२०८३ आश्विन १ गते बिहिवार
१. सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई तमासा देखाउन छाडेर जनताका समस्याप्रति संवेदनशील र जिम्मेवार हुन आग्रह गर्नुभएको छ । प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा बढ्दै गएको आत्महत्याको प्रवृत्ति र नागरिकले भोगिरहेका पीडाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभएको हो । उहाँले सरकारले सञ्चार गृह र राजनीतिक दलका नेताहरूको घर अगाडि गाडी तेस्र्याएर शक्ति प्रदर्शन गर्ने जस्ता अपरिपक्व कार्य गर्न नहुने टिप्पणी गर्नुभयो । सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै नेता नेपालले नयाँ सरकारलाई काम गर्न र सिक्नका लागि १०० दिनको समय दिइएको तर बिहानीले दिनको सङ्केत गर्छ भनेझैँ सरकारको शुरुवाती लक्षणहरू उत्साहजनक नदेखिएको स्पष्ट पार्नुभयो । आफूहरू अहिले सरकार ढाल्ने खेलमा नरहेको प्रष्ट पार्दै उहाँले प्रतिपक्षका रूपमा सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । यद्यपि, उहाँले राष्ट्रिय हित विपरितका कार्य नगर्न सरकारलाई सचेत गराउनु भयो ।
२. संविधान लिक बाहिर छः वरिष्ठ अधिवक्ता भट्टराई
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधानको रक्षाका लागि राजनीतिक दलहरूले साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिनुभएको छ । ४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले मुलुकको लोकतान्त्रिक प्रणाली र संवैधानिक अभ्यासमा देखिएका चुनौतीहरूबारे गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले संविधान सही मार्गमा कार्यान्वयन नभइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । भट्टराईले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने बाध्यात्मक व्यवस्था भए पनि हाल प्रधानमन्त्री र संसदबीचको सम्बन्ध टुटेको टिप्पणी गर्नुभयो । सरकारले अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिको आलोचना गर्दै उहाँले यसलाई ‘अध्यादेशको दुरुपयोग’ को संज्ञा दिनुभयो ।
३. राजनीति सत्ताको प्रतिस्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिको परिभाषा र परिचय बदल्नुपर्ने बताउनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले राजनीति केवल शक्ति र सत्ता प्राप्तिको प्रतिष्पर्धा मात्र नभएको स्पष्ट पार्नुभएको हो । सभापति थापाले राजनीतिको वास्तविक अर्थ जनसेवा र सामाजिक रूपान्तरणसँग जोडिनुपर्ने बताउनु भयो । उहाँले भत्केका विद्यालय बनाउनु, लागुपदार्थको दुव्र्यसनमा फसेका युवाहरूलाई सही मार्गमा ल्याउनु, किसानलाई मल र उत्पादनको उचित मूल्य दिलाउनु तथा वन, नदी र पर्यावरणको संरक्षण गर्नु नै वास्तविक राजनीति भएको बताउनु भयो । वीपी कोईरालाका विचार र आदर्शको स्मरण गर्दै उहाँले नेपाली काँग्रेस एउटा निर्वाचनको हार वा जितबाट नआत्तिने बताउनु भयो । निर्वाचन जित्ने नाममा आफ्नो आस्था र सिद्धान्तसँग सम्झौता गरेर गरिने गठबन्धनको राजनीतिले काँग्रेसको मौलिक पहिचानलाई कमजोर बनाउने उहाँको तर्क छ ।
४. मूल्य र मान्यतामा आधारित राजनीति आवश्यक छः वरिष्ठ अधिवक्ता अधिकारी
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले मुलुकमा नातावाद र आफन्तवादको सट्टा मूल्य र मान्यतामा आधारित राजनीतिको आवश्यकता रहेको बताउनुभएको छ । ४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन खर्चको प्रसङ्ग उल्लेख गर्दै अधिकारीले मुलुकको कुल बजेटको तुलनामा राज्यले गर्ने निर्वाचन खर्च ठूलो नभएको तर्क गर्नुभयो । हालको वार्षिक २१ खर्ब रुपैयाँको बजेटलाई आधार मान्दा पाँच वर्षको अवधिमा १०० खर्ब रुपैयाँभन्दा बढी खर्च हुने र त्यसको तुलनामा निर्वाचनमा हुने खर्च प्रतिशतका हिसावले न्युन हुने उहाँले बताउनु भयो । यद्यपि, निर्वाचनका क्रममा उम्मेदवारहरूले व्यक्तिगत रूपमा गर्ने खर्च अस्वाभाविक रूपमा बढ्नु मुख्य चुनौती भएको उहाँको भनाइ छ ।
५. मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको छः माधव नेपाल
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको बताउनुभएको छ । बिहीवार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय राजनीति सकारात्मक दिशामा अगाडि नबढेको र मुलुक संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गर्नुभएको हो । नेता नेपालले अहिलेको चुनौतीपूर्ण समयमा आफ्नो पार्टीको काँधमा गम्भीर जिम्मेवारी आएको उल्लेख गर्दै देशको अस्तित्व र सार्वभौमसत्तामाथि नै प्रश्न उठ्न थालेको बताउनु भयो । उहाँले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति कायम रहनेमा आशंका व्यक्त गर्दै नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा रहेकोतर्फ सचेत गराउनु भयो । विश्वका विभिन्न देशमा भएका राजनीतिक द्वन्द्व र शक्ति राष्ट्रहरूको चलखेलका उदाहरण दिँदै उहाँले इरान र युक्रेन जस्ता मुलुकका घटनाक्रमले चिन्तित बनाएको र कतै नेपाल पनि विदेशीहरूको क्रीडास्थल त बन्ने होइन भन्ने त्रास फैलिएको बताउनु भयो ।
६. मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी
सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) मा सरकारले सिलबन्दी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थामा छापा मारी कार्यालय सिल गरेको हो । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी प्रचलित मापदण्ड विपरित सीप प्रमाणीकरणको प्रमाणपत्र उपलब्ध गराउने गरेको भन्दै प्राप्त गुनासोका आधारमा उक्त टोलीले आकस्मिक निरीक्षण गरेको थियो । अनुगमनका क्रममा संस्थाले प्रचलित कानून र शर्तहरूको गम्भीर उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ ।
७. भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आम जनता र ‘भुइँ मान्छे’का समस्यासँग जोड्दै नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले वीपी कोईरालाको समयमा जस्तै काँग्रेसलाई सबै वर्ग र समुदायको साझा अभियानका रूपमा विकसित गर्नुपर्ने बताउनुभएको हो । महामन्त्री पौडेलले वीपी कोईरालाको नेतृत्वमा काँग्रेसले समाजका हरेक मुद्दालाई स्पष्ट रूपमा बोकेको स्मरण गर्नुभयो । परिवर्तित परिस्थितिमा काँग्रेसले नयाँ संकल्प र अभियानका साथ अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीलाई सिर्जनात्मक र संगठित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । महामन्त्री पौडेलले नेपाली काँग्रेसको सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिनुभयो ।
८. बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । बिहीवार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले वर्तमान सरकार र प्रधानमन्त्री स्वयंले नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिएको उल्लेख गर्दै व्यक्तिगत चिनजान वा पहुँचका आधारमा नभई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताउनुभएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।
९.फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा
पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे÷लापसे) सम्बन्धी विशेष जाँच अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित उक्त अभियानका क्रममा ३२ जना डुंगा चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।
१०. प्रणालीगत सुधार र प्रविधिमैत्री प्रशासनबाट मात्रै अर्थतन्त्रको कायापलट सम्भव छः अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
बिहीवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिनुभएको हो । अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बीउ पुँजीका रूपमा गरिने लगानीले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजश्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘स्वेच्छिक कर अनुपालन’को अवधारणालाई जोड दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
११. नेपाली काँग्रेसले शुरु ग¥यो ‘एनसी फर एनसी’ अभियान
नेपाली काँग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ । बिहीवार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो । सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’ को घोषणा गर्दै ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताउनु भयो । उहाँले यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सिमित नभई नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पार्नुभयो । अभियानको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सांगठनिक तयारीको चरण रहने जानकारी दिनुभयो । उहाँकाअनुसार भदौ २४ गते वीपी जयन्तीको अवसरमा भव्य समारोह आयोजना गरिनेछ । सोही दिन नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको छ ।
१२. त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा
त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
१३. ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले ज्येष्ठ नागरिकको हेरचाह र अधिकार प्रत्याभुतिका लागि सरकारले अलग्गै संरचना बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । ज्येष्ठ नागरिकका विषयमा राजधानी काठमाडौंमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कानूनी र संवैधानिक प्रावधान मात्र पर्याप्त नभएको बताउनु भयो । सरकारको स्पष्ट नीति तथा कार्यक्रम, बजेटसहितको कार्यालय, जनशक्ति र अनुगमन हुने ठोस संरचनात्मक व्यवस्था नै गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । नेपालमा तिब्र गतिमा भइरहेको जनसाङ्ख्यिक परिवर्तनलाई ध्यानमा राख्दै राज्यले आफ्नो परम्परागत हेरचाह प्रणालीलाई आधुनिक र एकीकृत ढङ्गले रूपान्तरण गर्नुपर्नेमा उहाँको जोड थियो ।
१४. चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताउनुभएको हो । विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने स्पष्ट पार्नुभयो । विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो ।
१५. काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम
देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि (पूर्वी किनार÷मनोहरा क्षेत्र) खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ । खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तिब्र बनेको छ । जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक (पंक्षी ठोक्किने) को ठूलो जोखिम बढेको छ । विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभावी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पु¥याएको चौतर्फी गुनासो आएपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
१६. काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले बलियो संगठन निर्माण गरी काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउने बताउनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेसलाई समयको माग र कार्यकर्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्ने बताउनुभएको हो । पार्टीको गुम्दै गएको ‘जीवनदायिनी शक्ति’ लाई पुनर्जागृत गर्न विशेष महाधिवेशनमार्फत युवा नेतृत्व चयन गरिएको उहाँको स्पष्टोक्ति छ । नेपाललाई ‘देवभूमि’ को संज्ञा दिँदै घिमिरेले यहाँको जीवनदायिनी शक्ति र ऊर्जा विघटित हुँदै गएको र त्यसलाई संगठित गर्न आवश्यक रहेकाले विशेष महाधिवेशन गरिएको उल्लेख गर्नुभयो ।
१७. काँग्रेसद्वारा निर्वाचन ब्युरो गठनः विधानमार्फत रूपान्तरण र पुस्तान्तरणमा जोड
नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नयाँ विधानले काँग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताउनुभएको छ । ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र यस क्रममा विधानको सफल कार्यान्वयन गर्नु पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको उल्लेख गर्नुभएको हो । उपसभापति भुसालले पार्टीभित्र सभापति गगनकुमार थापाको परिकल्पनाअनुसार ‘इलेक्सन ब्युरो’ टिम गठन भएको जानकारी दिनुभयो । उक्त ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री एवं केन्द्रिय सदस्य जीवन परियार रहनुभएको छ । ब्युरोमा सम्बन्धित विषयका विज्ञ केन्द्रिय सदस्यहरूका साथै प्रविधिसँग जोडिएका युवा पुस्ताका नेताहरूलाई सदस्यका रूपमा समावेश गरिएको उहाँले बताउनु भयो ।
१८. आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन
२००७ को क्रान्तिदेखि २०६२÷६३ को जनआन्दोलन सम्म वीपी कोईराला र गिरिजाप्रसाद कोईरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली काँग्रेस अहिले आफ्नो इतिहासकै गम्भीर मोडमा पुगेको छ । आगामी मङ्सिरमा १५ औँ केन्द्रिय महाधिवेशन गर्ने निर्णय भएपनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दासमेत टुंगोमा पुग्न सकेको छैन । दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतरपक्ष (खड्का÷कोईराला समूह) बीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ ।
विशेष महाधिवेशनपछि संस्थापन इतरपक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेलामार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ । पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ । राजनीतिक विश्लेषकहरूकाअनुसार विशेष महाधिवेशनको जनादेश र रूपान्तरणको नारा दिएर नेतृत्वमा आएका सभापति थापाका लागि १५ औँ महाधिवेशनअघिको यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ ।
१९. अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न समेत तयार रहेको बताउनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे÷नगरेको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री समेत संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक शक्तिशाली निकाय भएपनि पछिल्लो समय संवैधानिक संस्थाहरू प्रभावकारी हुन नसकेको उहाँको टिप्पणी छ । सरकार वा मन्त्रीहरूले बदनियतपूर्वक गर्ने गैरकानूनी कामको छानबिन गर्ने संवैधानिक जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उहाँले संस्थाहरूलाई पङ्गु बनाइनु चिन्ताजनक रहेको बताउनु भयो । थापाले अख्तियारको क्षमता अभिवृद्धि र संरचनागत सुधारका लागि नेपाली काँग्रेसले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
२०. अवैध चुनावी सर्वेक्षण प्रकरणः सोलका मेयरलाई जरिवाना, पद गुम्न सक्ने खतरा
दक्षिण कोरियाको राजधानी सोलका मेयर ओ से–हुनलाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा अदालतले जरिवाना गर्ने फैसला सुनाएको छ । गैरकानूनी चुनावी सर्वेक्षणसँग जोडिएको यस मुद्दामा दोषी ठहर भएसँगै उनको मेयर पद धरापमा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोल केन्द्रिय जिल्ला अदालतले बुधवार मेयर ओलाई १ करोड वन (करिव ६,७६० अमेरिकी डलर) जरिवाना गर्ने फैसला सुनाएको हो । दक्षिण कोरियाली कानूनी प्रावधानअनुसार यदि सर्वोच्च अदालतले तल्लो अदालतको यो फैसलालाई सदर गरेमा उनले आफ्नो मेयर पद गुमाउनुपर्नेछ । अदालतको फैसलाअनुसार मेयर ओले आफ्ना समर्थकको खर्चमा जनमत सर्वेक्षण गराएका थिए । समर्थकद्वारा बेहोरिएको उक्त चुनावी सर्वेक्षणको खर्चलाई अदालतले अवैध राजनीतिक कोषको रूपमा व्याख्या गरेको छ ।
२१. इजरायली सेनाको फिर्तीपछि दक्षिणी लेबनानका शहरहरूमा लेबनानी सेना तैनाथ
इजरायली सेना पछि हटेसँगै लेबनानी सेनाले दक्षिणी लेबनानका सरिफा र जावतार अल–घर्बिया लगायतका शहरहरूमा आफ्नो तैनाथीलाई तिब्रता दिएको छ । महिनौंदेखिको द्वन्द्वपछि इजरायली फौज ती क्षेत्रबाट फिर्ता भएपछि लेबनानी सेनाले सुरक्षा व्यवस्था चुस्त बनाउन र नागरिक नियन्त्रण कायम गर्न आफ्नो उपस्थिति बढाएको हो । मंगलवार ती सहरहरूमा सेनाका चेकपोइन्टहरू र सैन्य सवारी साधनहरू व्यापक रूपमा परिचालन गरिएको देखिएको छ । सैनिकहरूले सडकमा गस्ती गर्नुका साथै सहरका मुख्य प्रवेशद्वारहरूको सुरक्षा गरिरहेका छन् । द्वन्द्वका कारण व्यापक क्षति पुगेको सरिफा शहरमा भग्नावशेष हटाउन र अवरुद्ध सडकहरू पुनः सञ्चालन गर्न डोजरहरू प्रयोग गरिएको छ ।
२२. इरानी सैन्य लक्ष्यहरूमा अमेरिकी सेनाको थप हवाई आक्रमण, ट्रम्प र इरानबीच कडा चेतावनीको आदानप्रदान
अमेरिकी सेनाले बुधवार इरानका सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकॉम) का अनुसार बुधवार साँझ ५ः३० बजेदेखि यी आक्रमणहरू शुरु भएका हुन् । सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै क्षेत्रीय जलक्षेत्रमा आवतजावत गर्ने नागरिक तथा व्यापारिक जहाजहरूमाथि इरानले पु¥याउन सक्ने खतरालाई न्युनिकरण गर्न यो अभियान जारी रहने बताएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा इरानले कुनैपनि जहाजमाथि आक्रमण गरेमा त्यसको बदलामा इरानका भौतिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिनुभएको छ ।
२३. खाडी क्षेत्रमा जारी तनावप्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा संयम अपनाउन आग्रह
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले खाडी क्षेत्रका द्वन्द्वरत पक्षहरूलाई संयम अपनाउन र यस क्षेत्रलाई थप अस्थिर बनाउने गतिविधिहरू नगर्न आग्रह गर्नुभएको छ । इस्लामावादमा भ्रमणमा रहनुभएका इरानी गृहमन्त्री एस्कन्दर मोमेनीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री शरीफले सो आग्रह गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्री शरीफले खाडी क्षेत्रमा पछिल्लो समय बढ्दै गएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै क्षेत्रीय शान्ति र स्थिरताका लागि पाकिस्तानको प्रतिवद्धता दोहो¥याउनु भयो । प्रधानमन्त्री शरीफले यस क्षेत्रको तनाव कम गर्न र सहज वातावरण निर्माणका लागि पाकिस्तानले एक इमानदार र निष्पक्ष मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका जारी राख्ने स्पष्ट पार्नुभयो ।
२४. चीनद्वारा समुद्रबाट ‘ग्राभिटी–१’ रकेटमार्फत नौवटा उपग्रह सफल प्रक्षेपण
चीनले बुधवार पूर्वी चीनको समुन्द्री तटबाट ‘ग्राभिटी–१’ नामक वाहक रकेटको सफल प्रक्षेपण गरेको छ । यस उडान परीक्षण मिसनको सफलतासँगै चीनले अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रकाअनुसार बुधवार बिहान १०ः५४ बजे (बेइजिङ समय) उक्त व्यावसायिक रकेट प्रक्षेपण गरिएको हो । रकेटले आफूसँगै लगेका नौवटा उपग्रहहरूलाई सफलतापूर्वक तिनीहरूको निर्धारित कक्षमा स्थापित गरेको छ । ‘ग्राभिटी–१’ वाहक रकेटले यसअघि सन् २०२४ को जनवरीमा आफ्नो पहिलो उडान भरेको थियो । समुद्रबाट गरिएको यस सफल प्रक्षेपणले चीनको व्यावसायिक अन्तरिक्ष अभियानलाई थप सुदृढ बनाएको छ ।
२५. टर्कीको राजधानी अंकारामा प्रशिक्षण हेलिकप्टर दुर्घटनाः एक पाइलटको मृत्यु, अर्का घाइते
टर्कीको राजधानी अंकारामा बुधवार एक प्रशिक्षण हेलिकप्टर दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । अंकारा गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार ‘रोबिन्सन आर–४४’ मोडेलको उक्त हेलिकप्टर स्थानीय समयअनुसार बिहान १०ः०२ बजे सिन्कान जिल्लाको टेमेली क्षेत्रमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
२६. नर्वेमा चरम दक्षिणपन्थी उग्रवादको बढ्दो जोखिमप्रति प्रधानमन्त्रीको चेतावनी
सन् २०११ जुलाई २२ मा भएको भीषण आतंकवादी आक्रमणको १५ औं स्मृति दिवसका अवसरमा नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरले युवाहरूमा बढ्दो चरम दक्षिणपन्थी कट्टरपन्थीको खतराप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । बुधवार आयोजित एक विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री स्टोरले सामाजिक सञ्जाल, आर्टिफिसियल इन्टेलिजेन्स र सामाजिक एक्लोपनले उग्रवादलाई थप मलजल गरिरहेको चेतावनी दिनुभयो । उटोया टापुमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री स्टोरले भन्नुभयो, ‘समयले सबै घाउ निको पार्दैन ।’ सन् २०११ जुलाई २२ मा दक्षिणपन्थी चरमपन्थी एन्डर्स बेहरिङ ब्रेभिकले ओस्लोको सरकारी क्षेत्रमा बम विष्फोट र उटोया टापुको एक समर क्याम्पमा अन्धाधुन्ध गोली प्रहार गर्दा ७७ जनाको मृत्यु भएको थियो ।
२७. पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताउनुभएको छ । बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताउनुभएको हो । उहाँले संस्थापन ईतरका नेताहरुले बुधवार आयोजना गरेको कार्यक्रममा नेताहरुले गरेको भाषणतर्फ लक्षित गर्दै काँग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हावी भएको बताउनु भयो । उहाँले हाल संसदमा पनि सोही अवस्था रहेको बताउनु भयो । संसदमा तर्क र विवेकको अभावका कारण मनपरी निर्णय हुने र पछि त्यसलाई पछि सच्याउने गरिएको उल्लेख गर्नुभयो । नेता आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाब नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्ने बताउनु भयो ।
२८. माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो–‘सरकार भेट्न पाइएन’
द्वन्द्वपीडितहरूले विश्वसनीय, पारदर्शी र पीडितमैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन माग गर्दै प्रर्दशन गरेका छन् । द्वन्द्वपीडितहरूले बिहीवार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आम द्वन्द्वपीडित समुदायले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले पीडितको अर्थपूर्ण सहभागिता बिना गठन गरिने आयोगले संक्रमणकालीन न्यायको उद्देश्य पूरा गर्न नसक्ने भएकोले पीडितहरुलाई अनिवार्य सहभागी गराउन माग गरेका छन् । उनीहरूले आयोग गठन गर्न अगाडी पीडितसँग परामर्श गर्न, योग्य तथा निष्पक्ष आयुक्त नियुक्त गर्न र वर्षौंदेखि अल्झिएको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकारसँग आग्रह गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंले संक्रमणकालीन न्यायलाई २० वर्षसम्म अल्झाइँदा मुलुक दण्डहीनताको चक्रमा फसेको बताउनु भयो ।
२९. वीपी विचार व्रह्माण्डीय हो, कसैले कम्पनी रजिष्टारमा दर्ता गराएको सामान होइनः विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाको विचार व्रह्माण्डीय विचार भएको बताउनुभएको छ । बिहीवार ४४ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीपीको विचारमा कसैको ट्रेडमार्क नलाग्ने बताउनु भयो । उहाँले वीपीको रगत आफूहरुसँग नरहेपनि वीपीको विचार, आदर्श र सिद्धान्त रहेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेसको वर्तमान नेतृत्वले वीपीको विचारलाई विश्वरभर फैलाउने बताउनु भयो । गौतम बुद्धपछि विश्वले चिन्ने दर्शनका रुपमा वीपी कोईरालाका विचार र सिद्धान्तलाई स्थापित गर्ने उहाँको दाबी छ । उहाँले वीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै बदलिएको समयअनुसार देशलाई अघि बढाउने संकल्प गर्न काँग्रेसका नेता–कार्यकर्तालाई आह्वान समेत गर्नुभयो ।
३०. सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता ढिला तिरेपनि अनुदान नकट्ने
सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ जारी गरी कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ मा केही दफाहरु संशोधन गरी नयाँ व्यवस्था थप गरेको छ । संशोधित कार्यविधिमा विशेष परिस्थितिका कारण किस्ता ढिला तिरेका ऋणीलाई पनि अनुदानबाट वञ्चित नहुने व्यवस्था गरिएको छ । अब कुनै ऋणीले परिस्थितिजन्य कारणले कुनै त्रैमासिकमा तिर्नुपर्ने किस्ता समयमै भुक्तानी गर्न नसकेमा अर्को त्रैमासिकमा बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा ब्याज अनुदान निरन्तर पाउने छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले ढिलाइको कारण र कर्जाको सदुपयोग भएको यकिन गर्नुपर्नेछ ।
३१. जैविक कृषिको प्रवद्र्धन र मलमा अनुदान दिन सरकार सकारात्मक
प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवद्र्धन, उत्पादन तथा निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको नेपाल अग्र्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै जानकारी दिनुभएको हो । उहाँकाअनुसार प्रधानमन्त्री साहले जैविक कृषिको उत्पादन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यवसायीहरुसँग छलफल गर्नुभएको हो । भेटका क्रममा आफूहरुले जैविक कृषि प्रवद्र्धनका लागि मलमा अनुदान दिनुपर्ने माग राखेको उक्त माग सम्बोधन गर्न प्रधानमन्त्री एकदमै सकारात्मक रहेको बताउनु भयो ।
३२. नारायणकाजीको आरोप–‘सरकारको कार्यशैलीको कारण राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्र खतरामा प¥यो’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा हिँडेको भन्दै चर्को आलोचना गर्नुभयो । उहाँले संविधान निर्माणमा भुमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी पनि गर्नुभयो ।
३३. प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको सन्दर्भमा देखिएका अस्पष्टतालाई हटाएर स्पष्ट ढंगले सरकार सञ्चालन गरिने बताउनु भयो । नेपाली काँग्रेस र नेकपा (एमाले) प्रदेश सरकारहरुमा सत्ता साझेदारी टुट्ने बहस भइरहेको बेला अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्यको तयारी भएपछि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । अन्य प्रदेशहरुमा पनि कम्युनिष्ट दलहरुको गठबन्धनको सरकार बन्ने देखिएको छ ।
३४. लोकतन्त्र ‘अपहरित’ भएको छ, पुनःस्थापना आवश्यकः ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताउनु भयो । उहाँले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुनसक्ने बताउनु भयो । उहाँले विभिन्न देशमा नियमित चुनाव भएपनि लोकतन्त्र कमजोर वा अपहरित अवस्थामा रहेको उल्लेख गर्दै नेपाल समेत त्यस्तै अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले संविधान संशोधन नभई संविधानको रक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनु भयो । उहाँले गत वर्षको भदौमा भएको जेन–जी आन्दोलनलाई हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक ढंगबाट फालिएको टिप्पणी गर्नुभयो ।
३५. वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीवार पनि आन्दोलन जारी राखेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रुपमा जारी राख्ने उनीहरुको चेतावनी छ । सुकुम्बासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुम्बासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । सरकार भूमि भएका र नभएका नागरिकको छानविन गरेर मात्र सुकुम्बासी बस्ति हटाउनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ छ । उहाँले आफूहरुको वैकिल्पक व्यवस्थापन नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी समेत दिनुभयो ।
३६. शैक्षिक परामर्श व्यवसायीसँग मन्त्री पोखरेलले भने–‘शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटीहरु सच्याउँछौँ’
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका व्यवसायीहरूलाई ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ संशोधन गर्ने आश्वासन दिनुभएको छ । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकलाई यस्तो आवश्वासन दिनुभएको हो । कन्सल्टेन्सी सञ्चालकहरु सरकारले हालै ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा यारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ को विरोध गर्दै छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले नियमावलीका केही व्यवस्था व्यवसायी, विद्यार्थी र अभिभावकको हितविपरीत रहेकोले संशोधनको विषयमा मन्त्री पोखरेलसँग छलफल भएको बताउनु भयो । उहाँकाअनुसार मन्त्री पोखरेलले व्यवसायीका सुधारका आधारमा नियमावली संशोधन गरिने जवाफ दिनुभएको छ ।
३७.सरकारले दलहरुबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौंः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलहरुमाथि प्रतिशोधपूर्ण आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले आफूमाथि प्रतिशोध साँधेर पूर्वाग्रहपूर्ण व्यवहार गरेको आरोप लगाउनु भयो । उहाँले मुद्दा चलाउने आधारबिना आफूलाई १५ दिनसम्म हिरासतमा राखेदेखि राजनीतिक प्रतिशोधको श्रृंखला नरोकिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले दलहरुलाई परामर्शबाट बाहिर राख्ने, अनादर गर्ने, कुप्रचार गर्ने र झुटा आरोप लगाउने कार्य गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिवादमा उत्रिनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij