२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । एकता एकेडेमी, गोदावरी–१२, ठेचोको आयोजनामा, गोदावरी नगरपालिका–१२ वडा कार्यालय, ललितपुर महानगरपालिका–२४ वडा कार्यालय (धापाखेल) तथा फाइट फर लाइफ नेपालको सहयोगमा र मातृका आई सेन्टरको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम आज भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व एकता एकेडेमीकी प्राचार्य इन्दिरा शर्माले गरेका थिए भने प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन रहैका थिए। कार्यक्रममा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धर, चापागाउँ शाखाकी अध्यक्ष सुनिला खड्गी, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एलका जोन चेयरपर्सन श्री दिलकुमार महर्जन, फाइट फर लाइफ नेपालकी कोषाध्यक्ष सुश्री कृषा महर्जन, सचिव सुश्री सकिना महर्जन, मातृका आई सेन्टरका अस्पताल प्रबन्धक डा. कल्याण ढुंगाना, विशेष अतिथि एम्न् भुगोल शेरचन, एम्न् मणिश्री बज्राचार्य, ललितपुर महानगरपालिका–२४ का वडा अध्यक्ष श्री दिनेश जंग पाण्डे, गोदावरी नगरपालिका–१२ का वडा अध्यक्ष श्री जगत बहादुर महर्जन, एकता एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष श्री प्रकाश बाबु थापा, श्रीमती सबिना मास्के, मातृका आई सेन्टरका प्रतिनिधिहरू, विभिन्न लायन्स क्लबका पदाधिकारीहरू, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा २०० भन्दा बढी अभिभावक, स्थानीयवासी तथा विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण तथा परामर्श प्रदान गरिएको थियो। अनुभवी आँखा विशेषज्ञहरूको टोलीले आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराएको थियो।
आँखा परीक्षणका क्रममा ३३ जना सेवाग्राहीमा मोतिबिन्दुको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको र उनीहरूलाई मातृका आई सेन्टरमार्फत निःशुल्क मोतिबिन्दुको शल्यक्रियाको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा पनि विभिन्न सामाजिक अभियन्ता, अभिभावक, स्थानीयवासी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदान जस्तो जीवनदायी अभियानले कार्यक्रमलाई थप सामाजिक महत्व प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकता एकेडेमीकी प्राचार्य इन्दिरा शर्माले “रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो भन्ने सन्देश दिँदै यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमले विद्यार्थी, अभिभावक तथा समुदायको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, अतिथि, अभिभावक, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे।
प्रमुख अतिथि गजेन्द्र महर्जनले विद्यालय, स्थानीय सरकार तथा सामाजिक संस्थाबीचको सहकार्यबाट समुदायलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रम अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
ललितपुर महानगरपालिका–२४, धापाखेलका वडा अध्यक्ष श्री दिनेश जंग पाण्डेले पनि कार्यक्रमको प्रशंसा गर्दै भने, “यो अत्यन्तै उत्कृष्ट र जनमुखी कार्यक्रम हो। मेरो लागि सबै नागरिक समान हुन्, र जनताको हितका लागि सञ्चालन हुने यस्ता कार्यक्रमहरूमा मेरो पूर्ण सहयोग सधैं रहनेछ।”
कार्यक्रम सफल बनाउन गोदावरी नगरपालिका–१२ वडा कार्यालय, ललितपुर महानगरपालिका–२४ वडा कार्यालय, फाइट फर लाइफ नेपाल, मातृका आई सेन्टर, लायन्स क्लबहरू, सम्पूर्ण विशिष्ट अतिथि, अभिभावक, स्थानीयवासी, शिक्षक, कर्मचारी तथा स्वयंसेवकहरूले पुर्याएको अमूल्य सहयोगप्रति एकता एकेडेमी परिवारले हार्दिक आभार व्यक्त गरेको छ।
विद्यालयले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी जनहितका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै विद्यार्थी तथा समुदायको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।







© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij