२०८३ आश्विन १ गते बिहिवार
१. वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम
नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोईरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ । ललितपुरको युएन पार्कबाट शुरु भएको ५ किलोमिटर दूरीको उक्त दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम भएका छन् । प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेण्डमा पूरा गर्दै पालले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेताहरूलाई नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार र नागेश्वर अहिर छैटौँ हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।
२. लोकतन्त्रको मर्म नबुझ्नेहरु शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरु अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएको छ । बुधवार काठमाडौंमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अर्थमन्त्रीले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने बताउनु भयो । अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ । उहाँले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप समेत लगाउनु भयो ।
३. लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि नेपाली काँग्रेस सम्झौताहीन ढंगले अघि बढ्छः देउवा
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि काँग्रेस सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वीपी कोईरालाको ४४ औँ स्मृति दिवसका अवसरमा देउवाले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । देउवा अहिले उपचारका क्रममा विदेशमा हुनुहुन्छ । देउवाले पठाउनुभएको सन्देश वाचन गर्दै नेता मिन विश्वकर्माले वीपी कोईरालाको मेलमिलापको नीति र जनताको सर्वोच्चताप्रतिको विश्वास आज पनि नेपाली राजनीतिको मुख्य मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गर्नुभयो । वीपी कोईरालाको नेतृत्वबाट राजनीतिक यात्रा शुरु गरेको ६ दशकभन्दा लामो अनुभव स्मरण गर्दै देउवाले लोकतान्त्रिक संस्कार र मूल्य–मान्यता नै आफ्नो राजनीतिको प्रेरणा स्रोत रहेको बताउनु भयो । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै देउवाले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु भयो । फरक विचारप्रति असहिष्णु बन्ने, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग गर्ने र राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उहाँको तर्क छ ।
४. मन्त्रिपरिषद्का निर्णयः विशेष र श्रम अदालतमा अध्यक्ष नियुक्ति तथा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुटको घोषणा
सरकारले विशेष अदालतको रिक्त अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्त गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो । त्यस्तै सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ । सरकारका निर्णय सुनाउँदै सरकाकरा प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुठी संस्थानको रिक्त प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले पर्यटन क्षेत्रको विकास र अन्तर्राष्ट्रिय विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि सरकारले विशेष सहुलियतको घोषणा गरेको छ । जसअन्तर्गत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा २०८५ साल भदौ मसान्तसम्मका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरिएको छ ।
५. जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । वीपी कोईरालाको स्मृति दिवसका अवसरमा बुधवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र वीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले वीपी कोईरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गर्नुभयो । विकासको अवधारणाबारे चर्चा गर्दै उहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो । वीपी कोईरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्दै थापाले ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात गर्नुपर्ने बताउनु भयो । पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली काँग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताउनु भयो ।
६. जटिल राजनीतिक परिस्थितिमा दलहरूबीच सहकार्य र मोर्चाबन्दी आवश्यकः दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । बुधवार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बताउनुभएका हो । उहाँले नेपाली काँग्रेस, मधेस केन्द्रित दल तथा अन्य राजनीतिक शक्तिहरूसँगको सहकार्य नै वर्तमान चुनौतीको समाधान भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको प्रश्न हाल अत्यन्तै पेचिलो र संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै यसको रक्षाका लागि दलहरूबीच साझा धारणा बन्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा विगतमा केही कमी कमजोरी भएको स्वीकार गर्नुभयो ।
७. एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण आगामी भदौ १८ गते
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण आगामी भदौ १८ गते काठमाडौँमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको २३ औं संस्करण भदौ १८ गते हुने भएको हो । यसपल्ट अवार्ड काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवको द ब्लु प्याभिलियनमा आयोजना हुने भएको छ । गत संस्करण पहिलोपल्ट अवार्ड उपत्यकाबाहिर पोखरामा आयोजना भएको थियो । मञ्चले पत्रकार सम्मेलनमा अवार्डको मितिसँगै मुख्य प्रायोजकबारे जानकारी दिएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र मुख्य प्रायोजक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता पुल ४५ लाख बराबरको हो । गोल्छा ग्रुप लगातार १९ औं वर्षसम्म अवार्डमा जोडिएको छ । अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता नवीकरण भइसकेको छ ।
८. ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’ः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ । बुधवार वीपी कोईरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड विना कुनै विश्राम पूरा गरेपछि थापाले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोड्नुभएको हो । यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिनुभएको थियो । काँग्रेस सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गर्नुभएको हो ।
९.‘मिसेस नेपाल वल्र्ड २०२६’ को आवेदन खुला, नयाँ विधा ‘मिसेस नेपाल कस्मो’ थपियो
विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तिकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवेदन खुला भएको र आगामी साउन २३ गतेबाट छनोट प्रक्रिया शुरु हुने जानकारी दिएको हो । सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले यस वर्षबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रूपमा ‘मिसेस कस्मो’ विधालाई पनि समेटेको छ । मिसेस कस्मो म्यानमारको आधिकारिक नेपाली फ्रेन्चाइजका रूपमा यो विधा यसै संस्करणबाट थप गरिएको आयोजकले जनाएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष तथा पेजेन्ट डाइरेक्टर निशुकान्त झाकाअनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी साउन २३ गते दिउँसो साढे १२ बजेदेखि नयाँ बानेश्वरस्थित आर्य इन्टरनेसनल होटलमा हुनेछ ।
११. अमेरिकी सेनाद्वारा इरानमाथि लगातार एघारौं रात आक्रमण
अमेरिकी सेनाले इरानका सैन्य ठेगानाहरूमा लगातार एघारौं रात आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकाम) ले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । सेन्टकॉमका अनुसार अमेरिकी फौजले मङ्गलवार इरानभित्रका विभिन्न सैन्य लक्ष्यहरूलाई निशाना बनाएर आक्रमण शुरु गरेको थियो ।
१२. अल्जेरियामा भीषण डढेलोका कारण ६ जनाको मृत्यु
अल्जेरियाको उत्तरी क्षेत्रमा जारी अत्यधिक गर्मी (हिट वेभ) का कारण फैलिएको भीषण डढेलोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । अल्जेरियाको आन्तरिक मन्त्रालयका अनुसार देशका विभिन्न प्रान्तका वन तथा वनस्पति क्षेत्रमा डढेलो लाग्ने क्रम अझै जारी छ । अल्जेरियाको नागरिक सुरक्षा विभागका प्रवक्ता नसिम बरनाउईले जुलाई महिनाको शुरुदेखि हालसम्म देशभर १ हजार ४६० वटा डढेलोका घटनाहरू रेकर्ड गरिएको जानकारी दिएका छन् । राज्य सञ्चालित रेडियोसँग कुरा गर्दै बरनाउईले नागरिक सुरक्षा टोलीले सेना, वन महानिर्देशनालय, स्थानीय अधिकारी र स्वयंसेवकहरूको समन्वयमा ८५ देखि ९० प्रतिशत डढेलो नियन्त्रणमा लिइसकेको बताए । हाल अन्नाबा, बेजाया, गुएल्मा, एल टार्फ, खेन्चेला, मिला, बुइरा, मेडिया र मास्कारा प्रान्तहरूमा बाँकी रहेका डढेलो निभाउने र आगोलाई थप फैलिन नदिन अग्नि नियन्त्रकहरू सक्रिय रहेको उनले जानकारी दिए ।
१३. कम्बोडियाद्वारा ५० करोड डलर मूल्य बराबरको अवैध लागुऔषध नष्ट
कम्बोडियाले मङ्गलवार ५० करोड अमेरिकी डलर मूल्य बराबरको ५.६२ टन अवैध लागुऔषध र प्रतिवन्धित रसायनहरू नष्ट गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री सार सोखाले दक्षिण कान्डल प्रान्तको पोन्हा लेउ जिल्लामा आयोजित एक विशेष समारोहमा उक्त परिमाणको लागुऔषध जलाइएको जानकारी दिनुभयो । लागुऔषध नष्ट गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोखाले यस कदमले लागुऔषध ओसारपसारमा संलग्नहरूलाई ‘शून्य सहनशीलता’को स्पष्ट सन्देश दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसले लागुऔषधमुक्त कम्बोडिया निर्माण गर्ने सरकारको दीर्घकालीन दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।’
१४. गाजाका भग्नावशेषमा भित्तेचित्रः कलामार्फत आशा र सङ्घर्षको खोजी
गाजा शहरको तेल अल–हवा क्षेत्रमा सिमेन्टका भग्नावशेषहरूमा उभिएर २० वर्षीया प्यालेस्टिनी कलाकार जाना अबु हरबिद एकाग्र भएर चित्र कोर्दैछिन् । युद्धले ध्वस्त बनाएको एक घरको खण्डहरमा उनले प्यालेस्टिनी झण्डा अंकित पाल (टेन्ट) को चित्रसँगै अरबी भाषामा ‘अमल बाकी’ अर्थात ‘आशा बाँकी छ’ भन्ने शब्दहरू कुँदेकी छिन् । इजरायल र हमासबीच जारी युद्धका कारण गाजाका आवासीय क्षेत्रहरू मलबेमा परिणत भएका छन् । तर हरबिद र उनीजस्ता दर्जनौँ कलाकारहरूका लागि यी भग्नावशेषहरू केवल विनाशका अवशेष मात्र होइनन् । उनीहरूले यसलाई आफ्ना स्मृतिहरू जोगाउने, युद्धका कारण विस्थापित भएका परिवारका कथाहरू लिपिबद्ध गर्ने र विनाशका बीच पनि जीवन जीवितै रहन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘क्यानभास’ बनाएका छन् । उत्तरी गाजाको बेत हनुनबाट विस्थापित भई हाल गाजा सहरमा बसोवास गरिरहेकी हरबिदकाअनुसार भग्नावशेषहरूमा चित्र कोर्नु प्यालेस्टिनी जनताले भोगेका दुःख र पीडालाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम हो ।
१५. दक्षिण कोरियाली संसदद्वारा पूर्वराष्ट्रपति युन र उनकी पत्नीविरुद्धको छानबिन अवधि लम्ब्याउने विधेयक पारित
दक्षिण कोरियाको संसदले पूर्व राष्ट्रपति युन सुक–योल र उनकी पत्नी किम क्योन–ही विरुद्ध भइरहेको उच्चस्तरीय स्वतन्त्र अनुसन्धानको म्याद थप गर्ने सम्बन्धी विधेयक मंगलबार पारित गरेको छ । मुख्य विपक्षी डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको नेशनल एसेम्बलीले पूर्व राष्ट्रपति दम्पती संलग्न राज्यद्रोह, देशद्रोह र भ्रष्टाचारका मुद्दाहरूको छानबिन गर्न ल्याइएको ‘व्यापक विशेष काउन्सिल ऐन संशोधन विधेयक’ १७३–० को सर्वसम्मत मतले पारित गरेको हो । सत्तापक्षीय ‘पिपुल पावर पार्टी’ ले मतदान बहिष्कार गर्दै २४ घण्टासम्म जारी राखेको ‘फिलिबस्टर’ (संसदीय अवरोध) लाई बहुमतको आधारमा अन्त्य गरिएपछि उक्त मतदान भएको थियो । दक्षिण कोरियाली कानूनअनुसार ३०० सदस्यीय संसदमा तीन–पाचौं बहुमत प्राप्त भएमा २४ घण्टापछि जारी अवरोधलाई जबरजस्ती अन्त्य गर्न सकिने प्रावधान छ। संसदीय स्वीकृतिका साथै अब स्वतन्त्र अनुसन्धान टोलीले आगामी अगस्ट २३ सम्म आफ्नो छानबिन जारी राख्न पाउनेछ । पूर्वराष्ट्रपति युनमाथि सन् २०२४ डिसेम्बर ३ को राति सैनिक शासन (मार्सल ल) घोषणा गरी राज्यद्रोह गरेको अभियोगमा गत फेब्रुअरीमा जन्मकैदको सजाय सुनाइएको थियो ।
१६. पूर्वी अफगानिस्तानमा बाढीको वितण्डाः २० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता
पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा सोमवार परेको भारी वर्षापछिको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण अन्य ८० जना घाइते भएका छन् भने १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मादले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नुरिस्तानमा बाढीले ठूलो मानवीय क्षति पु¥याएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार प्रान्तीय विपद् व्यवस्थापन विभागको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ र खोजी तथा उद्धार कार्य सुरु गरिएको छ । उद्धार टोलीले मृतकको शव निकाल्ने, घाइतेहरूको उपचारका लागि पहल गर्ने र बेपत्ताहरूको खोजीलाई तिब्रता दिएको छ । हम्मादले क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको र पूर्ण अनुसन्धान तथा मूल्याङ्कन सकिएपछि हताहती र भौतिक क्षतिको अन्तिम तथ्याङ्क सार्वजनिक गरिने बताउनु भयो ।
१७. भारत प्रशासित काश्मीरमा वर्षाजन्य विपद्बाट १६ जनाको मृत्यु, थप वर्षाको चेतावनी
भारत प्रशासित काश्मीरमा पछिल्लो दुई दिनदेखि जारी अविरल वर्षा र त्यसपछिका विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । अधिकारीहरूका अनुसार सोमबार डोडा जिल्लामा ढुङ्गा खस्दा र आकस्मिक बाढीमा परी थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो । यसअघि आईतवार काश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट दक्षिण–पश्चिममा अवस्थित सीमावर्ती जिल्लाहरू पुन्च र राजौरीमा बाढी र पहिरोले व्यापक जनधनको क्षति पुरÞ्याएको थियो । ती क्षेत्रमा आईतवार १२ जनाको मृत्यु भएको थियो भने सात जना अझै बेपत्ता छन् । अविरल वर्षाका कारण राजौरीका होचा भूभागहरू डुबानमा परेका छन् भने दर्जनौं सवारी साधन बाढीले बगाएको छ । यस्तै, पुन्च जिल्लामा वर्षासँगै खसेको पहिरोले आवासीय घरहरूमा ठूलो क्षति पु¥याएको छ । सोमवार बिहानैदेखि पुनः शुरु भएको वर्षाका कारण पुन्च र राजौरी जिल्लामा उद्धार तथा बेपत्ताहरूको खोजी कार्य प्रभावित भएको छ । मध्याह्नसम्म जारी वर्षाका कारण प्रभावित क्षेत्रमा उद्धार टोलीलाई परिचालन गर्न कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।
१८. लाल सागरमा हुथी विद्रोहीको कुनै चुनौती छैनः अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनस्थित सशस्त्र समूह हुथीले हालैका दिनहरूमा लाल सागरमा कुनैपनि चुनौती खडा नगरेको बताउनुभएको छ । मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यदि त्यस्तो कुनै परिस्थिति सिर्जना भए अमेरिकी सेनाले आवश्यक जवाफ दिने स्पष्ट पार्नुभएको हो । राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘अहिलेसम्म त्यस्तो केही भएको छैन। यदि केही भएमा हामी त्यसलाई सम्हाल्नेछौँ। अमेरिका र इरानबीचको द्वन्द्वका समयमा समेत उनीहरूले हामीलाई कुनै समस्या दिएका छैनन् । यदि कुनै समस्या आइपरेमा हामी त्यसको उचित व्यवस्थापन गर्नेछौँ ।’ यसैबीच, हुथी समूहले साउदी अरबका बन्दरगाहहरूसँग व्यापारिक कारोबार गर्ने अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूलाई सैन्य कारबाहीको चेतावनी दिएको छ ।
१९. विद्युतीय र इलेक्ट्रोनिक सामग्रीको माग बढ्दा मलेसियाको निर्यातमा २७.५ प्रतिशतको उच्च वृद्धि
विद्युतीय तथा इलेक्ट्रोनिक (ई एन्ड ई) उत्पादनहरूको विश्वव्यापी मागमा आएको उच्च वृद्धिका कारण सन् २०२६ को पहिलो ६ महिनामा मलेसियाको निर्यात अघिल्लो वर्षको तुलनामा २७.५ प्रतिशतले बढेको छ । मलेसियाको लगानी, व्यापार तथा उद्योग मन्त्रालय (एमआईटीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा कुल ९७१.५९ अर्ब रिंगिट (करिब २३७.५८ अर्ब अमेरिकी डलर) बराबरको निर्यात भएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ई एन्ड ई उत्पादनहरूको निर्यात मूल्यमा मात्रै करिब १४० अर्ब रिंगिटको वृद्धि देखिएको उल्लेख छ । विश्वव्यापी बजारमा प्रविधिको विकास र डिजिटल प्रविधिको बढ्दो प्रयोगका कारण मलेसियाको निर्मित वस्तुहरूको निर्यातमा यो सकारात्मक प्रभाव देखिएको हो । ई एन्ड ई बाहेक पेट्रोलियम उत्पादन, अप्टिकल र वैज्ञानिक उपकरण तथा धातुजन्य उत्पादनको निर्यातमा पनि उल्लेख्य सुधार आएको छ ।
२०. काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत
काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ । महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण शुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो । भवन निर्माण शुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य शुरु भएको हो । हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । भवनको संरचना निर्माण कार्य तिब्र गतिमा अघि बढाइएकोले तोकिएको समय अगाडी नै निर्माण सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । २०८४ कार्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको उहाँले बताउनु भयो ।
२१. काठमाडौं महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने
काठमाडौं महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधवार काठमाडौं महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबीच सम्झौता भएको हो । सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गर्नुभयो । सम्झौतामा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, मानव स्रोत सुदृढीकरण तथा दीर्घकालीन गुरुयोजनामार्फत विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको ‘नमूना विद्यालय’ बनाउने उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महेन्द्र भवन र महानगरबीच भएको सहकार्य विद्यालयको शैक्षिक पुनर्जीवनको ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गर्नुभयो ।
२२. टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरले मंसिर अगाडी नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो । निर्माणाधीन केन्द्रको बुधवार अवलोकनपछि कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाईने बताउनु भयो । उहाँकाअनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने काम भईरहेको छ । यसले प्रदुषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो । यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गर्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइनेछ ।
२३. प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र साहले बुधवार नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडी बढाउने सहमति भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसंग कुरा गर्दै महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिनुभयो । यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्यांकन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उहाँको भनाई छ । उहाँकाअनुसार प्रधानमन्त्री साहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणतर्फ अग्रसर हुने प्रतिवद्धता जनाउनुभएको छ ।
२४. विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता
विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेका छन् । बुधवार विपक्षी दलहरुले सरकारको मनसुनजन्य विपद् व्यवस्थापन पूर्वतयारी कमजोर रहेको आरोप लगाउँदै प्रश्ताव दर्ता गराएका हुन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रुपमा प्रश्ताव दर्ता गराएका हुन् । सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले मनसुन शुरु भइसक्दासमेत सरकारले प्रभावकारी पूर्वतयारी गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले गत वर्ष मनसुनका कारण १ सय ४० भन्दा बढी नागरिकको ज्यान गएको र १४ हजारभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै यस्ता घटनाबाट हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको बताउनु भयो । हाल राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण समेत नेतृत्वविहीन रहेको उल्लेख गर्दै उहाँले विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने आशंका व्यक्त गर्नुभयो ।
२५. सरकारका कदम संघीयता, गणतन्त्र र संविधानको पक्षमा छैनन्ः विमलेन्द्र निधी
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका कदमहरु संघीयता, गणतन्त्र र संविधानलाई समृद्ध बनाउने पक्षमा नरहेको आरोप लगाउनुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो यस्तो आरोप लगाउनुभएको हो । सरकार गठन भएको १ सय दिन बितिसक्दा समेत संघीयता, गणतन्त्र, समावेशिता, लोकतन्त्र र संविधानको प्रभावकारी कार्यान्वयनतर्फ सरकार अग्रसर नभएको उहाँको आरोप छ । उहाँले गत फागुनमा सम्पन्न निर्वाचनमा कुन शक्तिले प्रभाव पा¥यो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने समेत बताउनु भयो । उहाँले रास्वपाको चितवन महाधिवेशनपछि सामाजिक लोकतन्त्रको मुद्दा राष्ट्रिय बहसको केन्द्रमा पुगेको र पार्टीको संस्थापन पक्ष प्रतिष्पर्धामा उत्रिएको टिप्पणी पनि गर्नुभयो । उहाँले पार्टी सभापति थापाले वीपीको विचार प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्रको विचार नेपाली कांग्रेसमा प्रवेश गराउने कार्य गरिरहेको आरोप पनि लगाउनु भयो ।
२६. देशको अवस्था वीपी र गणेशमानको समयभन्दा ‘सयौं गुणा’ खराब छः शेखर कोईराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेस कमजोर हुँदा देशमा अराजकता बढ्ने भन्दै राष्ट्रिय मेलमिलापको शुरुवात काँग्रेसभित्रैबाट गर्नुपर्ने बताउनुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले मुलुकको वर्तमान अवस्था वीपी कोइराला र गशेषमान सिंहको समयको भन्दा सयौँ गुणा खराब अवस्था गुज्रिरहेको टिप्पणी पनि गर्नुभयो । उहाँले राष्ट्रिय मेलमिलापको बहस अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीभित्र सहमति, सहकार्य र एकता कायम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको स्थापना नै निरङ्कुशता अन्त्य गर्नको लागि भएपनि अहिले पार्टीभित्रै हुकुमी शैली बढ्दै गएको तर्क गर्नुभयो । उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसदको प्रभावकारितामाथि समेत प्रश्न उठाउनु भयो । उहाँले सरकार र संसद कसरी चलिरहेको छ ? भन्नेकुरा थाहा पाउन फेसबुक स्टाटस हेर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
२७. प्रधानमन्त्रीलाई दम्भ र अहंकार त्याग्न नेता सिटौलाको चेतावनी
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहंकार र दम्भको राजनीति त्याग्न चेतावनी दिनुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले एक्लै हिँडने राजनीति नगर्न समेत प्रधानमन्त्री साहलाई आग्रह गर्नुभयो । उहाँले जेन–जी आन्दोलनको क्रममा काँग्रेसमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएपनि उक्त घटनाले काँग्रेसको चेतना र ऊर्जा थप बलियो बनाएको बताउनु भयो । उहाँले विशेष महाधिवेशनको नाममा देशभित्रकै विभिन्न शक्तिहरुले काँग्रेसलाई कमजोर बनाएको टिप्पणी पनि गर्नुभयो । उहाँले गत वर्षको भदौ–२४ को रापताप अझै निभिनसकेको भन्दै मुलुकमा अर्को राजनीतिक जागरण आवश्यक रहेको बताउनु भयो ।
२८. काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान
नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो । वीपी स्मृति दिवसको छुट्टै भेला गरेको उक्त पक्षले राष्ट्रिय भेलाको घोषणा गरेको हो । काठमाडौंमा जारी भेलालाई सम्बोधान गर्दै नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने बताउनु भयो । सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा हुने समेत उहाँले जानकारी दिनुभयो । उहाँले पार्टीको १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भएपनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबैले हामीले निर्णय गर्न ढिला ग¥यौं भनेर भन्नुहुन्छ ।
२९. काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत
नेपाली काँग्रेस नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताउनुभएको छ । वीपी स्मृति दिवसको अवसरमा बुधवार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतले पार्टी एकता गर्नको लागि निकै ढिला भइसकेको भन्दै पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेस कमजोर भएको अवस्थामा प्रजातन्त्र समाप्त हुनुका साथै मुलुक दुर्घटनामा जाने खतरा रहेको भन्दै त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताउनु भयो । नेता बस्नेतले नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सति जान दिन नहुने टिप्पणी पनि गर्नुभयो । उहाँले तत्काल राष्ट्रिय भेला आयोजना गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो ।
३०. काँग्रेस इतर पक्षको भेलामा नेता गच्छदारले भने–‘काँग्रेसको आत्मा र भावना यहीँ छ’
नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गर्नुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन आयोग र अदालतले आफू नेतृत्वलाई वैधानिकता दियो भन्दैमा पार्टीमा फरक मत राख्ने नेता र पार्टीको इतिहासलाई सिध्याएर अघि बढ्न नहुनेमा जोड दिनुभयो । उहाँले पार्टी निर्माणको लागि ठुलो त्याग र बलिदान गरेका नेताहरु संस्थापनइतर पक्षसँग रहेको दाबी पनि गर्नुभयो । उहाँले काँग्रेसको आत्मा र भावना आफूहरुसँगै रहेको भन्दै यसलाई नजरअन्दा नगर्न समेत चेतावनी दिनुभयो ।
३१. आन्तरिक कलह समाधान नगरिए काँग्रेस विभाजन हुनसक्छः डा. शशांक कोईराला
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिष्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ । वीपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताउनु भयो । उहाँले लोकतन्त्रका मूल्यमान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सहि दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरु परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता रहेको समेत बताउनुभयो । उहाँले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएपनि त्यसलाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
३२. आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद
नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली काँग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गर्नुभएको छ । बीपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकतावद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले संस्थापन इतर समूहमा रहेका नेता–कार्यकर्ताहरू कसैका ‘लाश र दास’ नभई नेपाली काँग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गर्नुभयो । मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकतावद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उहाँले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भुमिका र अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र संघर्ष गरेका पुराना नेता–कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उहाँको तर्क छ ।
३३. ‘राष्ट्रियता, संविधान र लोकतन्त्र इतिहासकै गम्भीर संकटमा छ’ः पूर्णबहादुर खड्का
नेपाली काँग्रेसका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खड्काले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले सरकारको कार्यशैली अराजकता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाउनु भयो । उहाँले संसदमार्फत पारित भएको विषय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत उल्ट्याउने अभ्यासले संवैधानिक प्रणामीमाथि चुनौती सिर्जना गरेको बताउनु भयो । उहाँले यी सबै कुरालाई गम्भीरतापूर्वक लिएर पार्टीको सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टी सभापति गगनकुमार थापाको इच्छाबिना पार्टी एकता सम्भव नहुने समेत स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकताको लागि आफूहरु तयार नभएको भनि फैल्याएको भ्रममा विश्वास नगर्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij