२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनुवारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेख घर भएका रमेश बुढा रहेका छन्। काठमाडौंका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार अनुसन्धानका क्रममा बुढाको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
कैलालीको धनगढी घर भई काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी २५ वर्षीया सुनुवार असार ३ गते गेस्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा उनको शव कोठाको पलङभित्र लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ३२ गते बसपार्क क्षेत्रबाट निशालाई गेस्ट हाउसमा लगेर हत्या गरिएको खुलेको छ। आरोपी बुढाले आफ्नै कम्मरमा लगाएको पेटी प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुढा पोखराबाट दैलेख जाने क्रममा असार ३१ गते नयाँ बसपार्क पुगेका थिए। त्यही क्रममा उनी र निशाबीच भेट भएको र त्यसपछि दुवै जना गेस्ट हाउस पुगेका थिए।
प्रहरीका अनुसार, आरोपी रमेश बुढाले अनुसन्धानका क्रममा निशाले आफू बाथरुममा गएको बेला झोलामा रहेको १ लाख रुपैयाँ लिएर गएको आरोप लगाएका छन्। उक्त घटनापछि उनीहरूबीच विवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार, रकम हराएपछि आरोपी रमेश बुढाले आफ्ना साथी दानबहादुर शाहीलाई फोन गरेका थिए। शाही नयाँ बसपार्कस्थित एक होटलको ४०४ नम्बर कोठामा बसेका थिए। त्यसपछि दुवै जना भेटेर खानपिन गरेका थिए। प्रहरीले दिएको जानकारीअनुसार, त्यसपछि बुढा निशालाई खोज्दै बालाजु, माछापोखरी र नयाँ बसपार्क आसपासका क्षेत्रमा पुगेका थिए।
प्रहरीका अनुसार, असार ३२ गते निशा पुनः बसपार्क क्षेत्रमा भेटिएकी थिइन्। बुढाले मास्क लगाएका कारण निशाले उनलाई पहिचान गर्न नसकेको र पुरानै शैलीमा होटल जाने प्रस्ताव राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि निशालाई लिएर बुढा साथीले बुक गरेको होटलको ४०४ नम्बर कोठामा पुगेका थिए। प्रहरीका अनुसार, कोठामा पुगेपछि बुढाले रकम चोरीको विषय उठाएपछि विवाद भएको थियो।
प्रहरी अनुसन्धानअनुसार, विवाद बढ्दै गएपछि बुढाले निशालाई नियन्त्रणमा लिई कम्मरमा लगाएको पेटी प्रयोग गरी घाँटी कसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या भएपछि शव लुकाएर आरोपी त्यही कोठामा बसेको र पछि त्यहाँबाट बाहिरिएको प्रहरी अनुसन्धानले देखाएको छ। केही दिनपछि कोठाबाट दुर्गन्ध आएपछि गेस्ट हाउसका कर्मचारीले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। तर हालसम्मको अनुसन्धानमा मुख्य घटनामा रमेश बुढाकै संलग्नता देखिएको एसएसपी घिमिरेले बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij