Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१३४ देशसँग नेपालको व्यापार घाटा, कुल घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ

१३४ देशसँग नेपालको व्यापार घाटा, कुल घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ


  • 1.0K
    Shares

    १३४ देशसँग नेपालको व्यापार घाटा, कुल घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ
    images

    काठमाडौं । आर्थिक वर्ष २०८२\८३ मा नेपालले अधिकांश देशसँग व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले १३४ देशसँग व्यापार घाटा बेहोरेको हो।

    तथ्यांकअनुसार नेपालले यो अवधिमा जम्मा २८ वटा देशसँग मात्रै व्यापार नाफा गर्न सकेको छ। समग्रमा नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

    गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने निर्यात भने ३ खर्ब १५ अर्ब रुपैयाँ बराबर मात्रै गर्न सकेको छ।

    नेपालको सबैभन्दा ठूलो व्यापार घाटा छिमेकी मुलुक भारतसँग रहेको छ। भारतबाट १२ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट २ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको छ। यसरी भारतसँग नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

    त्यस्तै, चीनसँग नेपालको व्यापार घाटा ४ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ। चीनबाट ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने १ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ।

    छिमेकी मुलुकपछि नेपालले सबैभन्दा धेरै व्यापार घाटा अर्जेन्टिनासँग व्यहोरेको छ। अर्जेन्टिनाबाट १ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर मात्र भएको छ।

    यस्तै, संयुक्त अरब इमिरेट्स ९यूएई० सँग ५० अर्ब ३२ करोड, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड, थाइल्यान्डसँग १८ अर्ब ३२ करोड, अष्ट्रेलियासँग १८ अर्ब २६ करोड, ब्राजिलसँग १७ अर्ब ७० करोड, मलेसियासँग १५ अर्ब २६ करोड र अमेरिकासँग ११ अर्ब ९४ करोड रुपैयाँ व्यापार घाटा रहेको छ।

    नेपालले व्यापार नाफा गरेका २८ देशमध्ये अधिकांश युरोपेली तथा साना टापु राष्ट्र रहेका छन्। ती देशबाट आयात न्यून भए पनि निर्यात तुलनात्मक रूपमा बढी भएकाले नेपाल नाफामा देखिएको हो।

    नेपालले सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग गरेको छ। डेनमार्कबाट २१ करोड ६२ लाख रुपैयाँ बराबरको आयात हुँदा नेपालले १ अर्ब २ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। जसबाट डेनमार्कसँग नेपाल ८० करोड ४५ लाख रुपैयाँ नाफामा रहेको छ।

    त्यस्तै, नर्वे, रोमानिया, आइसल्याण्डलगायत देशसँग पनि नेपाल व्यापार नाफामा रहेको छ। केही देशहरू जस्तै ग्रेनाडा, फिजी, बहामास, बार्बाडोस, सिरियन अरब रिपब्लिक र एङ्गोलासँग नेपालको आयात शून्य रहेकाले व्यापार पूर्ण रूपमा नेपालको पक्षमा देखिएको छ।

    भन्सार विभागको तथ्यांकले नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी रहेको र सीमित मुलुकसँग ठूलो व्यापार घाटा कायम रहेको देखाएको छ।

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १७:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij