२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गत आर्थिक वर्षमा सर्वोच्च अदालतका न्यायाधीशहरूले गरेको मुद्दा फर्स्यौटको विवरण सार्वजनिक भएको छ।
सर्वोच्च अदालतले तयार गरेको न्याय निरुपणसम्बन्धी तथ्यांकअनुसार पूर्व प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अन्य न्यायाधीशहरूको तुलनामा दैनिक औसतमा सबैभन्दा कम मुद्दा फर्स्यौट गरेका छन्।
तथ्यांकअनुसार राउतले प्रतिदिन औसत ३.५३ मुद्दा फैसला गरेका छन् भने प्रधानन्यायाधीश शर्मा ५.७९ मुद्दासहित दोस्रो कम अनुपातमा मुद्दा टुंग्याउने न्यायाधीश बनेका छन्।
सर्वोच्च अदालतले न्यायाधीशहरूले वर्षभरि काम गरेको दिन र उनीहरूले फैसला गरेका कुल मुद्दाको संख्यालाई आधार मानेर दैनिक औसत मुद्दा फर्स्यौटको अनुपात सार्वजनिक गरेको हो। यही आधारमा तयार गरिएको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्ष सर्वोच्चका २० न्यायाधीशले मुद्दा, रिट तथा विभिन्न निवेदन गरी करिब २४ हजार ५ सय मुद्दा टुंग्याएको उल्लेख छ।
दैनिक औसतका आधारमा भने अवकाशप्राप्त न्यायाधीश डा. कुमार चुडाल सबैभन्दा बढी मुद्दा फर्स्यौट गर्ने न्यायाधीश बनेका छन्। उनले प्रतिदिन औसत ९.५० मुद्दा फैसला गरेका छन्। त्यसपछि न्यायाधीश टेकप्रसाद ढुंगाना ९.४४ मुद्दासहित दोस्रो स्थानमा छन्। कुल संख्याका आधारमा भने ढुंगानाले सबैभन्दा धेरै १,९३६ मुद्दा फैसला गरेका छन्।
त्यसैगरी न्यायाधीश श्रीकान्त पौडेलले दैनिक औसत ८.४५ मुद्दा फैसला गरेका छन् भने तिलप्रसाद श्रेष्ठले ८.०४ मुद्दा टुंग्याएका छन्। हरि फूयाल, सपना प्रधान मल्ल, कुमार रेग्मी, महेश शर्मा पौडेल, शान्तिसिंह थापा र अब्दुल अजीज मुसलमान पनि औसतभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीशको सूचीमा छन्।
सार्वजनिक विवरणअनुसार २० न्यायाधीशको दैनिक औसत मुद्दा फर्स्यौट दर ७.३७ रहेको छ। तीमध्ये ९ जना न्यायाधीशले मात्र औसतभन्दा बढी मुद्दा टुंग्याएका छन्।
उल्लेखनीय रूपमा, संवैधानिक परिषद्ले डा। मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा उनले सबैभन्दा बढी मुद्दा फैसला गरेको दाबी गरेको थियो। तर सर्वोच्च अदालतको पछिल्लो वार्षिक विवरणले दैनिक औसतका आधारमा उनी दोस्रो कम मुद्दा फर्स्यौट गर्ने न्यायाधीश रहेको देखाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij