२०८३ आश्विन १ गते बिहिवार
१. वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अनलाइन उजुरी प्रणाली शुरु, अब घरबाटै उजुरी दिन सकिने
वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलवार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक पोर्टलको औपचारिक शुरुवात गर्नुभएको हो । यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो । विभागमा सिमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितहरूले काठमाडौंमा बस्न र खानका लागि थप खर्च व्यहोर्नुपर्ने अवस्था थियो । अनलाइन प्रणालीको शुरुवातसँगै अब पीडितहरूले काठमाडौं धाउनुपर्ने र विभिन्न निकायमा भौंतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री यादवले बताउनु भयो ।
२. वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पार्नुभएको छ । मंगलवार वैदेशिक रोजगारविभागको अनुगमनका क्रममा सञ्चारमन्त्रीहरुसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताउनुभएको हो । उहाँले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पार्नुभयो । मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्नु उचित नहुने पनि उहाँले बताउनु भयो । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको बताउनु भयो ।
३. वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीलाई न्युनिकरण गर्दै शुन्यमा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । मङ्गलवार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा उहाँले वर्षौंदेखि थन्किएर रहेका उजुरीका फाइलहरूलाई व्यवस्थापन गरी दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री यादवकाअनुसार वि.सं. २०५७ सालदेखि थन्किएर बसेका ४० हजारभन्दा बढी उजुरीका फाइलहरू हालै फेला परेका छन् । दशकौँदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धुलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि बताउनु भयो । यी सबै फाइललाई डिजिटलाइज गरेर गहिरो अनुसन्धान गरी पीडितहरूलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने उहाँले बताउनु भयो । वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन मन्त्रालयले नयाँ डिजिटल प्लेटफर्मको शुरुवात गरेको छ ।
४. वर्षा रोकिएपछि फेवातालमा बढे पर्यटक
केही दिनदेखिको अविरल वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा वाह्य पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ । परम्परागत डुङ्गा सयरसँगै नवप्रवेशी शाहसिक खेल ‘स्ट्यान्ड–अप प्याडल बोर्डिङ’ ले फेवाताललाई झनै गुल्जार बनाएको छ । हप्तादिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरामा बिहानैदेखि मौसम सफा भएको छ । आकाशका बाक्ला र काला बादलहरू पहाडतिर उक्लिएपछि फेवातालको दृश्य अलौकिक र कञ्चन देखिएको छ । रानीवन र सराङकोटको काखमा अवस्थित फेवातालको पानीमा बादलको छायाँ तैरिरहँदा यहाँ पुग्ने जोकोही मन्त्रमुग्ध हुने गरेका छन् । मौसममा सुधार आउनासाथै पोखराको प्रसिद्ध पर्यटकीय क्षेत्र लेकसाइड फुटपाथमा आन्तरिक र वाह्य पर्यटकहरूको बाक्लो चहलपहल शुरु भएको छ ।
५. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरु राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८३÷८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको हो । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शुन्य सहनशीलता’को नीति अङ्गीकार गरेको बताउनु भयो । राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेको उहाँको भनाइ छ । अर्थमन्त्री डा. वाग्लेले मुलुकमा सुशासनको स्पष्ट सोच अघि सारिएको र यसमा कुनैपनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभयो ।
६. पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा श्रृङ्खलावद्ध चोरीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र दुई चिनियाँ नागरिकसहित ९ जना रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोह पोखराका कम्तीमा पाँच वटा ठूला चोरीका घटनामा संलग्न देखिएको छ । पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निसाद, महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव तथा चीनको वन्जाका ३० वर्षीय वेन जी र स्याङडोङका ३७ वर्षीय वाङ लिया इन रहेका छन् । यस्तै, चोरीमा संलग्न तथा सहयोग गर्ने नेपाली नागरिकहरूमा स्याङ्जाका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय खिमबहादुर क्षेत्री (राजु केसी), अर्घाखाँचीका २९ वर्षीय अशोक पोखरेल, पोखरा–१६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल बिक रहेका छन् ।
७. ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि तयार गर्ने भएको छ । विद्यमान अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धि कानूनले ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका दुःख, मानव अधिकारको अभाव जस्ता विषय समेट्न नसक्ने भन्दै विशिष्ट अधिकार प्रत्याभुत गराउन अन्तर्राष्ट्रिय महासन्धि नै बनाउन लागेको बताएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार उच्चआयुक्तको कार्यालयले काठमाडौंमा ज्येष्ठ नागरिकहरूको प्रतिनिधित्व गर्ने नागरिक समाजका संस्थाहरुसँग छलफल गरेर महासन्धिका लागि सुझाव संकलन गरेको छ । संयुक्त राष्ट्र सङ्घले ज्येष्ठ नागरिकहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि निर्माणको प्रक्रिया अघि बढाइरहेका बेला त्यसमा अल्पविकसित तथा दक्षिण एशियाली देशका मुद्दाहरू समावेश गराउन काठमाडौंमा तीन दिने परामर्श कार्यशाला गरिएको हो ।
८. अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल शुरुवात गरेको बताउनुभएको छ । आर्थिक वर्ष २०८३÷८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तिब्रता दिने र यसका प्रतिफलहरू जनतासम्म पु¥याउने बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई एक विशाल जहाजको संज्ञा दिँदै चालु वर्षमा यसलाई नयाँ दिशातर्फ मोड्ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार आगामी दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई गति प्रदान गरिनेछ भने चौथो र पाँचौँ वर्षमा गरिएका सुधारहरूबाट प्राप्त लाभलाई नेपाली जनतामाझ वितरण गरिनेछ । सरकारको पाँच वर्षको स्पष्ट ‘भिजन’ र पाँचवटै बजेटको मूल उद्देश्य यही रहेको उहाँको भनाइ छ । सुशासन सरकारको प्राथमिक कार्यसूची रहेको उल्लेख गर्दै अर्थमन्त्रीले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिलाई कडा रूपमा लागू गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
९.‘मस्को २०२६’ अन्तर्राष्ट्रिय बुद्धिचाल मञ्च सम्पन्न
रुसको राजधानी मस्कोमा सञ्चालित ‘मस्को २०२६’ अन्तर्राष्ट्रिय बुद्धिचाल मञ्च (चेस फोरम) आइतबार सम्पन्न भएको छ । जुलाई २० मा मनाइने विश्व बुद्धिचाल दिवसको अवसर पारेर मस्को खेलकुद विभाग र मस्को चेस फेडरेसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय बुद्धिचाल दिवसलाई विशेष उत्सवका रूपमा मनाउन यो मञ्चको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
१०. अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री बर्नह्यामबीच विभिन्न विषयमा टेलिफोन वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामबीच सोमबार टेलिफोन वार्ता भएको छ । सो क्रममा उनीहरूबीच उत्तर सागरको तेल, व्यापार, सैन्य गठबन्धन र हर्मुज जलसन्धिको सुरक्षा (विस्फोटक पदार्थ हटाउने कार्य) लगायतका महत्वपूर्ण विषयमा छलफल भएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त संवादको जानकारी दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आगामी कार्यदिशाबारे कुराकानी भएको बताउनु भयो । उनीहरूबीच निकट भविष्यमा आपसी चासोका विषयमा भेटवार्ता गर्ने सहमति समेत भएको छ ।
११. इरानमाथि अमेरिकी सेनाको पुनः हवाई आक्रमण, १० दिनदेखि लगातार सैन्य कारबाही जारी
अमेरिकी सेनाले सोमबार इरानमाथि नयाँ चरणको हवाई आक्रमण शुरु गरेको छ । अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) का अनुसार इरानमाथि अमेरिकाले विगत १० दिनदेखि निरन्तर सैन्य कारबाही गर्दै आएको छ । सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार मुख्य कमान्डरको निर्देशनमा सोमवार अपरान्ह ४ बजेबाट नयाँ चरणको प्रहार शुरु गरिएको हो । हर्मज जलडमरूमध्य मा व्यावसायिक जहाजहरूमाथि हुने आक्रमण रोक्न र इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको सेन्टकमले उल्लेख गरेको छ । यसअघि सोमवार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मारिएका अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
१२. मध्यस्थकर्ताहरूबाट प्राप्त प्रश्ताव र कुटनीतिक संवादप्रति इरान सकारात्मक
इरान र संयुक्त राज्य अमेरिकाबीच जारी तनाव र जवाफी सैन्य कारबाहीका बीच इरानले मध्यस्थकर्ताहरूबाट वार्ताका लागि विभिन्न प्रश्तावहरू प्राप्त भएको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा कुटनीतिक माध्यमहरू अझै सक्रिय रहेको जानकारी दिएका हुन् । अमेरिका र इरानबीचको वार्तालाई पुनः शुरु गर्न र १० दिने युद्धविरामका लागि कतारले नयाँ प्रश्ताव राखेको भन्ने समाचारका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता बाघेईले प्रश्तावहरू प्राप्त भएको पुष्टि गर्नुभयो । यद्यपि, उहाँले ती प्रश्तावहरूको विस्तृत विवरण भने सार्वजनिक गरेनन् । बाघेईले सैन्य प्रतिकारका साथसाथै इरानको कुटनीतिक संयन्त्र पनि उत्तिकै सक्रिय रहेकोमा जोड दिनुभयो । सो क्रममा प्रवक्ता बाघेईले नागरिक पूर्वाधार, पुल तथा स्वास्थ्य केन्द्रहरूमा अमेरिकाले गरेको पछिल्लो आक्रमणको निन्दा गर्नुभयो ।
१३. मलेसियाको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि
मलेसियाको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा ५.८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो त्रैमासिकको ५.४ प्रतिशतको वृद्धिको तुलनामा यो दर उच्च हो । शुक्रवार सार्वजनिक गरिएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अग्रिम अनुमान अनुसार अधिकांश आर्थिक क्षेत्रहरूमा देखिएको सकारात्मक सुधारले यस वृद्धिलाई गति दिएको हो । मलेसियाको तथ्याङ्क विभागले जारी गरेको विज्ञप्तिअनुसार कृषि बाहेकका लगभग सबै प्रमुख आर्थिक क्षेत्रहरूमा वृद्धि देखिएको छ । सन् २०२६ को पहिलो ६ महिना (जनवरी–जुन) मा मलेसियाको अर्थतन्त्र ५.६ प्रतिशतले बढेको छ, जुन गत वर्षको सोही अवधिमा ४.५ प्रतिशत मात्र थियो ।
१४. मलेसियाको मुद्रास्फीति दोस्रो त्रैमासिकमा १.९ प्रतिशत पुग्यो
सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको मुद्रास्फीति दर १.९ प्रतिशत पुगेको छ । यातायात, बीमा र वित्तीय सेवाको लागतमा भएको वृद्धिका कारण अघिल्लो त्रैमासिकको १.६ प्रतिशतको तुलनामा मूल्यवृद्धिमा केही चाप देखिएको हो । मलेसियाली तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, यस अवधिमा बीमा तथा वित्तीय सेवाको मूल्यमा ५.२ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । त्यसैगरी, यातायात क्षेत्रमा ३.६ प्रतिशत, मदिराजन्य पदार्थ तथा सुर्तीजन्य वस्तुमा २.८ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा २.१ प्रतिशतले मूल्य वृद्धि भएको छ । अन्य क्षेत्रतर्फ आवास, पानी, बिजुली, ग्यास र अन्य इन्धनको मूल्य १.२ प्रतिशतले बढेको छ भने मनोरञ्जन, खेलकुद तथा संस्कृतिमा १ प्रतिशत र घरायसी सरसामान एवं मर्मतसम्भारमा ०.४ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि, केही क्षेत्रको सुस्त मूल्यवृद्धिले समग्र मुद्रास्फीतिलाई सन्तुलनमा राख्न सहयोग पु¥याएको छ ।
१५. आईएमईद्धारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण
साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जित्नुभएको छ । ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजना अन्तर्गत कालाखेतीले ईभी जित्नुभएको हो । आईएमईले मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ । यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जित्नुभएको छ भने १२ जनाले आइफोन १७ जित्नुभएको छ । विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
१६. प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताउनुभएको हो । उहाँले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गर्नुभयो । उहाँले काँग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सरकारको निरन्तरता कायम राख्नु रहेको स्पष्ट पार्नुभयो । उहाँले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने दाबी गर्नुभयो । वर्तमान सरकार टिक्न नसके एमाले सरकारबाट बाहिरिने र प्रतिपक्षको भुमिकामा रहने उहाँको भनाइ छ ।
१७. प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुुनुवाई हुने
प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । मंगलवार बसेको संसदीय सुनुवाई समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो । प्रश्तावित निर्वाचन आयुक्त द्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकोमा प्रमुख निर्वाचन आयुक्तका प्रश्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको हो ।
१८. मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह
प्रधानमन्त्री बालेन्द्र साहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताउनुभएको छ । मंगलवार तयारी पोशाक उद्योग संघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री साहले देश बनाउन मानिस नभई मान्छले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री साहले तयारी पोशाकको निर्यातमा विशेष जोड दिनुभएको अध्यक्ष पाण्डेले बताउनु भयो । प्रधानमन्त्री साहले सरकारले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको पनि बताउनु भयो । प्रधानमन्त्री साहले तयारी पोशाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा पछाडि पर्नुको कारणबारे पनि जिज्ञासा पनि राख्नुभएको थियो । अध्यक्ष पाण्डेकाअनुसार तयारी पोशाक उद्योगलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने विषयमा बुँदागत छलफल भएको छ ।
१९. रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले सम्पती छानबिन कानूनअनुसार सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले चयनात्मक रुपमा छानविन गर्न नहुने बताउनुभएको हो । उहाँले रास्वपाका नेता, पूर्वसैनिक र पूर्वन्यायधीश बाहेकको मात्रै सम्पती छानविन गर्न सरकारले आयोग बनाएको दाबी गर्नुभयो । सरकारले बनाएको छानविन आयोग असंवैधानिक रहेको उहाँको भनाई छ । राज्यका संवैधानिक तथा कानूनी निकायलाई प्रभावमुक्त बनाएर काम गर्न दिनुपर्नेमा उहाँले जोड दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती शुद्धीकरण विभाग, आन्तरिक राजश्व विभाग लगायतका राज्य संयन्त्रले कानूनबमोजिम सम्पत्ति छानबिन गर्र्ने उहाँको भनाई छ । भ्रष्टाचार वा गैरकानूनी कार्यमा संलग्न जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा आउनुपर्ने उल्लेख गर्दै उहाँले दोषी प्रमाणित हुने व्यक्तिलाई दल वा पदको आधारमा छुट दिन नहुने बताउनु भयो ।
२०. काँग्रेस नीतिगत रुपमा स्पष्ट पार्टी हो, तर समग्रतामा समयको नेतृत्व गर्न सकेनौँः आङ्देम्बे
नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रतामा समयको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले नीतिसँगै व्यवहारिक कार्यशैलीमा सुधार गर्न सकेमात्र बदलिँदो समयको नेतृत्व गर्नसक्ने कुराको प्रमाण आजको पार्टी भएको बताउनु भयो । उहाँले उहाँले मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुलको वर्तमान राजनीति अपेक्षाकृत ढंगले अघि बढ्न नसकेकोप्रति चिन्ता पनि व्यक्त गर्नुभयो ।
२१. जल संरक्षणका लागि जलस्रोतमाथि कानूनी नियमन आवश्यकः मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल संरक्षणका लागि जलस्रोतमाथि कानूनी नियमन गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा जलस्रोत विधेयक र नवीकरणीय उर्जा तथा उर्जा दक्षता विधेयकमाथि सात प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले बढ्दो प्रदुषणका कारण जलस्रोतहरु नष्ट हुँदै गएको भन्दै त्यसको नियमनसम्बन्धी व्यवस्था जलस्रोत विधेयकमा व्यवस्था गरिएको बताउनु भयो । उहाँले जल संरक्षणका लागि कानून निर्माण सँगसँगै समानान्तर रुपमा जनचेतना समेत अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उद्योग तथा स्थानीयले उत्पादन हुने सबै प्रकारको फोहोर नदीनालाहरुमा फाल्दा जल संरक्षण अझै चुनौतीपूर्ण बनेको बताउनु भयो । उहाँले मधेस प्रदेशको शीरसिया नदी प्रदुषित हुँदा स्थानीयले पालेका गाईवस्तु मर्ने तथा कृषि उत्पादनमा समेत नकारात्मक असर परिरहेको उल्लेख गर्नुभयो ।
२२. बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलपिुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाको रुपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताउनु भयो । उहाँले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझैपनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
२३. बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली काँग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरो’ र ‘काला’ दिन भएको टिप्पणी गर्नुभएको छ । मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताउनु भयो । उहाँले राजनीतिक दलका नेताहरुले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाउनु भयो । उहाँले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आईपुगेको पनि बताउनु भयो ।
२४. राजनीतिमा बढ्दो विकृतिका कारण उत्पन्न नागरिक असन्तुष्टिलाई सम्बोधन गर्न नसके विस्फोट हुनसक्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीतिमा बढ्दो विकृति र त्यसबाट उत्पन्न नागरिक असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके त्यसले विस्फोटको रूप लिनसक्ने चेतावनी दिनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक प्रणालीप्रति बढ्दो जनअसन्तुष्टिलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताउनु भयो । राजनीतिमा देखिएको विकृतिका कारण नागरिकमा बढ्दो निराशा चिर्न नेपाली काँग्रेस स्वयं अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । सभापति थापाले गुरु घिमिरेका लेख र पुस्तकहरूले नागरिकको वास्तविक भावना र काँग्रेसमा तत्कालीन समयमा उठेको पार्टी रूपान्तरणको आवश्यकता उल्लेख गरिउको बताउनु भयो ।
२५. ३ प्रतिशत ‘शिक्षा सेवा शुल्क’ फिर्ता लिने सरकारको निर्णय निजी शैक्षिक क्षेत्रद्वारा स्वागत
सरकारले चालु आर्थिक वर्षको विनियोजन ऐनमार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको ३ प्रतिशत ‘शिक्षा सेवा शुल्क’ (समता शुल्क) कार्यान्वयन नगर्ने निर्णय गरेको छ । सरकारले उक्त शुल्क फिर्ता लिने सैद्धान्तिक सहमति गरेसँगै निजी शैक्षिक क्षेत्रले यसको स्वागत गरेको हो । शिक्षा मन्त्रालयमा मंगलवार शिक्षामन्त्री, मन्त्रालयका पदाधिकारी र निजी शैक्षिक संस्थाका प्रतिनिधिहरूबीच भएको विशेष छलफलमा उक्त कर खारेज गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको हो । शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाकाअनुसार सरकारले सो शुल्कलाई कार्यान्वयनमा नलैजाने सैद्धान्तिक धारणा बनाइसकेको र अब यसलाई कानुनसम्मत ढङ्गले संशोधनको प्रक्रियामा लगिनेछ ।
२६. साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्नसक्छः गुरु घिमिरे
नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्नसक्ने बताउनुभएको छ । मंगलवार राजधानी काठमाडौंमा आफ्ना पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले साहित्यको गहिरो बुझाइ भएको व्यक्तिले मात्र राजनीतिक रुपमा उचाई प्राप्त गर्नसक्ने बताउनु भयो । उहाँले वीपी कोईरालाको राजनीति र साहित्य दुवै क्षेत्रमा समान उचाइ रहेको रहेको पनि बताउनु भयो । उहाँले कोइरालालाई राजनीतिबाट अलग गरिए नेपालको राजनीतिक इतिहास र साहित्यबाट अलग गरिए नेपालको साहित्य आका नै अधुरो हुने बताउनु भयो । महामन्त्री घिमिरेले नेपाली समाजले खुलेर अभिव्यक्त गर्न कठिन ठानेका विषयलाई साहित्यमार्फत उजागर गरेको तथा पलायनवादी चिन्तनलाई नेपाली साहित्यमा प्रयोग गर्ने पहिलो साहित्यकारका रूपमा कोइरालाको योगदानलाई स्मरण गर्नुभयो ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij