२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नक्शालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार तथा पुनस्स्थापना गरिएको छ। बाल मन्दिर नक्शालमा रहेका बालबालिका जोखिममा रहेको सूचनाका आधारमा गत साउन २ गते अनुगमन गरी उनीहरूको उद्धार गरिएको हो।
महिला, बालबालिका, लिङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ र बाल हेल्पलाइन १०९८ को टोलीले उद्धार गरेको हो। उद्धार टोलीमा काठमाडौँ महानगरपालिका १ नम्बर वडा समिति सदस्य, महानगर बाल उद्धार कार्यदल संयोजक, काठमाडौँ महानगर बाल अधिकार समिति सदस्य र प्रहरी वृत्त मालिगाउँका प्रतिनिधिको समेत सहभागिता थियो।
अनुगमनका क्रममा सङ्गठनका पदाधिकारी तथा कर्मचारीहरूसँग बालबालिकाको अवस्थाबारे छलफल गरिएको थियो। बाल मन्दिरको भवनमा आश्रित १०८ जना बालबालिकामध्ये बाल मन्दिर परिसरमा ढल पसेर भवनमा पानी जमेको पाइएको थियो। स्वास्थ्य तथा संरक्षणका दृष्टिले उच्च जोखिममा देखिएका १५ दिनदेखि २ वर्षसम्मका १२ बालक र ८ बालिका गरी कुल २० जना बालबालिकालाई तत्काल उद्धार गरी अस्थायी संरक्षणको प्रबन्ध गरिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij