२०८३ आश्विन २ गते शुक्रवार
बाजुराको बडिमालिका नगरपालिका-९ मा गएराति आएको बाढीले बस्ती नै जोखिममा परेपछि १३ परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।
सेलागाड खोला र बाउली खोलाको दोभानबाट बाढी बस्तीमा प्रवेश गरेपछि स्थानीय प्रशासन, प्रहरी र बासिन्दाको सक्रियतामा जोखिममा रहेका परिवारलाई घरका आवश्यक सामानसहित उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार उद्धार गरिएका परिवारलाई हाल नजिकैका सुरक्षित घरमा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको छ।
प्रहरीका अनुसार उद्धार गरिएका १३ घरमध्ये तीन घर अझै पनि बाढीको उच्च जोखिममा छन्। लगातार वर्षा भइरहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच, अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका दुई स्थानमा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन डोजर परिचालनसहित आवश्यक प्रयास भइरहेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका १०० भन्दा बढी गाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्। प्रशासनले वर्षायामभर सतर्कता अपनाउन र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij