२०८३ आश्विन १ गते बिहिवार
१. सूर्यविनायक–धुलिखेल सडक विस्तारः एकातिर कालोपत्रेको चमक, अर्कोतिर लेदो र हिलोको सास्ती
कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन १६ किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ । एकातिर सडक खण्डमा अत्याधुनिक पेभर मेसिनद्वारा तिब्र गतिमा उच्च गुणस्तरको पिच (कालोपत्रे) भइरहेको सुखद् क्षण देखिन्छ भने, अर्कोतिर ढल निर्माणमा भएको ढिलाइ र अव्यवस्थित डाइभर्सनका कारण सामान्य वर्षामा पनि यात्रुहरूले कष्टकर, हिलाम्मे र जोखिमपूर्ण यात्रा गर्नुपरेको तीतो यथार्थ छ । आयोजनाको केही खण्डमा सडक चौडा पार्न खनिएको ठाउँमा उचित ढल निकासको व्यवस्था नहुँदा सामान्य वर्षामा पनि सडक लेदो माटो र हिलोको हिलो नहर जस्तै बनेको छ । तस्बिरमा स्पष्ट देखिन्छ कि पानी ट्यांकर, बस र विशेषगरी दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) लेदोयुक्त सडकमा सन्तुलन गुमाउँदै जोखिमपूर्ण तवरले अघि बढ्न बाध्य छन् । कतिपय खण्डमा जमेको हिलो पानीको गहिराइ थाहा नहुँदा दुर्घटनाको त्रास उत्तिकै छ ।
२. साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम
सौन्दर्य, आस्था र भक्तिको त्रिवेणी मानिने हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको आज पहिलो सोमवार हो । आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा जल अर्पण गर्ने र शिवको आराधना गर्ने श्रद्धालुहरूको अभूतपूर्व घुइँचो लागेको छ । विशेष गरी महिलाहरू हरियो तथा रातो पहिरन, पहेँलो–हरियो चुरा र हत्केलामा आकर्षक मिहेन्दी लगाएर श्रद्धापूर्वक शिव मन्दिर पुगेका छन् । हिन्दु धर्मशास्त्रअनुसार साउन महिना महादेव शिवको अति नै प्रिय महिना मानिन्छ । यस महिनाको प्रत्येक सोमवार व्रत बसी शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि छाउने धार्मिक विश्वास छ । आज बिहानदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएका छन् । भक्तजनहरू लाइनमा बसेर जल चढाउने पालो पर्खिरहेका छन् । वागमती नदीको पवित्र जल र गंगाजल लिएर ‘बोलबम’ को नारा लगाउँदै भक्तजनहरू पशुपतिनाथ भित्र प्रवेश गरेका छन् । यस वर्ष साउन महिनामा ४ वटा सोमवार परेका छन् ।
३. साउन महिनाको पहिलो सोमवारः देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउन महिनाको पहिलो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमवार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । साउन महिना र सोमवारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ । यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान शिवको पूजा–आराधना गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ ।
४. वीपी स्मृति दिवसमा काँग्रेसले जलवायु जनचेतना अभियान सञ्चालन गर्नेः ‘ग्रिन रन’ देखि नवीन अभियानको घोषणासम्म
नेपाली काँग्रेसले वीपी कोईरालाको ४२ औँ स्मृति दिवसमा साउन ६ र ७ गते देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । यस वर्षको स्मृति दिवसलाई मुख्य रूपमा जलवायु परिवर्तन र वातावरणीय जनचेतनासँग जोडेर ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ मनाउन लागिएको हो । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाले प्रधानमन्त्री रहँदा वनको राष्ट्रियकरण गर्ने ऐतिहासिक निर्णय गरेको र पार्टीको चुनाव चिह्न ‘रुख’ छनोट गर्नुले उहाँको वातावरणीय दूरदर्शिता झल्काउने बताउनु भयो । सोही विरासतलाई आत्मसात गर्दै विश्वव्यापी जलवायु संकटको समयमा हिमाल र पृथ्वीको रक्षाका लागि यो अभियान शुरु गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
५. प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको हो । शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिनुभयो । कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु नहुने काँग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने जिकिर गर्नुभयो ।
६. पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ठूला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ । काँकडभिट्टादेखि लौहीपुरसम्मको ९५ किलोमिटर सडक खण्डमा निर्माण भइरहेका ६ वटा ठूला पुलमध्ये ५ सय ८५ मिटर लामो रतुवा पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको हो । कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ ले डिजाइन गरेको यो पुल आधुनिक ‘आर्च स्टिल ट्रस’ प्रविधिमा आधारित छ । पुलको कुल चौडाइ १६.५ मिटर रहने काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले बताउनु भयो । जसमा डबल लेनसहित सर्भिस लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन ८७ देखि ९० मिटरसम्मका लामा स्पानहरू राखिएका जानकारी दिनुभयो । उहाँकाअनुसार यसमा प्रयोग गरिएको ४१० र ४२० ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो ।
७. नेपालको कृषि–खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरु
‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना शुरु भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरु गरिएको नेपालका लागि चिनियाँ राजदुत चाङ माओमिङले बताउनु भयो । राजदुत माओमिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकाय अन्तर्गतको ‘ग्लोवल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोअपरेसन फण्ड’ मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछन् । राजदुत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्नुभयो ।
८. १५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारीः उपसभापति शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको जानकारी दिनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पार्नुभएको हो । उपसभापति शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनु भयो । १५ औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको उहाँको भनाइ छ ।
९.अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले चुम्यो विश्वकपको उपाधि
आईतवार राति सम्पन्न विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले विश्वविजेताको उपाधि हासिल गरेको छ । अतिरिक्त समयमा भएको निर्णायक गोलसँगै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेसले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । प्रतिष्पर्धाको क्रममा अर्जेन्टिना १० खेलाडीमा सिमित हुन पुगेको थियो । यो जितसँगै स्पेनले सन् २०१० पछि पहिलो पटक र समग्रमा दोस्रो पटक विश्वकपको उपाधि उचालेको छ । ऐतिहासिक सफलताको खुशीयालीमा स्पेनभरका समर्थकहरूले भव्य उत्सव मनाइरहेका छन् ।
१०. इण्डोनेसियामा डुङ्गा दुर्घटनाः चार दिनपछि पाँच जनाको जीवितै उद्धार
इण्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तमा ‘केएम नुरुल साल्सा’ नामक डुङ्गा दुर्घटना भई बेपत्ता भएका पाँच जनालाई चार दिनपछि जीवितै फेला पारिएको छ । देशको खोज तथा उद्धार एजेन्सीले आईतवार जानकारी दिएअनुसार ती व्यक्तिहरूलाई माटाल्लाङ टापु नजिकै एउटा माछा मार्ने डुङ्गाले फेला पारेको थियो । समुन्द्रको बीचमा माछा आकर्षित गर्न प्रयोग गरिने विशेष यन्त्रको सहारामा उनीहरू चार दिनसम्म तैरिन सफल भएको अधिकारीहरूले बताएका छन् । मकासर खोज तथा उद्धार कार्यालयका प्रमुख मुहम्मद आरिफ अनवरले जीवितै उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण र थप उपचार भइरहेको जानकारी दिएका छन् । उक्त दुर्घटनामा अझै २० जना बेपत्ता रहेका छन् ।
११. इराकमा इरानी ड्रोनको अवशेष निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु
उत्तर इराकमा खसालिएको एक इरानी ‘वन–वे’ अट्याक ड्रोनको विस्फोट नभएको गोलाबारुदलाई नियन्त्रित रूपमा निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आईतवार विज्ञप्ति जारी गर्दै शनिबार भएको यस घटनाको पुष्टि गरेको हो । सेन्टकमकाअनुसार सोही अभियानका क्रममा अर्का एक सैनिक सामान्य घाइते भएका छन् । उनको हाल स्वास्थ्योपचार भइरहेको जनाइएको छ । यसैबीच, जोर्डनमा शुक्रवार भएको इरानी आक्रमणपछि बेपत्ता भएका एक सैनिकको खोजीका क्रममा अमेरिकी सैन्य टोलीले आइतबार अज्ञात मानव अवशेष फेला पारेको छ । उक्त आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको र एकजना बेपत्ता भएको जानकारी सेन्टकमले शनिबार नै सार्वजनिक गरेको थियो ।
१२. इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार अमेरिकी सेनाले आईतवार साँझ इरानमाथि लगातार नवौँ रात पनि हवाई आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सेन्ट्रल कमाण्डले पछिल्लो चरणको आक्रमण आईतवार स्थानीय समय अनुसार साँझ ७ बजे शुरु भएको जनाएको छ । ‘हर्मोज जलसन्धि भएर आवतजावत गर्ने व्यावसायिक जहाज र सर्वसाधारण नाविकहरूमाथि आक्रमण गर्न प्रयोग गरिने इरानी सैन्य क्षमतालाई क्षयीकरण गर्न यी आक्रमणहरू जारी रहनेछन् ।’ कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दीको पालना सुनिश्चित गराउने क्रममा अमेरिकी सेनाले आइतबारसम्म छ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराउनुका साथै अर्को एक जहाजलाई नियन्त्रणमा लिएर निष्क्रिय पारेको समेत कमाण्डले जानकारी दिएको छ ।
१३. दक्षिण कोरियाको बुसानमा युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु
दक्षिण कोरियाको बुसान शहरमा आईतवारदेखि युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु भएको छ । नयाँ विश्व सम्पदाहरूको मनोनयन तथा सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षणका विषयमा छलफल गर्न आयोजित यस सत्रमा विश्वभरका करिव ३ हजार प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले विश्व सम्पदा विगतको विरासत मात्र नभई वर्तमानका लागि प्रेरणाको जीवन्त स्रोत भएको बताउनु भयो । यस सत्रलाई एकताको महत्त्वपूर्ण क्षणका रूपमा चित्रण गर्दै उहाँले साझा चुनौतीहरूको सामना गर्न र मानवताको साझा सम्पदाको रक्षाका लागि सदस्य राष्ट्रहरूलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभयो ।
१४. भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते
भारतको पश्चिमी राज्य गुजरातको एक अवैध पटाका कारखानामा शनिबार भएको भीषण विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । स्थानीय प्रहरीकाअनुसार अहमदाबाद सहरमा सञ्चालित उक्त कारखानामा अचानक भएको विस्फोटपछि भीषण आगलागी भएको थियो । प्रहरीले उक्त पटाका निर्माण इकाई अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ । विस्फोटको समयमा कारखानामा करिब १५ जना कामदार कार्यरत थिए । घटनामा घाइते भएका १० जनालाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थालाई दृष्टिगत गर्दै मृतकको संख्या बढ्नसक्ने चिकित्सकहरूले आशंका गरेका छन् ।
१५. भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण
भारतको आन्ध्र प्रदेशस्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट देशकै पहिलो निजी क्षेत्रद्वारा विकसित अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण गरिएको छ । ‘विक्रम १’ एक बहु–चरण प्रक्षेपण वाहन हो, जसले ३५० किलोग्रामसम्मको तौललाई पृथ्वीको तल्लो कक्षमा स्थापित गर्ने क्षमता राख्दछ । प्रक्षेपणका क्रममा यसका सबै चरणहरूले तोकिए बमोजिम नै कार्य सम्पादन गरेको र रकेटका विभिन्न भागहरू छुट्टिने प्रक्रिया अत्यन्त सटिक र व्यवस्थित रहेको जानकारी दिइएको छ । यस प्रक्षेपण वाहनको विकास निजी कम्पनी ‘स्कायरुट एयरोस्पेस’का वैज्ञानिकहरूको टोलीले स्वदेशी प्रविधिमा आधारित रही गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले वैज्ञानिक टोलीलाई बधाई दिँदै यस अभियानले भारतको निजी अन्तरिक्ष क्षेत्रका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको उल्लेख गरेको छ ।
१६. मध्यपूर्वमा अमेरिकी सेनाद्वारा इरान लक्षित थप आक्रमण, ५० हजारभन्दा बढी सैनिक उच्च सतर्कतामा
अमेरिकी सैन्य बलले मध्यपूर्वमा इरान लक्षित थप हवाई आक्रमणहरू सम्पन्न गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले दिएको जानकारीअनुसार यस क्षेत्रमा तैनाथ ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरूलाई उच्च सतर्कतामा राखिएको छ । सेन्ट्रल कमाण्डका अनुसार गत जुलाई १७ मा जोर्डनमा अमेरिकी सेवाका सदस्यहरूमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) संवद्ध लक्ष्यहरूमाथि पछिल्लो सैन्य कारबाही गरिएको हो । मध्यपूर्वभरि ५० हजारभन्दा बढी अमेरिकी सैन्य जनशक्ति परिचालित छन् । ‘उनीहरू अत्यन्त शतर्क, केन्द्रित र जुनसुकै परिस्थिति सामना गर्न पूर्ण रूपमा तयार रहेका छन् ।’ सेन्टकमले आफ्नो आधिकारिक विज्ञप्तिमा उल्लेख गरेको छ ।
१७. युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका
अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएयता शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठको प्रयोग गरी निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ । गाजा सिटीमा स्थापना गरिएको ‘फ्रेन्ड्स अफ प्यालेस्टाइन’ विद्यालयले पुनः प्रयोग गरिएका काठका सामग्रीबाट कक्षाकोठा र डेस्क–बेन्च निर्माण गरी विद्यार्थीहरूलाई औपचारिक सिकाइ वातावरणमा फर्काएको हो । गाजामा जारी युद्धका कारण अधिकांश विद्यालय भवनहरू ध्वस्त भएका छन् वा विस्थापित परिवारका लागि आश्रयस्थलमा परिणत भएका छन् । यस्तो अवस्थामा कतिपय स्थानमा पालभित्र अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिए पनि त्यहाँ डेस्क, बेन्च र आवश्यक शैक्षिक सामग्रीको अभाव रहँदै आएको थियो । हाल यो नयाँ विद्यालयमा करिव ८५० जना विद्यार्थीहरू अध्ययनरत छन् ।
१८. जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकः मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो । यि लक्ष्य हासिल गर्न चीन सरकार, सिडका, एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृङ्खला विकास गर्ने बताउनु भयो ।
१९. पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री बालेन्द्र साहले लगानीकर्ताको जायज मागहरु सम्बोधन गरी पुँजीबजार सुधार गर्ने आश्वासन दिनुभएको छ । सोमवार पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री साहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको हो । सरकारले पुँजीबजार सुधारका लागि उठाइएका जायज माग कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री साहसँगको भेटपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रधानमन्त्री साहसँग बजारलाई सन्तुलित बनाउन संस्थागत लगानीकर्ताको भुमिका विस्तार, कर प्रणालीमा सुधार, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियामकीय व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन)लाई छिटो पुँजीबजारमा प्रवेश गराउने व्यवस्था तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको थियो ।
२०. केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार
काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको विनाचिरफार सफल उपचार गरेको छ । खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी’मार्फत सफल उपचार भएको यो घटना नेपालकै पहिलो भएको कलेजले जनाएको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा भएर काठमाडौं मेडिकल कलेज पुग्नुभएको थियो । खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्याबाट पीडित राम्जालीको केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको जनाएको छ ।
२१. चुरे संरक्षणको लागि बजेट अभाव, सरकारी उद्योगहरूको अवस्था दयनीयः सांसदहरू
राष्ट्रिय सभा सदस्यहरूले चुरे संरक्षणका लागि पर्याप्त मात्रामा बजेट विनियोजन नगरिएको तथा उद्योग सञ्चालनबारे सरकारले सार्वजनिक गरेका दाबीहरु यथार्थसँग मेल खाएको नदेखिएको बताएका छन् । सोमवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले चुरे संरक्षणको लागि बजेट अभाव रहेको बताएका हुन् । समितिले मधेस तथा वागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योग, कारखाना तथा राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुमन गरेको थियो । अनुगमनको समिक्षा छलफलमा सहभागि नेकपा (एमाले)का सांसद सोमनाथ पोर्तेलले चुरे क्षेत्रमा संरक्षणका आवश्क बजेट विनियोजन नभएको देखिएको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij