२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले नेपालको वर्तमान अवस्था नवउपनिवेशिक रहेको दाबी गरेका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले दलाल पुँजीवादी व्यवस्थाले अन्ततः नवउपनिवेशिक अवस्था सिर्जना गर्ने बताएका हुन्।
ओलीले विगतमा आफूहरू सरकारमा जाँदा सेना, प्रहरी, अदालत र कर्मचारीतन्त्र पुरानै संरचनामा रहेको उल्लेख गर्दै अहिलेको राजनीतिक अवस्थामाथि प्रश्न उठाए।
उनले भने, “सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र उही राखेर हामी विगतमा सरकारमा गएका थियौँ। अहिले साम्राज्यवादले नेपालको सेना कब्जा गरेर रवि र बालेन (रास्वपा) को मुखौटा लगाएर सरकार अपदस्त गर्यो, जसका कारण राष्ट्रिय स्वाधीनताको प्रश्न अगाडि आएको छ।”
ओलीले वर्तमान परिस्थितिमा सबै पक्षलाई समेट्ने लुज फोरम निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनका अनुसार देशभक्त वामपन्थी शक्तिहरू एकजुट भएर राजनीतिक सम्मेलनमार्फत संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने आवश्यकता छ। उनले बालेन सरकारविरुद्ध वैकल्पिक स्वाधीन संयुक्त सरकार निर्माणको पहल गर्नुपर्ने धारणा समेत राखे।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको वर्तमान राजनीतिक अवस्था र वामपन्थी आन्दोलनको भूमिकाबारे आ–आफ्ना धारणा राखेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij