२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग आफ्ना कुरा राख्ने वातावरण मिलाइदिन गृह मन्त्रालयसँग आग्रह गरेकी छन्।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना गुनासा र माग सरकारसमक्ष प्रत्यक्ष राख्न पाउने अधिकार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक समन्वय गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिइन्।
बिनु यादव र ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत शनिबार गृहमन्त्रीसँग भेट्न सिंहदरबार पुगेका थिए। भेट हुन नसकेपछि उनीहरूले सिंहदरबारको मूल गेटमा धर्ना दिएका थिए। त्यसक्रममा प्रहरीले उनीहरूलाई हटाएको घटनाप्रति पनि समितिले चासो व्यक्त गरेको छ।
बैठकमा सभापति बास्कोटाले नागरिकता सम्बन्धी समस्या, उप्साहकोट पहिरोबाट विस्थापितहरूको अवस्था तथा अन्य सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गरिने बताइन्।
त्यसैगरी, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, स्वास्थ्य, शिक्षा र पोषणको अवस्थाप्रति गम्भीर ध्यान दिन सरकारलाई निर्देशन दिँदै उनले कैदीबन्दीसरहको सामान्य खाना मात्र उपलब्ध गराउनु उपयुक्त नहुने धारणा राखिन्। उमेर र शारीरिक–मानसिक विकासअनुकूल पोषणयुक्त आहारको व्यवस्था गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।
रुपन्देहीलगायत क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको व्यवस्थापन सुधार गर्न सम्बन्धित मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि उनले जोड दिइन्।
सभापति बास्कोटाले नागरिकता, पहिरोपीडितको व्यवस्थापन, सप्तरी कारागारको स्थानान्तरण तथा अन्य सार्वजनिक सरोकारका विषयमा समितिले सम्बन्धित मन्त्रालयसँग आवश्यक समन्वय गर्ने जानकारी दिइन्।
यस्तै, कलाकार दुर्गेश थापा र प्रियंका कार्कीसँग सम्बन्धित ‘मास्टर्नी’ गीतको विवादमा सम्बन्धित पक्षले क्षमायाचना गरिसकेको र भिडियो पनि आधिकारिक च्यानलबाट हटाइसकिएकाले त्यस विषयमा थप प्रक्रिया आवश्यक नरहेको उनको भनाइ थियो।
बैठकले बाल सुधार गृहसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने तथा त्यसका आधारमा सरकारलाई आवश्यक निर्देशन दिने निर्णय पनि गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij