२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महतविरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मुद्दा हाललाई स्थगित ९मुलतबी० राख्न नमिल्ने आदेश दिएको हो ।
महतको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै मुद्दा मुलतबीमा राख्न माग गरिएको थियो । तर अदालतले उनी अदालतमा उपस्थित भएका बेला स्वास्थ्य अवस्थासमेत हेरेर कानुनबमोजिम आवश्यक आदेश गर्न सकिने भन्दै निवेदन अस्वीकार गरेको जनाएको छ ।
विशेष अदालतको आदेशमा भनिएको छ, “प्रतिवादी रामशरण महत अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्थासमेतलाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने हुँदा हाल मुलतबी राख्न मिलेन ।”
यसअघि विशेष अदालतले महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालसँग स्वास्थ्य परीक्षण प्रतिवेदन माग गरेको थियो । अब मुद्दाको प्रक्रिया कानुनी व्यवस्थाअनुसार अघि बढ्ने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij