२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालमा बाल यौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स अमेरिकी संघीय अदालतबाट पनि सोही कसुरमा दोषी ठहर भएका छन्।
अमेरिकी न्याय विभागले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार कुम्ब्सलाई नेपालमा बालबालिकामाथि गरेको यौन शोषणसम्बन्धी अभियोगमा अमेरिकी अदालतले दोषी ठहर गरेको हो। नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएपछि उनलाई सन् २०२५ को सेप्टेम्बरमा अमेरिकी कानुन प्रवर्तन निकायले पक्राउ गरेको थियो। हाल उनी हिरासतमा छन् भने आगामी अक्टोबर २८ मा अदालतले सजाय निर्धारण गर्ने जनाइएको छ।
नेपालमा बाल यौन शोषणमा संलग्न संगठित गिरोहमाथिको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७३ भदौ २४ गते काठमाडौंको ठमेलस्थित एक होटलबाट कुम्ब्सलाई पक्राउ गरेको थियो। उनीसँगै सहयोगीको आरोपमा स्वयम्भूका बुद्ध पुतवार पनि पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले २०७४ वैशाख १० गते कुम्ब्सलाई ९ वर्ष र पुतवारलाई ४ वर्ष कैद सजाय सुनाएको थियो।
अमेरिकी न्याय विभागका अनुसार कुम्ब्सले सन् २०१६ मा नेपालमा बसाइका क्रममा कम्तीमा आठ जना बालकमाथि यौन दुर्व्यवहार गरेका थिए। उनले बालबालिकालाई पैसाको प्रलोभन देखाउने, बल प्रयोग गर्ने तथा नशालु पदार्थ सेवन गराएर यौन शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनका इलेक्ट्रोनिक उपकरणबाट पीडित बालबालिकाका तस्वीरसमेत बरामद भएको जनाइएको छ।
यस घटनाको अनुसन्धानमा अमेरिकी न्याय विभागसँगै नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय तथा गैरसरकारी संस्था ‘नयाँ पाइला’ले समेत सहकार्य गरेको अमेरिकी न्याय विभागले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij