्य थप डकुमेन्टहरू पनि सार्वजनिक गर्दै जाने लक्ष्य राखेको छ । 

    ५. पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा

    कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदुषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तिब्र पारेको छ । ‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार बिहीबार राति १८ वटा र शुक्रवार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । विशेषगरी रातको समयमा बन्दुक पड्किएको जस्तो चर्को आवाज निकाल्ने र मोडिफाइड साइलेन्सर प्रयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियानलाई थप प्रभावकारी बनाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीकाअनुसार गत असोज २६ गतेदेखि शुरु भएको यस अभियानअन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकलमाथि कारबाही भइसकेको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई अनिवार्य रूपमा सक्कली स्वरूपमा फर्काउन लगाइएको छ । यसका साथै, यातायात व्यवस्था कार्यालयमार्फत २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ । 

    ६. नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित यस्तो टिप्पणी गर्नुभएको हो । महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप लगाउनु भयो । नयाँ शक्तिहरूको पतन निश्चित भएपनि उनीहरूको असफलतापछि जनमत स्वतः पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ । उहाँले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताउनु भयो । पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

    ७. देशको राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनुभएको छ । शनिवार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताउनु भयो । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, म्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताउनु भयो । 

    ८. चितवनको इच्छाकामनामा ३४ भूमिहीन र अव्यवस्थित बसोवासी परिवारलाई लालपुर्जा वितरण

    चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले एक कार्यक्रमका बीच ती परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो । लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानूनी स्वामित्व प्राप्त गर्न नसकेका स्थानीय बासिन्दाहरू लालपुर्जा पाएसँगै आधिकारिक रूपमा जग्गाधनी बनेका छन् । वर्षौंदेखिको प्रतीक्षापछि जग्गाको स्वामित्व पाएपछि स्थानीय लाभग्राहीहरू उत्साहित देखिएका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण प्रक्रियालाई तिब्रता दिएको छ ।

    ९.घरघरमा तुलसीको बिरुवा रोपियो

    वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाउँदैछन् । यस पर्वमा आज सनातन धर्मावलम्बीहरूले आ–आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपेका छन् । धार्मिक मान्यताअनुसार निर्जला एकादशीका दिन बीउ राखिएको तुलसीको बिरुवालाई आजकै दिन मठमा सार्ने परम्परा रहेको छ । बिहानै स्नान गरी शुद्ध चित्तले मन्त्रोच्चारण गर्दै बिरुवा रोप्ने र विशेष पूजाअर्चना गर्ने श्रद्धालुहरूको घर–घरमा चहलपहल देखिएको छ । आज रोपिएको तुलसीलाई आगामी चार महिनासम्म अर्थात कात्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) सम्म विशेष श्रद्धाका साथ पूजा गर्ने गरिन्छ । आजकै दिनदेखि हिन्दु संस्कृतिमा ‘चतुर्मास’ व्रतको समेत औपचारिक आरम्भ भएको छ । 

    १०. काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडक खण्डको स्तरोन्नति कार्यले तिब्रता पाएको छ । एशियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन यस सडकको पूर्वी खण्डमा हाल धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको हो । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) मार्फत पाँचवटा प्याकेजमा विभाजन गरी ९५ किलोमिटर लामो यस सडकको विस्तार कार्य अघि बढाइएको हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ । पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सितापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक रहेको छ । आयोजनाले दिएको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकडभिट्टा–सीतापुरी) को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ। त्यस्तै, दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ) को प्रगति ४२ प्रतिशत र तेस्रो प्याकेज (मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म) को भौतिक प्रगति १९ प्रतिशत रहेको छ ।

    ११. कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउनुभएको हो । सहसंयोजक नेपालले कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गर्नुभयो । आजको अवस्थामा आइपुग्दा केही धक्का खानुपरेको  तर घोडाबाट लडेपछि जिउको धुलो टक्टक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ कम्युनिष्ट आन्दोलन पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले जेन–जी आन्दोलनका क्रममा आफूहरुको घरमा आगलागी हुँदा महत्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गर्नुभयो । 

    १२. ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’ः प्रहरी महानिरीक्षक कार्की

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सिमित नभई व्यवहारमा चरितार्थ हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र भनेको पटक–पटक सोही शब्द दोहो¥याउनु मात्र नभएको बरु नागरिकहरूले आफ्ना कर्म र पेशामा गौरव महशुस गर्न पाउनु भएको उहाँको भनाइ छ । पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर–सबैले आ–आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने र समाजले उनीहरूको योगदानको कदर गर्नुपर्ने बताउनु भयो । पेशा वा व्यवसायको आधारमा कोही सानो वा ठूलो नहुने उल्लेख गर्दै उहाँले लोकतन्त्रमा सबै प्रकारका कर्मलाई धर्म ठानेर सम्मान गरिनुपर्ने बताउनु भयो ।

    १३. अफ्रिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा विश्व स्वास्थ्य संगठनको प्रतिवद्धता

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकामा बढ्दो स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न र त्यहाँको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने प्रयासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । घानाको अक्रामा सम्पन्न अफ्रिकी युनियन एसेम्बलीको २५ औँ असाधारण सत्रलाई सम्बोधन गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उपलब्ध वैज्ञानिक उपलब्धिहरूलाई उपयोग गर्दै उत्तरदायी र बलियो स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । महानिर्देशक टेड्रोसले केवल रोगको उपचार मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्वास्थ्य संकटका आधारभूत कारकहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्व, गरिबी, गुणस्तरीय शिक्षाको अभाव, असुरक्षित खानेपानी र लैङ्गिक असमानता जस्ता विषयहरूलाई स्वास्थ्य संकटको मुख्य कारणका रूपमा औंल्याउनु भयो । 

    १४. इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा जहाज, कार्गो वा अन्य सम्बन्धित सम्पतीमा हुने कुनैपनि क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी कोषबाट गरिने घोषणा गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भन्नुभएको छ, ‘यस वक्तव्यलाई आधिकारिक जानकारीका रूपमा लिइयोस् कि अब उप्रान्त जहाज, कार्गो वा सम्बन्धित सामग्रीमा हुने कुनैपनि क्षतिको शोधभर्ना अमेरिकाको कब्जा र नियन्त्रणमा रहेको इरानी रकमबाट गरिनेछ ।’

    १५. पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु

    पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा चौकीलाई लक्षित गरी गरिएको आत्मघाती बम विष्फोटमा सुरक्षाकर्मीसहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । सुरक्षा स्रोतकाअनुसार बिहीवार राति ट्याङ्क जिल्लास्थित एक सुरक्षा चौकीमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्काएर विष्फोट गराइएको थियो । विष्फोटमा परी नौ सैनिक, चार प्रहरी र वन विभागका एक कर्मचारीको ज्यान गएको पुष्टि भएको छ । विष्फोटका कारण सुरक्षा चौकी पूर्ण रूपमा ध्वस्त भएको छ । घटनामा २० सैनिक र चार प्रहरी गरी २४ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । शक्तिशाली विष्फोटपछि भग्नावशेषमा तीन सैनिक पुरिएको आशङ्कामा उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । 

    १६. भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु

    विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ । मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा परेका छन् । आधिकारिक तथ्यांकअनुसार आसाममा बाढीका कारण बिहीवारसम्म ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । त्यहाँका ११ जिल्लाका करिब ६ लाख मानिस बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् । भारी वर्षा र बाढीले ठूलो संख्यामा सर्वसाधारणलाई घरबारविहीन बनाएको छ । मनसुन तिब्र भएसँगै आसामका साथै विशेषगरी गुजरात र महाराष्ट्रमा पनि बाढीको जोखिम बढेको छ । सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृष्यहरूमा महाराष्ट्रका सहरी क्षेत्रहरू जलमग्न भएको देखिएको छ, जहाँ सवारी साधनहरू डुबानमा परेका छन् । साथै, सडक तथा पुल जस्ता भौतिक पूर्वाधारहरूमा पनि पूर्ण वा आंशिक रूपमा क्षति पुगेको छ । 

    १७. वेस्ट बैंकमा भएको हिंसात्मक झडपमा चार प्यालेस्टिनी र एक इजरायलीको मृत्यु

    उत्तरी वेस्ट बैंकको नाब्लस शहर नजिकै रहेको ताल क्षेत्रमा शुक्रवार भएको एक हिंसात्मक घटनामा परी चार प्यालेस्टिनी र एक इजरायली नागरिकको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार यस घटनामा अन्य केही व्यक्तिहरू घाइते समेत भएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चारै जना मृतकको शव नाब्लसस्थित रफिदिया सरकारी अस्पतालमा लगिएको जानकारी दिएको छ । अस्पतालमा उपचारका लागि भर्ना गरिएका चार जना घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अनुसार गोली लागेर घाइते भएकाहरूलाई प्राथमिक उपचारपश्चात तत्काल अस्पताल पु¥याइएको थियो । स्थानीय प्यालेस्टिनी स्रोतहरूले इजरायली बसोबासीहरूको एक समूहले ताल क्षेत्रका घरहरूमा आक्रमण गरी अन्धाधुन्ध गोली चलाउँदा मानवीय क्षति भएको दाबी गरेका छन् । 

    १८. यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न एक महिने बारिष्टा तालिम दिईएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडिएस) को समन्वयमा बारिष्टा तालिम दिइएको हो । सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर एक महिने तालिमको समापन समेत गरिएको छ । तामिलमा सहभागीहरुलाई एक कार्यक्रमका बीच एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडी, ब्लु डायमण्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङ र अध्यक्ष उमेश पाण्डे (उमेशा)ले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

    १९. सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा प¥योः सिभिल सहकारी पीडित

    सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पीडित वचतकर्ताले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आफूहरुको सम्पती जोखिममा परेको आरोप लगाएका छन् । पीडितहरुले शनिवार पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतले समेत सहकारी पीडितलाई न्याय नदिएको आरोप लगाएका हुन् । उनीहरुकाअनुसार सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ मिलेर सहकारीको रकम हिनामिना गरेका थिए । दुई हजार भन्दा वचतकर्ताको करिव ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ रकम तामाङ र श्रेष्ठको  मिलेमत्तोमा सिभिल ग्रुपको अरु कम्पनीमा ऋण लगानी गरिएको थियो । उनीहरुले सहकारीको रकम सिभिल होम्समार्फत सहकारी ऐनको व्यवस्था विपरीत काठमाडौंका सिभिल मलमा ५० प्रतिशत शेयर लगानी गरेका थिए । तर सिभिल मल सञ्चालक लाजकाजी गुरुङले सहकारी रकम तिरेनन् । उक्त मलबाट मासिक रूपमा ५ करोड बढी भाडा उठाउने र त्यसको ५० प्रतिशत सिभिल सहकारीको हक हुने गरेको थियो । ऋण असुली गर्न नसकेपछि सहकारी समस्याग्रस्त हुन पुग्यो । 

    २०.२४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    नेपालका २४ जिल्लामा २४ घण्टाको अवधिमा भएका विभिन्न २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते बिहान १० बजे सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा (साउन ८ बिहान १० बजे देखि साउन ९ बिहान १० बजेसम्म) सर्पदंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विष्फोटबाट १ जना गरी कुल ६ जनाले ज्यान गुमाएका हुन् ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :श्रावण ९ २०८३ शनिवार - १९:२७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij