२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताएका छन् । बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताएका हुन्।
उनले संस्थापन ईतरका नेताहरुले बुधवार आयोजना गरेको कार्यक्रममा नेताहरुले गरेको भाषणतर्फ लक्षित गर्दै काँग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हावी भएको बताएका छन् । उनले हाल संसदमा पनि सोही अवस्था रहेको बताएका छन् । संसदमा तर्क र विवेकको अभावका कारण मनपरी निर्णय हुने र पछि त्यसलाई पछि सच्याउने गरिएको उल्लेख गरेका छन् ।
नेता आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाब नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्ने बताएका छन् । राजनीति विगतमा व्यवसायजस्तो बनेर नाफा–घाटाको हिसाबमा चल्ने गरेको उनको भनाई छ । उनले राजनितिलाई निस्वार्थ सेवामा रूपान्तरण गर्नु वर्तमान नेतृत्वको जिम्मेवारी भएको बताएका छन् ।
उनले भने, ‘४४ औँ वीपी स्मृति दिवसको यो पूर्वसन्ध्यामा काठमाडौंभरि कहीँ कतै आयोजना गरिएका धेरै यस्ता डबलिहरु हामीहरुले देख्यौँ । त्यहाँ व्यक्त भएका विचारहरु हामीहरुले कान भरि भरि सुन्यौँ । कति चित्त बुझ्यो, कति बुझेन यो आफ्नो छुट्टै छलफल र बहसको विषय होला । तर कतिपय आदरणीयले बोलेको कतिपय समकालिनले बोल्न नसकेको, आउने पुस्ताले पनि बोल्न मन नगरेको कुराहरु आफूले मानेकोले बोलिदिँदा खेरि अलि मलाई लाग्यो कि समय बिस्तारै तर्क र विवेक समयले भेटाउन सकिराखेको छैन । हराइराखेको छ । अनि मलाई लाग्यो, जब विवेक हराउँछ, त्यो बिस्तारै अहंकारमा परिवर्तित हुँदो रहेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij