२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । लोकसेवा आयोगको पदपूर्ति प्रक्रियामा असर पर्ने भन्दै तयारी गरिरहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयको विरोध गरेका छन्। बुधबार माइतीघर मण्डलामा भेला भएका उनीहरूले मुख्यसचिवस्तरीय बैठकको निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले साउन ४ गते बसेको मुख्यसचिवस्तरीय बैठकको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग गरेका छन्। उक्त निर्णयअनुसार कुनै पनि स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग पठाउनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति अनिवार्य गरिएको छ।
यसअघि मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षभर नयाँ दरबन्दी सिर्जना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति आवश्यक पर्ने निर्णय गरेको थियो। २२ बुँदे निर्णयमा अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिसमेत स्वीकृतिपछि मात्रै अघि बढाउने व्यवस्था गरिएको छ।
विद्यार्थीहरूको भनाइमा उक्त निर्णयले लोकसेवा आयोगको नियमित विज्ञापन, रिक्त पदपूर्ति र परीक्षा प्रक्रियामै अनावश्यक ढिलाइ हुने सम्भावना बढाएको छ। त्यसैले निर्णय सच्याउन सरकारसँग उनीहरूले माग गरेका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले निर्णय तत्काल खारेज गर्न, समयमै लोकसेवाको विज्ञापन खुलाउन र पदपूर्ति प्रक्रिया नियमित रूपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij