२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।
आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३८ कम्पनीको १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड माथिको शेयर कारोबार भएको छ ।
धेरैजसो समूहगत सूचक बढेको छ । व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत बढेको छ। त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७४, फाइनान्स ०.२७, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१२, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.३१, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.६४ प्रतिशत बढे । अन्य ०.०८ तथा लगानी ०.४२ प्रतिशत घटेको छ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै स्नो रिभर्सको १३.७१, एपोलो हाइड्रोपावरको ९.२५, होटल फरेस्ट इनको ७.५१ तथा सोपान फर्मास्युटिकल्सको मूल्य ७.४७ प्रतिशत बढेको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घटेको छ । बुधबारदेखि यस हाइड्रोपावरको संस्थापक, स्थानीय र कर्मचारीको गरी कुल १२ लाख ९ हजार १६९ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । जसले बिहीबारको मूल्यलाई असर पार्यो ।
त्यस्तै बुंगल हाइड्रोपावरको ९.९३, रिलायन्स स्पिनिङ मिल्सको ४.४८ प्रतिशत मूल्यघटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij