२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा फेला परेकी छन्। कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई काठमाडौंको माछापोखरीमा बस्दै आएकी सुनुवारको शव आइतबार गेस्टहाउसको कोठाभित्र पलङमुनि लुकाइएको अवस्थामा भेटिएको हो।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार घटनामा हत्या भएको प्रारम्भिक आशङ्का गरिएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको कारण थप स्पष्ट हुने प्रहरीले जनाएको छ।
गेस्टहाउसका कर्मचारीले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा कोठा एक युवकको नाममा बुक भएको र मृतक असार २८ देखि त्यहाँ आउजाउ गर्दै आएको खुलेको छ। उनको शरीरमा ठूलो चोट नदेखिए पनि टाउकोको पछाडिको भागमा सामान्य चोट रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले चार पुरुष र एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij